काठमाडौ । प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले वर्तमान परिस्थितिबाट विकसित हुन सक्ने सुरक्षा चुनौती बारे सूक्ष्म अनुगमन र मूल्याङ्कन गरिरहेको बताउनु भएको छ । नेपाली सैनिक वार कलेज, नगरकोटमा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले संविधानप्रदत्त जिम्मेवारी वहन गर्नका लागि आवश्यक समन्वय र तयारी गर्न समेत निर्देशन दिनुभयो ।
प्रधान सेनापति थापाले संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदैव तयार रहेको भन्दै प्रधानसेनापति थापाले राष्ट्रिय सुरक्षा नीतिबाट र यसबाट विकसित हुने राष्ट्रिय प्रतिरक्षा नीति र राष्ट्रिय सैनिक रणनीति नेपाली सेनाको लागि महत्वपूर्ण हुने बताउनु भयो । प्रधान सेनापति थापाले नेपाली सेनालाई पद्धति र प्रणालिमा आधारित संस्थाको रुपमा विकसित गर्दै लैजानका लागि विगतका उपलब्धिहरुलाई संस्थागत गर्ने तथा वर्तमान र भावी चुनौतीहरुलाई सम्बोधन गर्नका लागि सबैजना इमान्दार र सिर्जनात्मक हुनु पर्ने पनि बताउनु भयो ।
श्री थापाले सोही अवसरमा नेपाली सेनाले अघी सारेको ३ं१ अपरेशनल कमाण्ड अवधारणाको आवश्यकता र उपादेयता एवं नेपालको सन्दर्भमा यसको महत्वको बारेमा समेत प्रस्ट पार्नु भएकाे थियाे । सोही आधारमा संगठनको पूनर्संरचना समेत गरी सफल कार्यान्वयन गर्नु पर्ने आवश्यकता औंल्याउनु भयो । वर्तमान परिस्थितिबाट विकसित हुन सक्ने सुरक्षा चुनौती बारे सूक्ष्म अनुगमन र मूल्याङ्कन गर्दै संविधानप्रदत्त जिम्मेवारी वहन गर्नका लागि आवश्यक समन्वय र तयारी गर्न समेत निर्देशन दिनुभयो ।
नेपाली सेनाका अनुसार, कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले उक्त तालिमको प्रथम प्रवचन गर्नु भएको थियो । नेपाली सेनामा संचालन हुनै सबैभन्दा उच्च स्तरको उक्त तालिम नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा वि.सं. २०७१ बाट शुरु भएको हो । नेपाली सेनाका महासेनानी दर्जाका अधिकृतहरु मात्र समावेश गरी संचालन गरिने उक्त तालिममा ३० जना महासेनानीहरुको सहभागिता रहेको थियो ।
महिला सैनिक अधिकृत ५ जना सहित हालसम्म जम्मा २०८ जनाले उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।यस तालिममा महासेनानी नारायण बहादुर थापा समग्र तालिममा प्रथम हुनु भएको छ भने महासेनानी प्रकाश बहादुर चन्द शोधपत्र तर्फ प्रथम हुनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।











