पुसको पहिलो हप्ता प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदको बैठक बोलाउनुभयो । उहाँले आह्वान गरेको बैठकमा परिषदका एकजना सदस्य सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित हुनुभएन । सभामुखको अनुपस्थितिले त्यस बैठकमा एउटा अनौठो दृश्य देखापर्यो– प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित हुने तर सभामुख नआउने । त्यसपछि आम मानिसका मनमा एउटा प्रश्न उब्जियो– अब के हुन्छ ?
किनभने परिषदको निर्णय सर्वसम्मतिले हुने प्रावधान छ । यसअघि त प्रधानमन्त्रीले बोलाएको त्यस बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुँदा त्यो स्वाभाविकै मानिएको थियो किनभने प्रमुख विपक्षी दलले यस्तैमा हो आफ्ना एजेण्डा माथि पार्ने, आफ्ना मानिसलाई पनि केही, कुनै स्थानमा नियुक्ति दिलाउने । तर यो पछिल्लो बैठकको दृश्यक भने अस्वाभाविक देखिएको हो । प्रधानमन्त्रीले आह्वान गरेको बैठकका एकजना सदस्य आफ्नै दलबाट निर्वाचित सभामुख नै बैठकमा नआएपछि अब के हुन्छ भन्ने प्रश्न स्वाभाविक नै थियो । त्यसपछि प्रधानमन्त्रीले अध्यादेश ल्याउनुभयो ।
यो पनि अनौठो किन देखियो भने आफ्नै दलको असहयोगबाट बच्नका लागि प्रधानमन्त्रीले अध्यादेश ल्याउनुभयो र त्यो पनि देशमा संसद बैठक आह्वान गरिसक्नुपर्ने अवस्था थियो, विपक्षी मात्र होइन आफ्नै दलले सरकारले संसद अधिवेशन किन आह्वान नगरेको भनेर प्रश्न आइरहेकै थियो । त्यस्तो बेलामा प्रधानमन्त्रीले अध्यादेश नै जारी गर्नुभयो र संवैधानिक परिषदमा नियुक्ति पनि गर्नुभयो । त्यसपछि पनि प्रश्न स्वाभाविकै थियो– अब के हुन्छ ?
यो प्रश्न किन पनि स्वाभाविक थियो भने एकातर्फ प्रधानमन्त्रीलाई आफ्नै दलले बैठकमै नआएर यसरी असहयोग गर्ने हो भने अब सरकार कसरी अघि बढ्न सक्ला भन्ने थियो । फेरि अर्काे कुरा प्रधानमन्त्रीलाई आफ्नै मानिसलाई संवैधानिक निकायहरुमा नियुक्ति गर्नु थियो, अध्यादेश ल्याउनुभयो, गर्नुभयो । संविधान अनुसार नै पुसको १७ गते संसद अधिवेशन अनिवार्य रुपमा आह्वान गर्नैपर्ने वाध्यता थियो । अनि संविधान अनुसार नै अध्यादेश जारी गरेको छ महिनाभित्र बसेको संसद बैठकले त्यो अध्यादेशलाई अनुमोदन गर्नुपर्दथ्यो । त्यसैले आफ्नै दलको सहमति बेगर नै ल्याएको अध्यादेश पारित भएन भने त्यस अध्यादेशबमोजिम नियुक्त भएका मानिसहरुको भविष्य के होला ? यो अर्काे प्रश्न थियो नागरिकको र त्यो पनि जायज नै थियो ।
उता प्रधानमन्त्रीलाई आफ्ना मानिसहरु र त्यसमा पनि विशेष गरी अख्तियारको प्रमुखमा प्रेम राइलाई नै गर्नुपरेको थियो र गर्नुभयो । अनि त्यसलाई आफ्नै दलले अस्वीकार गरिदिँदा उनीहरुको भविश्य के होला भन्ने प्रश्न त थियो नै । त्यसो त त्यो प्रश्न अहिले पनि निरुपण भएको छैन । किनभने संसदीय सुनुवाई गर्नुपर्ने संवैधानिक नियुक्तिको प्रावधान छ तर मुलुकमा संसद छैन । त्यसैले ती नियुक्तिको अवस्थाको बारेमा अदालतमा नै प्रश्न उठेको छ, र प्रश्न सोध्ने क्रम जारी नै छ ।
यी त भए माथिका सामान्य प्रश्नहरु जुन सत्ता सञ्चालनका क्रममा बेला बखत उठी नै रहेका हुन्छन् । तर यहाँनेर यो राजनीतिक पृष्ठभूमिमै अर्काे एक गम्भीर प्रकृतिको प्रश्न त त्यतिबेला उठ्यो जतिबेला प्रधानमन्त्री संसद विघटनकै सिन्मा देखा पर्नुभयो । जब प्रधानमन्त्रीले संसद विघटनको सिफारिश गर्नुभयो अनि राष्ट्रले प्रश्न गर्यो अब के हुन्छ ? के राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिश सदर गर्नुहोला ? के नेकपाले निर्वाचित गरेको राष्ट्रपतिले उहाँलाई निर्वाचित गरेको पार्टीको करिब दुई तिहाई निकट सदस्य रहेको संसदलाई भंग गर्नुहोला ?
