२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानार्थलाई डा.उपाधि ! राष्ट्रिय व्यक्तित्वको सम्मान कि अपमान ?



अ+ अ-

'मानार्थ पिएचडी र पिएचडी फरक हुन् । उहाँहरु दुवैजना नेपालका राष्ट्रिय विभूति सरह हुनुहुन्छ । उहाँहरुले आ–आफ्नो क्षेत्रमा दिनुभएको योगदान दर्जनौं पिएचडीधारी विद्वानहरुभन्दा कम छैन । उहाँहरुको नाममा टिकट प्रकाशन हुनु टिकटकै पनि सम्मान हो । तर, मानार्थ पिएचडीलाई नामको अगाडी डा. लेख्ने कुरा उहाँहरुमाथिको मजाक हो । लेख्नै परेमा “मानार्थ विद्यावारिधि फलानो विश्वविद्यालय” लेख्नुपर्छ । त्यो मानार्थपद सम्बन्धित विश्वविद्यालयका हकमा मात्रै हो । अरुका लागि होइन । फेरि मानार्थको अर्थ “सम्मान स्वरुप” भन्ने हो, साँच्चिकै त्यो योग्यता भन्ने होइन । उदाहरणका लागि नेपाली सेनाले भारतीय सेनाप्रमुखलाई मानार्थ सेनापतिको सम्मान दिने चलन छ । यसको अर्थ ऊ नै नेपालको सेनाप्रमुख भन्ने होइन । हुन त बहालवाला प्रधानमन्त्रीको संविधानसभा भएका बेला व्यवस्थापिका सांसद परिचयकोशमा भारतको कुनै शैक्षिक संस्थाले मानार्थ विद्यावारिधिलाई उहाँको शैक्षिक योग्यता पिएचडी भनी लेखिएको थियो । कतै विद्यमान मानार्थवालाहरुले भविष्यमा आफ्नो नाउँमा पनि डा. लेख्ने प्रपञ्चका खातिर यो षडयन्त्र गरेका त होइनन् ?' 
 
पत्रकारिता प्राध्यापनमा संलग्न तथा मिडियासम्बन्धी अध्येता भानुभक्त आचार्यले सामाजिक सञ्जालमा लेख्नुभएको छ । क्यानाडाको एक विश्वविद्यालयमा प्राध्यापनरत उहाँले दिएको यो अभिव्यक्ति स्पष्टै छ र त्यसअनुसार हेर्दा यसरी कुनै विश्वविद्यालयले दिएको मानार्थको उपाधिलाई आधार मानेर कुनै पनि व्यक्तिले त्यसको अगाडि डा.उपाधि लेख्न मिल्दैन । यहाँ त नेपाल सरकारले नै लेखिदियो । कतिपय यस्तै मानार्थ विद्यावारिधीको उपाधि पाएका व्यक्तिले पिएचडी गरे सरह नै नामको अघि आफै यस्तो उपाधि लेख्ने गरेकै छन् । 

राजनीतिक नियुक्तिमार्फत् पशुपतिनाथको कृपामा रहेकादेखि नेपालको व्यापारिक तथा च्याम्बरका क्षेत्रमा रहेका समेत कतिपय पदाधिकारी नै विना अध्ययन नामको अघि डा.पड्काउने गरेका छन् । राज्यले त्यसको अनुसन्धान गरेर कारबाही गर्नुको सट्टा बरु उनैलाई पदमा पुर्याएको छ । सायद सरकार नै यस्तो काममा भित्रभित्र लागेको भएर पो उनीहरु झन् सरकारी जिम्मेवारी पाउँदै गएका हुन् कि भन्ने आशंका त अहिले आएर पो भएको छ । 

दुई जना राष्ट्रिय व्यक्तित्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्ने निर्णयमा पनि आज राज्यले यही हर्कत देखायो । हुदै नभएको उपाधि आफैले थपिदिएर सरकारले ती व्यक्तित्वको सम्मान र स्वयं विश्वविद्यालयको मानमा समेत अपमान थपिदिएको भन्दै सरकारको आलोचना सुरु भएको छ ।

माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट जारी गर्ने निर्णय गर्यो । सरकारको यो निर्णय स्वागतयोग्य मात्र नभएर प्रशंसायोग्य पनि छ । उनीहरुको नामको अघि ‘डा. उपाधि थपेर निर्णय सार्वजनिक गरेको सरकारले त्यसो किन गर्यो होला भनेर अहिले नागरिकले गरेको प्रश्नको जवाफ दिन सक्ने अवस्थामा छैन । किनभने मन्त्रिपरिषदले त्यो गर्नै नमिल्ने काम गरेको छ । अहिलेका सामाजिक सञ्जालमा मानिसहरुका चासो र तर्कहरु देख्दा सो निर्णयले उनीहरुको सम्मानभन्दा पनि अपमान धेरै भएको जस्तो देखिएको छ । 

मानार्थ विद्यावारिधि कुनै पनि क्षेत्रमा विशेष योगदान दिएबापत दिइने उपाधि हो । यसमा उपाधि पाउने व्यक्तिको भन्दा पनि उपाधि दिने व्यक्तिको भूमिका धेरै हुन्छ । त्यसैले यस्तो उपाधिलाई आफ्नो नामको अघि जोडेर लेख्ने गरिँदैन, यस्तो अभ्यास संसारको कुनै पनि देशमा छैन । तर बुधबार सरकारका प्रवक्ता पार्वत गुरुङले उक्त निर्णय सार्वजनिक गरे लगत्तैबाट सरकारको आलोचना शुरु भएको थियो र त्यो अहिले पनि जारी छ । मानार्थ विद्यावारिधिलाई नै नामको अगाडि झुण्ड्याउनुले जोशी र घिमिरेको अपमान भएको देशका सारा प्रतिभा र विद्धानहरुले बताएका छन् । 

घिमिरे र जोशी दुवै जना मानार्थ विद्यावारिधि प्राप्त व्यक्ति हुन् । घिमिरेले नेपाली साहित्य लगायत समग्र क्षेत्रमा दिएको योगदानको मूल्याङ्कन गर्दै २०७२ सालमा त्रिभुवन विश्वविद्यालयले महाविद्यावारिधि उपाधिबाट विभूषित गरेको थियो भने २०६८ सालमा काठमाडौं विश्वविद्यालयले संस्कृतविद् तथा लेखक सत्यमोहन जोशीलाई सम्मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो । त्यस बाहेक उहाँहरुले अर्काे कुनै विद्यावारिधी उपाधि लिनुभएको छैन ।