८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई



अ+ अ-

नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रथम अध्यक्ष मनमोहन अधिकारीको २५औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित स्मृति सभा, ‘मनमोहन अधिकारी जीवनगाथा’ पुस्तक विमोचन तथा ‘ज्येष्ठ नागरिक देश दर्शन २०८१’को शुभारम्भ कार्यक्रममा सहभागी भएर श्रद्धेय नेताप्रति सम्मान प्रकट गर्ने र तपाईँहरूसँग साक्षात्कार गर्ने अवसर प्रदान गर्नु भएकोमा म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु । यस अवसरमा, म अग्रज वामपन्थी नेता मनमोहन अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा मनमोहन अधिकारी समकालिन नेपाली राजनीतिमा एक निष्कलंक, सरल एवं निष्ठावान राजनेता एवं सिङ्गो नेपाली समाजकै एक सम्मानित नेताका रूपमा स्थापित हुनुभएको छ ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुनुभन्दा अघि नै कम्युनिस्ट पार्टीको सदस्य भइसक्नुभएका मनमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो । सन् १९४२ मा वनारसमा अध्ययनरत छँदै भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भएर आफ्नो राजनीतिक जीवन सुरु गर्नुभएका मनमोहन अधिकारी नेपाल फर्कनु भएपछि २००३ सालमा भएको विराटनगरको मजदुर आन्दोलनको नेतृत्व गर्दै नेपाली राजनीतिमा क्रियाशील हुनु भएको थियो । जहानीया राणाशासन तथा तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा सहभागी हुने सिलसिलामा उहाँले पटक पटक गरी झण्डै १४ वर्ष लामो जेलजीवन विताउनु भएको थियो ।

उहाँले लामो र कठोर सङ्घर्षको घडीमा मात्र जनताको पक्षमा आवाज उठाउने र लड्ने काम गर्नुभएन, बरु मुलुककै प्रधानमन्त्रीको रूपमा उच्च पदमा आसीन हुँदासमेत गाउँको विकास, असहाय, उपेक्षित र ज्येष्ठ नागरिकको सम्मान गर्न तथा मुलुकको अन्तर्राष्ट्रिय छवि उज्यालो बनाउन नेकपा ९एमाले०को नौ महिने सरकारको कुशलतापूर्वक नेतृत्व गर्नुभएको थियो ।

दिवंगत नेता मनमोहन अधिकारीसँग मेरो व्यक्तिगत रूपमा चिनजान म विराटनगरमा छँदा नै भएको थियो । २०४६ सालको जनआन्दोलन सुरु हुनुभन्दा अघि वामपन्थी एकता निर्माण गर्ने सिलसिलामा तत्कालिन नेकपा (मार्क्सवादी) का नेता मनमोहन अधिकारी तथा तत्कालिन नेकपा ९माले०का नेताहरू मदन भण्डारी र सीपी मैनालीको बिचमा भेटघाट गराउँने जिम्मेवारी पार्टीले मलाई दिएको थियो । सोही क्रममा मैले पटक पटक उहाँहरूको बिचमा भेटघाट एवं छलफलका लागि व्यवस्थापन गर्ने मौका पाएको थिएँ ।

यसैगरी, जनआन्दोलनको सफलतापछि २०४७ सालतिर विराटनगरबाट काठमाडौँ आउने क्रममा मनमोहन अधिकारी, भरतमोहन अधिकारी, मदन भण्डारी र म सँगसँगै एउटै बसमा यात्रा गरेको सम्झना समेत यतिखेर मेरो स्मृतिपटलमा आइरहेको छ । मनमोहन अधिकारीसँग भएका यी सुरुआती भेटघाट र चिनजानदेखि नै म उहाँको सरलता, भद्रता र उच्च कम्युनिष्ट आदर्शयुक्त व्यक्तित्वबाट प्रभावित भएको थिएँ ।