उहाँले नागरिकलाई धेरै कौतुहलतमा राख्नुभएन, छिट्टै निकास दिनुभयो । प्रधानमन्त्रीको सिफारिश केही घन्टामै सदर गरिदिनुभयो र विघटनकै पक्षमा टाँचा लगाइदिनुभयो । त्यसपछि मानिसमा झन् ठूलो प्रश्न जन्मायो । यति स्थिर प्रकृतिको सरकार र संसद रहेकै बखत किन राष्ट्रपति समेत यो अस्थिरताको हदमा ओर्लिन सम्भव भयो ? उहाँ विना कुनै सल्लाह या सुझाव (राजनीतिक दलहरु या सर्वाेच्च अदालत) यतिचाँडै यति गम्भीर अस्थिर मुद्धामा अघि बढ्नुभयो । अर्थात् के नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीचको झगडाले मात्र यति विघ्न राजनीतिक दुर्घट्नाको चक्र सरेको हो त ? अर्थात् यसभित्र के कति प्रकार र प्रकृतिका राजनीतिक दुर्घटनाहरु लुकेका छन् ? नेपालको राजनीतिमा अब के हुन्छ ? यो प्रश्न अघिल्ला आन्तरिक मामिलाका प्रश्नहरु भन्दा अझ बढी चर्काे र टड्कारो थियो । जसले अहिले पनि निकास पाएको छैन ।
त्यसपछिको अर्काे प्रश्न जन्मियो अब नेकपामा के हुन्छ ? के तीन वर्षअघि मिलेको यो पार्टी फुट्छ ? अर्थात् दुई अध्यक्षको झगडाले मुलुकलाई यो दुर्गतीमा पुराएपछि अब पनि के नेकपा एउटै पार्टीमा रहन सम्भव छ ? अब पार्टी कसरी अघि बढ्छ ? यी यावत प्रश्नहरु नेपाली नागरिकका सामु जन्मिए । ती प्रश्नहरु त कताकति अहिले पनि अनुत्तरित नै छन् जस्तो छ । किनभने अहिले पनि नेकपा औपचारिक रुपमा दुई भएको छैन । एकले अर्काेलाई पार्टीबाट निष्कासन गरेका मात्र हुन् ।
हो, यी बग्रेल्ती प्रश्नहरुका पृष्ठभूमिमै अहिले देशमा मुख्य चार वटा प्रश्न राष्ट्रसामु तेर्सिएका छन् । पहिलो प्रश्न हो– संसद विघटनको मुद्धा सदर हुन्छ कि बदर अर्थात् प्रतिनिधि सभा पुनस्र्थापना हुन्छ कि हुदैन ? यो प्रश्नको निरुपणमा मुलुकको सर्वाेच्च अदालतमा अहिले तात्तातो बहस जारी रहेकाले हामीले पनि यहाँ अहिले केही भन्न सकिएन । नेकपाका दुई खेमाका नेताहरुले ठूल्ठूला सभाहरु आयोजना गर्ने र एकले संसद पुनस्र्थापना हुन्छ भन्ने अनि अर्काथरिले यो सम्भव छैन भनेर वक्तृत्वकला गरिरहेका छन्, त्यसतर्फ हामी अहिले प्रवेश गर्न चाहन्नौँ ।
दोस्रो प्रश्न छ– संसद पुनस्र्थापना भए के हुन्छ ? काँग्रेस कि कसको नेतृत्वमा सरकार बन्छ ? काँग्रेसको नेतृत्वमा भयो भने नेकपाको कुन खेमा सरकारमा जान्छ ? यी प्रश्नहरु स्वाभाविक छन् । तर प्रधानमन्त्री ओलीले यदि आफूलाई प्रधानमन्त्रीबाट निकाल्ने हो भने कम्तीमा माधव नेपाल र प्रचण्डलाई चाहिँ त्यो कुर्सीमा बस्न नमिल्नेगरी भाँचेर छोड्छु भनेको कुरा बाहिर आएकोले उहाँको बलबुता चाहिँ शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउनेमै होला भन्ने लाग्दछ ।
तेस्रो प्रश्न छ– संसद पुनस्थापना नभएमा के चुनाव हुन्छ ? आम नागरिकमा देखिएको यो अर्काे तर बडो ठूलो कौतुहलता हो । ओली पक्षीय नेकपा र सरकारका मान्छेले यो निर्वाचन आगामी वैशाखमै हुन्छ भन्दैछन् । तर उनीहरुको यो तर्क सुन्न नसक्ने अर्काथरि भन्छन् कुन वैशाखमा ? आगामी वैशाख की अर्काे वर्षको ? यदि चुनाव नै भयो भने पनि समीकरण कस्तो हुन्छ ? नेकपा आगामी निर्वाचनमा के चुनावी एकतामा जाला ? या ओली पक्ष अरु कोहीसँग मिलेर जाला ? अथवा काँग्रेस एक्लै निर्वाचनमा जान्छ कि नेकपाको कुनै एउटा हाँगोसँग ? यी प्रश्नहरु त छँदैछन् नै ।
त्यसपछिको चौथो र बढी चासोको प्रश्न पनि छ– नेकपाको मान्यता र सूर्य चिन्ह निर्वाचन आयोगले कसलाई देला ? निर्वाचन आयोगमा अहिले एकथरि नेकपाका नेताहरु बासै बसेका छन् आधिकारिक नेकपाका लागि । तर यो प्रश्नको निरुपण अहिले नै हुने देखिँदैन यदि यही वैशाखमा निर्वाचन भएन भने । यसरी नेपालको राजनीति व्यवस्थाभन्दा व्यक्ति केन्द्रित भएर छिनछिनमा परिवर्तन भई अघि बढ्ने गरेकाले नागरिकका मनमा यस्ता बग्रेल्ती प्रश्नहरु उठाइरहने गरेको छ । उनीहरुलाई सदैव यो प्रश्नले सताइ नै रहने गरेको छ कि अब के हुन्छ ? अब देश कसरी अघि बढ्छ ?











