२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले निम्ता मात्र गरेका हुन् कि आज केही घोषणा गर्दैछन् ?



अ+ अ-

प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाको आज राजधानी काठमाडौँमा आमसभा छ । प्रायः सत्तारुढ दलले अथवा आफै प्रधानमन्त्रीले आमसभा गरेर शक्ति प्रदर्शन गरिँदैन, तर त्यो अभ्यास नेपालमा अहिले शुरु भएको छ । 

बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा प्रधानमन्त्री जनअनुमोदित व्यक्ति हुन्छन् र उनको पार्टी भनेको जनताले अनुमोदन गरेको पार्टी मानिन्छ । जनताको मतले प्रधानमन्त्रीको पार्टीलाई मत दिएर देशको सबैभन्दा ठूलो पार्टी बनाएका हुन्छन् र त त्यही पार्टीको व्यक्ति प्रधानमन्त्री हुन्छ । 

त्यसैले प्रधानमन्त्रीको साथमा जनता छन्, जनताले उनको दललाई अनुमोदन गरेको छ भन्ने नै प्रजातन्त्रको मान्यता हो । तर यहाँ अहिले त्यस्तै किन छैन भने उनको पार्टी फुटेर अर्कै खेमामा पुगेको छ । 

त्यसैले ती दुई खेमामध्ये कसका बढी जनता भनेर शक्ति देखाउने होड शुरु भएको छ । त्यसै अन्तर्गत आजको आमसभा हो र यहाँ प्रधानमन्त्री ओलीकै भाषामा कम्तीमा तीन लाख कार्यकर्ता उतारिँदैछ । त्यसको तयारी व्यापक रुपमा भएको देख्न सकिन्छ । 

आमसभा भने नारायणहिटी संग्रहालय (पूर्व राजदरबार) को अगाडि हुदैछ । त्यहाँ मञ्च बनाइएको छ र सभामा आएका कार्यकर्ताहरु दरबारमार्गमा बस्ने छन् । यो नेपालको राजनीतिक आन्दोलनको इतिहासमा पहिलो प्रयोग हो कि यहाँ अहिलेसम्म कुनै पनि दलले आमसभा या जुलुशै सम्म पनि गरेको छैन । 

पहिले त्यहाँ राजदरबार थियो, जुलुश पनि प्रतिबन्धित थियो । तर अहिले संग्रहालय भएकोले पनि यहाँ आमसभा अहिलेसम्म कुनै दलले गरेको छैन । आज नेकपाको ओली समूहले यो नयाँ प्रयोग गर्दैछ । 

यसै विषयमा पनि यहाँ नागरिकको चासो व्यापक मात्रामा बढेको छ कि किन प्रधानमन्त्री ओलीले आमसभा गर्न नारायणहिटी छानेका हुन् ? उनको विपक्षी खेमाका नेताहरु प्रचण्ड र माधव नेपालले ओली गणतन्त्र विरोधी नेता भनीसकेका छन् । 

त्यसैले उनीहरु र अरु कतिपयले पनि ओलीले अब राजतन्त्र र हिन्दू धर्मको एजेण्डामा फर्किन खोजेको आरोप पनि लगाएका छन् । बजारमा हल्ला पनि त्यस्तै नै छ । यसको पूर्वाभ्यासका रुपमा इश्वरका नाममा प्रधानमन्त्री पदको सपथ नखाएका ओलीले अकस्मात पशुपतिनाथको पूजा गरेर संकेत दिइसकेका छन् । 

ओलीले यसअघि १३ गते अर्काे खेमा दाहाल नेपाल पक्षले काठमाडौँमा गरेको आमसभापछि भनेका थिए– यस्तो पनि आमसभा हुन्छ ? आमसभा हेर्न २३ गते काठमाडौँ आउनु । अनि हिजोमात्र पनि किसान महासंघको सभालाई सम्बोधन गर्दै ओलीले भनेका थिए– आज यति नै थप कुरा त म भोलि खोल्छु । 

ओलीका यी अभिव्यक्तिहरुले उनले आजको आमसभाबाट केही नयाँ घोषणा गर्न खोजेका हुन् त ? हुन पनि सक्छ । तर उनले आमसभामा मानिस जम्मा पार्न यो निम्ता मात्र दिएका हुन् कि ? तर ओलीको हरेक बोलीको अर्थ हुने भएकोले आज उनले केही घोषणा गर्न पनि सक्छन् भन्ने नै धेरैको अनुमान छ ।