२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाक्न लागेको हिउँदेबालीमा असिनाले क्षति



अ+ अ-

मलेखु । धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले दिउँदेबाली नष्ट गरेको छ । उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरैमै सखाप भएपछि किसान चिन्तित भएका हुन् ।

शनिबार दिउँसो परेको असिना पानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गङ्गाजमुना गाउँपालिका–१ रिगाउँस्थित किचेतका दिनेश तामाङले बताउनुभयो । उहाँका अनुसार गङ्गाजमुना, खनियाबास र रुविभ्याली गाउँपालिकाका अधिकांश किसानले लगाएको बाली असिना पानीले नष्ट गरेको छ ।

हिउँदे खडेरीमा दु:खले हुर्काउँदै गरेको आलु, मकै गहुँ, जौ लगायतका बाली असिनाले चुटेर नष्ट भएपछि अब दोहोर्‍याएर अर्को बाली लगाउनुपर्ने अवस्था आएको रिगाउँका शिक्षक पूर्णबहादुर तामाङले बताउनुभयो । “हुर्कदै गरेको गहुँ, गोड्ने बेला भएको मकै र आलु असिना पानीले नष्ट गरेको छ”, उहाँले भन्नुभयो, “बारीका ढिलमा भएको रुख घाँसको समेत सिठ्ठा मात्रै बाँकी छ ।”

फागुनको पहिलो सातादेखि लगाएको मकै, पुस महिनामा लगाएको आलु सबै कामै नलाग्ने गरी बिग्रिएको तामाङको भनाइ छ ।

मकै र आलु खेतीबाट जीविकोपार्जन गर्दै आएका यस यस क्षेत्रका किसानको खुसी असिना पानीले नष्ट पारिदिएको गङ्गाजमुना–१ ताजिमग्राङका इमान तामाङले बतानुभयो । कृषि पेसामा निर्भर हुँदै आएकाहरुको खुसी पलभरमै निराशामा बदलिएको उहाँको भनाइ छ ।

हिउँदमा कडा परिश्रम गरेर लगाएको खेती पाक्ने समयमा यसरी असिना पानीले सखाप पारेपछि यहाँका किसानलाई बर्खामा के खाने भन्ने चिन्ता परेको छ । खनियावासको झार्लाङ, रुविभ्यालीको तिप्लिङ र गङ्गाजमुनाको रिगाउँ आसपासको आलु र मकै देशभर प्रख्यात मानिन्छ । रासस