२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै



अ+ अ-

जनकपूर । मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ ।

वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन् । यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर आशिर्वाद लिने परम्परा छ । होली पर्वमा रङ/अबिर दलेर खेले जस्तै यस पर्वमा एकअर्कालाई हिलोपानी दलिन्छ । जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परा समेत छ । पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एकत्रित भएर एकअर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्दथे ।

अचेल यो परम्परा लोप हुँदै गइरहेको छ । मिथिलाञ्चलको जुडशीतललाई संरक्षण गर्ने उद्देश्यले विभिन्न संघसंस्थाको पहलमा जनकपुरधाममा मनाइँदै आएको छ । जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा ‘सेभ हिस्टोरिकल जनकपुरधाम’को अगुवाईमा केही वर्षयतादेखि जुडशीतल पर्वको आयोजना गर्ने गरिन्छ । शितलताको प्रतिकका रुपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको संस्कृतिलाई झल्काउने गरेको मधेस प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले बताउनु भयो । जुडशीतल पर्वमा एकाबिहानै बोटबिरुवामा पानी हाल्ने परम्परा पनि छ । यस हिसावले यो पर्वले प्रकृति संरक्षणको समेत सन्देश दिने गरेको उहाँको भनाई छ । यसका अतिरिक्त जुडशितल पर्व वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण छ । शरीरमा हिलो र पानी हाल्नाले स्वास्थ्य लाभ हुने र छालाका रोगहरू नलाग्ने विश्वास छ ।

गर्मीयाममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्युन हुने गरेको चर्मरोग विशेषज्ञ डा. प्रमोदकुमार झाले बताउनु भयो । यसअघि मिथिलाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा रहेको सतुवाईन पर्व मनाइएको छ । पर्वको अवसरमा घर–घरमा सातु खाने तथा दान गर्ने चलन रहेको छ । घरका देवीदेवतालाई प्रसादका रुपमा सातु अर्पण गर्ने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गर्दछन् । चनाको या घरमा नै चना, गहुँ, मकै तथा जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ ।