• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   सुरक्षित मातृत्व सेवा सरकारले थप व्यवस्थित बनाउन जरुरी:सभापति डा.राणा ★   पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का ★   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण ★   क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर ★   डोजर लगाएपछि बागलुङका ताल सुक्दै ★   संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं: सभामुख घिमिरे ★   व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित ★   कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित ★   धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल ४५ मिनेटको लागि बन्द ★   कार्यदल बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ: महेश बर्तौला

जुम्लामा स्याउ फुल्न थालेपछि बगैँचा सेताम्मे



जुम्ला । यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् ।

तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले स्याउ बगैँचा फूलेर सेताम्मे भएपछि आकर्षक देखिएको बताउनुभयो । स्याउका बोटमा राम्रोसँग फूल लागेपछि उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

जिल्लैभरका स्याउका बगैँचा सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको छ । चैत–वैशाख स्याउका बोटमा फुल लाग्ने याम हो । यो स्याउ भदौसम्म पाकिसक्छ ।

तिला–१ स्थित रारामा रहेको पातिहल्ला स्याउ बगैँचा समूहका सचिव गोरीकला बुढाले बगैँचालाई आवश्यक मलको उचित प्रयोगदेखि सिँचाइ व्यवस्थापनमा किसान लागेको बताउनुभयो । सामूहिकरूपमा स्याउ बगैँचा गर्दा सम्बन्धित निकायबाट अनुदान लिन सहज भएको उहाँको भनाइ छ ।

पातिहल्ला स्याउ बगैँचामा करिब चार हजार स्याउका बिरुवा छन् । अहिलेसम्म दुई हजार बिरुवाले फल दिन थालिसकेका छन् भने एक वर्षभित्र सबै बिरुवाले फल दिने समूहका सचिव रावतको भनाइ छ । जुम्लाका विभिन्न पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ ।

माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायतका काममा किसानलाई चटारो छ । स्याउका बिरुवा फुलेपछि बगैँचामा अधिकांश किसान सिँचाइ व्यवस्थापनमा लागेका छन् । स्याउ फुलेकाले यसवर्ष लटरम्म फल्ने आशा जुम्ली किसानको छ ।

जिल्लाका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउखेतीमा संलग्न छन् । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको बताउनुभयो । रासस