• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु

दूधको भुक्तानी नपाएपछि चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन



फाईल फोटो

नारायणगढ । सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठिन भएको बताएका छन् ।

गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु ८२ करोड भुक्तानी नपाउँदा गाईभँैसी पाल्न कठिन भएको किसानले बताएका हुन् । भरतपुर महानगरपालिका–१३ चम्फानगरका होमनाथ सुवेदी दूध बेचेको पैसा भुक्तानी नपाएपछि गाईभैँसीलाई के खुवाउने भन्ने समस्या उत्पन्न भएको बताउनुहुन्छ । स्थानीय उज्जवल दुग्ध उत्पादक संस्थाका अध्यक्षसमेत रहनुभएका सुवेदीले आफूमात्र नभई संस्थामा आबद्ध सबैजसो किसान समस्यामा परेको बताउनुभयो ।

“विगत छ महिनादेखि यहाँका विभिन्न डेरीले करोडौँ रकम भुक्तानी नगर्दा किसानलाई दाना (चोक्कर) समेत दिन सकेका छैनौ । त्यसैले हामी निकै समस्यामा छौँ”, सुवेदीले रासससँग भन्नुभयो ।

उहाँका अनुसार सो संस्थाले स्थानीय सुजल डेरीसँग रु ९५ लाख र अन्य संस्थाहरूसँग गरी रु एक करोड ५० हजारभन्दा बढी रकम भुक्तानी लिन बाँकी छ । ती संस्थाले नियमित दूध लिइरहे पनि पैसा दिन आनाकानी गरिरहेका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले चितवन दूधमा आत्मनिर्भर भए पनि दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसान निराश भएका बताउनुभयो । अहिले जिल्लामा रहेका दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान ९डिडिसी० र सुजल डेरीलगायत संस्थासँग रु ८२ करोडभन्दा बढी रकम भुक्तानी लिन बाँकी रहेको र अन्तिम पटक चैत २१ गतेसम्म भुक्तानी दिने गरी भएको सहमतिसमेत कार्यान्वयन नहुँदा गाईभैँसीपालक किसान पेसाबाट पलायन हुने अवस्था आएको उहाँको भनाइ छ ।

“किसानले बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्था आइसकेको छ । अब चाँडै वक्यौता भुक्तानी नदिने हो भने धेरै किसान पेसाबाट नै पलायन हुने छन् । त्यसैले सहमति कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु”, बगालले भन्नुभयो ।

चितवनमा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ भने दैनिक एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ । अहिले दूध नउठ्ने समस्या हटे पनि भुक्तानी नपाउने समस्या बढ्दै गएकाले तत्काल समस्या समाधान गर्न सरकारले पहलकदमी लिनुपर्ने स्थानीय किसानको आग्रह छ ।