• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

गुरुङले मनाउने ट्होटेँ पर्व के हो ?



गण्डकी । यहाँका गुरुङहरुले आज हर्षबढाइँका साथ ट्होटेँ पर्व मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ (तमु) समुदायमा यो पर्व मनाइन्छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरुप ट्होटेँ पर्वको सुरुआत भएको तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङले बताउनुभयो ।

उहाँका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दु:ख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिइन्छ । “कबिला कालदेखि नै तमु (गुरुङ)का स-साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा छ”, अध्यक्ष गुरुङले भन्नुभयो । यो पर्व प्रकृति र संस्कृतिसँग जोडिएको उहाँको भनाइ छ । यस दिनमा गुरुङहरुले प्रकृति पूजा गर्ने चलन छ । मौलिक सांस्कृतिक पर्वका रुपमा उनीहरुले ट्होटेँलाई मनाउँदै आएका छन् ।

पूर्खाको इतिहाससँग जोडिएको ट्होटेँ पर्वलाई विसं २०५२ देखि व्यवस्थित रुपमा मनाउन थालिएको अध्यक्ष गुरुङले बताउनुभयो । तमुवान क्षेत्रका विभिन्न ठाउँबाट पोखरा झरेका गुरुङहरुले ट्होटेँलाई संरक्षण गरेका हुन् । कास्कीको पोखरासहित र आसपासका जिल्लाका गुरुङ बाहुल्य बस्तीमा यो पर्वलाई हर्षोलासका साथ मनाउने गरिएको अध्यक्ष गुरुङको । चैतमा उभौली र साउन उद्यौलीका रुपमा यो पर्वलाई मनाउने गरिन्छ ।

“तमु धिँ को आयोजनामा पोखरामा बहृत् साँस्कृतिक झाँकीसहित विविध कार्यक्रम गरेर यो पर्व मनाउँदै आएका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “यो पर्वले सामाजिक एकता र भातृत्वको सन्देश दिन्छ ।” ्होटेँ पर्वले तुम समुदायलाई आफ्नो इतिहासको पनि स्मरण गराउने गरेको उहाँको भनाइ छ । “ऐतिहासिक र सांस्कृतिक पक्षबाट हेर्दा यो पर्वको छुट्टै महत्व छ, यसमा गुरुङहरुको पहिचान झल्कन्छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “दैवी शक्ति र प्रकृति पूजक आदिवासीको सामाजिक एकतामा यस्ता पर्वले थप मद्दत पुर्‍याइरहेको छ ।”

विसं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा समुदाय जागरुक बनेको उहाँको भनाइ छ । ट्होटेँ पर्वका दिन गुरुङहरु आफ्ना परम्परागत बाजागाजासहित जातीय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् । ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रदर्शन गरिन्छ । यस पर्वमा गुरुङ जातीले प्रयोग गर्ने पुराना हातहतियार, पोसाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायतका सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका(३ घाचोकका चिजबहादुर गुरुङले पितापूर्खाका पालादेखि ट्होटेँ पर्व मनाउँदै आएको बताउनुभयो । “यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्ने चलन छ, यसो गर्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ”, उहाँले भन्नुभयो । गुरुङ समुदायको एकता र सांस्कृतिक पहिचान कायम राख्न पनि यो पर्वले सघाएको उहाँले बताउनुभयो ।

ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको गुरुङको भनाइ छ । “गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दु:ख नदेओस् भनेर ट्होटेँ पर्व मनाउन सुरु गरिएको गुरुङ समुदायको इतिहासमा उल्लेख छ”, उहाँले भन्नुभयो, “पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास छ ।”

यस्ता चाडपर्वले मौलिक संस्कृतिको संरक्षणमा टेवा पुग्ने गरेको डढुवा दुर्छा लमजुङ तमु समाज, पोखराका सचिव कृपाकुमार गुरुङले बताउनुभयो ।“ट्होटेँले सामाजिक एकताको सन्देश दिन्छ, आफ्नो समुदायका मानिसहरु भेला हुने, एकापासमा चिनजान गर्ने मौका पनि मिल्छ”, उहाँले भन्नुभयो, “यो पर्व गुरुङहरुको पहिचान, संस्कार र संस्कृतिसँग गाँसिएको छ ।” ट्होटेँ पर्वका अवसरमा कास्कीको मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको छ । रासस