नुवाकोट । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशहरण महतले कम्युनिष्टहरुले देश चलाउन सक्दैनन भन्ने कुरा काँग्रेसले उहिल्यै भनिसकेको भन्दै आज त्यो कुरा प्रमाणित नै भएको बताएका छन् ।
आज नुवाकोटको लिखु–६ छहरेमा नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागद्धारा आयोजित रक्तदान कार्यक्रमपछि सभालाई सम्बोधन गर्दै उनले भने– कम्युनिष्टहरुका हातबाट यो देश चल्दैन, उनीहरुबाट यो देशको विकास सम्भव पनि छैन भनेर काँग्रेसले उहिल्यै भनेको थियो, तर जनताले नपत्याएर उनीहरुलाई नै बहुमत दिए तर आज वास्तविकता सबैले स्पष्टै देख्न पाए ।
अहिले सत्ताका लागि सत्तारुढ कम्युनिष्ट पार्टीकै दुई पक्षको झगडामा यसरी देशलाई भड्खालोमा हालेको भन्दै सहमहामन्त्री डा.महतले भने –जनताले कम्युनिष्टहरुको चरित्र र मुहार राम्रोसँग चिन्न पाएका छन्, अहिले उनीहरु नै पछुताएका छन्, अब उनीहरुले कम्युनिष्टहरुलाई मत दिने गल्ती गर्नेछैनन् ।
डा.महतले काँग्रेस निर्वाचनको पक्षमै रहेको र अब आन्दोलनको माध्यमबाटै जनताको घरदैलोमा पुग्ने धारणा पनि राखे ।
काँग्रेसले वर्तमान कम्युनिष्टको सरकार भ्रष्टाचारमा लिप्त भयो जनताका आधारभूत आवश्यकताको पनि बेवास्ता गरेर नागरिक अधिकार खोस्न खोज्यो भनेर विरोध गर्दा काँग्रेसले हतार गर्यो भन्नेहरु अहिले बल्ल काँग्रेसले ठीक विश्लेषण गरेको रहेछ भन्ने गरेको प्रसंग उनले उल्लेख गरे ।
नुवाकोटमा आज आयोजना गरिएको सो कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।











