• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ★   महिला ट्राफिक प्रहरीहरुलाई महिनावारीका ४ दिन सडकमा डिउटी नपर्ने ★   विपक्षी दलको बैठक जारी ★   गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो: प्रधानमन्त्री ★   खैरालामा स्वास्थ्यचौकी भवन निर्माण ★   गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: अध्यक्ष ओली ★   बजेटअघि कांग्रेससहितका विपक्षी दलहरुको बैठक बस्दै ★   जनताको अपेक्षा र आकाङ्क्षाभन्दा पर पुगेर गरिने शासनले गणतन्त्र बलियो हुँदैन ★   पशुपतिमा साउनभर कोटिहोम महायज्ञ, विभिन्न उपसमिति गठन ★   सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने तयारी

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी



मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् ।

दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताउनुभयो ।

“कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेमा जानकारी दिनुभयो, त्यसपछि गाडी निर्माण गर्न सकिन्छ भन्ने लाग्यो । अनि दुवै जना मिलेर गाडी बनाएका हौँ”, अर्का विद्यार्थी अधिकारीले भन्नुभयो, “हामीले कवाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरेर गाडी निर्माण गरेका हौँ ।”

केही किनेर र केही स्थानीयरुपमा प्राप्त सामग्री प्रयोग गरेर गाडी तयार गरिएको हो । गाडीको क्षमता चालकसहित तीन जना अट्ने रहेको छ । दुई सय ५० वाटको दुई मोटर र १२ भोल्टको दुई ब्याट्री जडान गरिएको सो गाडीलाई एक पटक चार्ज गरेपछि तेर्सो बाटोमा दुई घण्टासम्म गुडाउन सकिन्छ । जति बढी भोल्टको ब्याट्री जडान गर्‍यो त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीको भनाइ छ ।

सहयोग प्राप्त भए अहिलेको भन्दा अत्याधुनिक विद्युतीय गाडी निर्माण गर्न सकिने उहाँहरु बताउनुहुन्छ । बसौला र अधिकारीले विद्युतीय गाडी निर्माण गर्ने क्रममा भएको खर्च त्रिपुरासुन्दरी गाउँपालिकाले बेहोर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको कामले प्रभावित भएको बताउनुभयो । ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’को बजेटबाट गाउँपालिकाको जुनसुकै विद्यालयका विद्यार्थीको क्षमता वृद्धि गर्न आवश्यक सहयोग गर्ने उहाँको भनाइ छ ।

गाउँपालिका र विद्यालयले गाडी बनाउने दुवै विद्यार्थीलाई सम्मान गरेको छ । अध्यक्ष उप्रेतीले उहाँहरुलाई नगदसहित सम्मान गर्नुभएको हो । गाडी प्रदर्शन कार्यक्रममा पुग्नुभएका जनप्रतिनिधि, अभिभावक र शिक्षकलाई बसौला र अधिकारीले कारमा चढाएर घुमाउनुभएको थियो । गाडी बनाउनुभन्दा पहिला उहाँहरुले वर्षा र बाढी आएको थाहा पाउन सकिने विद्यतीय रोबोट निर्माण गरी प्रदर्शन गरेको विद्यालयका विज्ञान शिक्षक भुवन उप्रेतीले जानकारी दिनुभयो । रासस