९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको निःशुल्क खोप लगाउन १० हजार खर्च !



अ+ अ-

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जामा १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी छन्त्यालले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप लगाउन पाउँदा निकै खुसी भइन् । 

घरघरमा पुगेर विभिन्न खोप अभियानमा निम्तापत्र दिई खोप केन्द्रसम्म बालबालिकालाई जम्मा गर्ने गरेकी छन्त्यालले पहिलो चरणको खोपसँगै कोरोनासम्बन्धी विभिन्न जानकारी लिएर गएको बताइन् । छन्त्यालसँगै सदरमुकाम बेनीबाट करिब २६ कोष टाढा रहेको गुर्जा गाउँबाट कहालीलाग्दो उकालो भिरालो पहाडमा सकसपूर्ण यात्रापछि बेनीसम्म आइपुगेकी सुकमाया छन्त्याल, उमादेवी छन्त्याल, मनकुमारी छन्त्याल र सपना विकले समेत खोपको महत्वबारे र थप जानकारी लिए ।  

कोभिसिल्ड पहिलो खोप बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले लगाएको समाचार सुनेपछि ढुक्क भएर आएको उनीहरूको भनाइ थियो । बिनापारिश्रमिक निःस्वार्थ भावले काम गर्ने गरेको अवस्थामा समुदायलाई कोरोनाको सन्देश र सावधानी अपनाउन घरघरमा धाइरहेको अवस्थामा खोप लगाएपछि थप सुरक्षित भएको एक दशकदेखि कार्यरत उमादेवीले बताइन् । ‘आउन–जान पाँच दिन लाग्छ, खर्च आफैं गरेर आएका छौं । यही मौकामा कोरोनाबाट जोगिन आवश्यक थप जानकारी लिएर जान्छौं,’ उनले भनिन् । 

उनले निःशुल्क खोपसँगै दुर्गम क्षेत्रबाट आउने स्वयंसेविकालाई स्थानीय तहले यातायात र खानबस्न सुविधा दिए सहज हुने बताइन् । ‘यातायात र खाना खर्चमै ७ हजारभन्दा धेरै खर्च भइसक्यो । तलब पाउनेले त सक्छन्, हामीलाई सरकारले पोसाक र केही सामान्य सुविधा मात्रै दिएको छ,’ उनले भनिन् । बजार झरेपछि पाइलैपिच्छे खर्च हुने भएकाले दोस्रो चरणको खोप गाउँमै दिनसमेत उनले माग गरिन् । कोरोनाको खोपले समुदायलाई थप सुरक्षित बनाउन सकिने भन्दै उनीहरूले खर्चको व्यवस्थापन भए राहत मिल्ने बताउँदै जिम्मेवारीअनुसारको मूल्यांकन गर्नसमेत सम्बन्धित निकायलाई अनुरोधसमेत गरेका थिए । नागरिक दैनिकमा हरिकृष्ण गौतमले लेखेका छन् ।