२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भवन नजिक नागरिक समाजको बिरोध सभा



अ+ अ-

काठमाडौ । शुक्रबार प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनले लैनचौरदेखि शीतलनिवाससम्म प्रदर्शन गरेको छ । बृहत नागरिक आन्दोलनलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक श्याम श्रेष्ठले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई सदर गरिए आगामी कुनै संसदले पनि पाँच वर्षको आयु देख्न नपाउने बताउनुभयो ।

सबै संसद गुलेलीको सिकार हुने उहाँको भनाई छ । संविधानलाई कार्यकारीले ब्याख्या गर्ने र कार्यकारीको मातहतमा न्यायपालिका हुने उल्टो दिशामा देश जान लागेको उहाँले बताउनुभयो । हुकुमी शासनलाई जरैबाट खतम पार्न नागरिकहरु सडकमा आएको श्रेष्ठले बताउनुभयो ।

राजनीतिक बिश्लेषक कृष्ण खनालले न्यायालय संविधान उल्लंघनको साक्षी बसिरहेको बताउनुभयो । कानुनको डिग्री बोकेर कालो कोट लगाउनेले मात्रै रक्षा गर्ने नभई नागरिकले पनि संविधानको रक्षा गर्ने उहाँको भनाई छ । नागरिकहरु सडकमा नउभिउञ्जेल संविधान नजोगिने उहाँले बताउनुभयो ।

प्रतिनिधि सभा विघटन तथा संवैधानिक आयोगमा गरिएको नियुक्तिको बिरोधमा प्लेकार्ड प्रदर्शन भएका थिए भने नाराबाजी समेत भएको थियो । लैनचौरबाट शुरु भएको प्रदर्शनलाई राष्ट्रपति भवन पुग्न नदिइएपछि पानीपोखरीमा कोण सभा गरिएको थियो ।