२०४६ साल माघ २ गते जनआन्दोलनका लागि संयुक्त वाममोर्चाको गठन भएपछि तत्कालिन नेकपा ९मार्क्सवादी० र नेकपा ९माले०को बिचमा निकटता बढ्दै गएपछि २०४७ पुस २२ गते पार्टी एकीकरण भएर बनेको नेकपा (एमाले) को अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी बन्नुभयो । २०४९ सालमा सम्पन्न नेकपा ९एमाले०को पाँचौँ महाधिवेशनले पनि उहाँहरूको सोही अनुसारको पदीय जिम्मेवारीलाई निरन्तरता दियो । तर २०५० साल जेठ ३ गते भएको रहस्यमय जीप दुर्घटनामा परी जननेता मदन भण्डारीको दु;खद् निधन भएपश्चात् खाली हुन गएको काठमाडौँ क्षेत्र नं. १ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि भएको उप–निर्वाचनमा पार्टीले मलाई उम्मेदवार बनाएको थियो ।

तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले २०५१ सालमा संसद विघटन गरी गराउनु भएको मध्यावधि निर्वाचनमा कुनै दलले पनि बहुमत प्राप्त गर्न सकेन । त्यसैले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा नेकपा (एमाले) को ऐतिहासिक ‘नौ महिने’ कम्युनिष्ट सरकार बनेको थियो । यसरी बन्न पुगेको मनमोहन अधिकारीको नेतृत्वको सरकारले अघि सारेका ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ र ‘ज्येष्ठ नागरिकका लागि वृद्ध भत्ता’ जस्ता लोकप्रिय कार्यक्रमहरू मार्फत कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्छ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल भएको थियो ।

प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट सुरु गरेको वृद्धभत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमको रूपमा रहेको छ । यस कदमले ज्येष्ठ नागरिकहरूप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मान बढाउन ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पुर्‍याएको छ । ज्येष्ठ नागरिकहरूको सम्मानमा थालनी गरिएको यस कार्यलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकहरूका अधिकारलाई मौलिक अधिकारका रूपमा संस्थागत गर्ने काम गरेको छ । जसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देशभरिका ज्येष्ठ नागरिकहरूले आफ्नो सच्चा मित्र र असल नेताका रूपमा सम्झन्छन् र सम्मान गर्छन् ।

यसै सन्दर्भमा, मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष ज्येष्ठ नागरिकहरूका लागि देश–दर्शन कार्यक्रमको आयोजना गर्दै आएको कुरा प्रशंसनीय रहेको छ । यस वर्षको ज्येष्ठ नागरिक देश दर्शनमा सहभागी हुनुहुने ज्येष्ठ नागरिकहरूलाई म बधाई दिदै उहाँहरूको देश दर्शन यात्रा सुखद् र फलदायी रहोस् भनी कामना गर्दछु ।

यसरी, मनमोहन अधिकारीको सिंगो जीवन नयाँ पुस्ताका लागि अनिवार्य रूपमा पढ्नै पर्ने खुल्ला किताब जस्तै छ । आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन । मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरूमा रहेको उन्नत स्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुल्ला वातावरण पाएका छौँ, स्वतन्त्रता पाएका छौँ । इतिहासका धरोहर मनमोहन अधिकारी हाम्रा लागि सधैँ प्रात:स्मरणीय हुनुहुन्छ र रहिरहनुहुनेछ ।

अन्तमा, आज विमोचित मनमोहन स्मृति प्रतिष्ठानले प्रकाशित गरेको पुस्तक ‘मनमोहन अधिकारीको जीवनगाथा’ बाट नेपालको बाम–लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याउनु भएको योगदान र उहाँको सरल र सादगीपूर्ण तर सङ्घर्षमय जीवनवारे नयाँ पुस्तालाई जानकारी मिल्नेछ भन्ने मैले विश्वास लिएको छु । साथै, यस पुस्तकका लेखकद्वय डा. वेदुराम भुसाल र डा.जगतप्रसाद उपाध्यायलाई समेत म बधाई तथा धन्यवाद दिदै प्रकाशन सफलताको कामना गर्दछु ।

पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित मनमोहन अधिकारीको २५ औं स्मृति सभामा गर्नुभएको सम्बोधन