• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन ★   शान्ति कोष स्थापना गर्न रु एक अर्ब ★   किर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिलाई तिब्रता दिइने ★   सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय ★   सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने ★   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ-पूर्णपाठ सहित ★   आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता ★   भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड ★   सहकारीको सञ्चालकको सम्पती बेचेर भएपनि ५ लाख रुपैयाँ सम्मको वचत फिर्ता गर्ने सरकारको घोषणा

सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै



तनहुँ । तनहुँको भीमाद नगरपालिका–७ र ९ को सिमानामा रहेको सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न पूर्वाधार निर्माण गर्न थालिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त गुफाको विकास गर्न नगरपालिकाले भौतिक संरचना निर्माण कार्य अघि बढाएको हो ।

गुफाभित्र चुन पग्लेर बनेका विभिन्न आकृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्रचारप्रसारको अभावमा सिद्धगुफा ओझेलमा परेको छ । उक्त गुफाको विकास गर्न भीमाद नगरपालिकाले रु तीन करोड विनियोजन गरी विभिन्न संरचना निर्माणको काम गरिरहेको छ । सिद्धगुफामा प्रवेशद्धार, गुफासम्म जाने मार्गमा कालोपत्र, टिकट काट्ने घर, व्यवस्थित शौचालयलगायतका संरचना निर्माण भइरहेका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो ।

कोभिड–१९ अघि आन्तरिक पर्यटक चहलपहल बढेको थियो । पछिल्लो समय भने सो सङ्ख्या घटेको नगरप्रमुख सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो– “अहिले गुफा परिसरमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन् ।” पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो पहलकदमी गर्दैआएको प्रमुख सुवेदी बताउनुहुन्छ ।

बिदाका दिनमा गुफाको अवलोकन गर्न दैनिक दुई सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन् । गुफाभित्र तीन तलासम्म हिँड्डुल गर्न मिल्छ । गुफाको प्रत्येक तलामा आकर्षक चित्रहरु रहेका छन् । गुफाभित्र प्राकृतिक रुपमा बनेका विभिन्न आकृति देख्न सकिन्छ ।

गुफा नजिकै चमेरो गुफा पनि छ । चमेरो गुफा करिब तीन किलोमिटर लामो छ । चमेरो गुफाभित्र पातालगङ्गा रहेको छ । पाल्पा, स्याङ्जा, नवलपरासी र तनहुँ जिल्लाको व्यापारिक केन्द्र भिमाद बजारदेखि चार किलोमिटर पश्चिममा सिद्धगुफा पर्दछ । पृथ्वी राजमार्गको खैरेनीटारबाट सात किलोमिटर दक्षिणमा रहेको भिमाद बजारको पश्चिमतर्फ बगेको जिदीखोलामा पुगेपछि मिर्दी–भिमाद मोटरमार्ग र सिद्ध गुफा मोटरमार्ग छुट्टिन्छ । जिदीखोलाको किनार हँुदै पश्चिम दिशातर्फ गएपछि भिमाद–९ धन्दुर मरुवा चौतारी पुगिन्छ । यहीँबाट सिद्धगुफा क्षेत्र आरम्भ हुन्छ । सिद्ध गुफाको चारैतिर वनजङ्गल क्षेत्र छ । यहाँको मनोरम दृश्यले जो कोही पर्यटक पनि लोभिन्छन् । रासस