८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पुष्प व्यवसायमा भविष्य खोज्दै युवा

पुष्प व्यवसायमा भविष्य खोज्दै युवा
अ अ+ अ-

काठमाडौं । बेलायतबाट उच्च शिक्षा लिइ स्वदेश फर्किएपछि निर्मल थापाले हजुरआमाकै पुष्प व्यवसाय सम्हाल्नुभएको छ । हजुरआमा राधिका खड्का पुष्प व्यवसायमा लागेको ४० वर्ष भयो । यसैमा रमेकी हजुरआमाको व्यवसायिक खुसी देखेरै निर्मल पनि यही व्यवसायमा लाग्नुभएको हो ।

निर्मल भन्नुहुन्छ, “सानैदेखि हजुरआमा र मामाले नर्सरी व्यवसाय गरेको देखेर यसलाई नजिकबाट बुझ्ने मौका पाएको थिएँ । मलाई पनि राम्रै लाग्यो । बेलायतमा पढेर फर्किएपछि म पनि यसैमा लागेको छु । अहिले त हजुरआमालाई सघाउँदै छु, खुसी छु । मलाई लाग्छ भोलिको मेरो पेसा यही हो ।”

पछिल्लो समय पुष्प व्यवसायमा युवाहरुको आकर्षण बढेको देखिएको छ । निर्मल जस्तै अन्य धेरै युवा यो व्यवसायमा लागेका छन् । गत शुक्रबारदेखि भृकुटीमण्डपमा शुरु भएको नर्सरी प्रदर्शनीमा देखिएका यस्ता धेरै युवा छन् । जसले यो व्यवसायलाई भोलिको पेसा बनाएका छन् ।

“पहिला त नर्सरी व्यवसाय गरेर परिवार पाल्न सकिएला भन्ने लागेको थिएन”, ४० वर्षदेखि नर्सरी गर्दै आएकी निर्मलकी हजुरआमा राधिका भन्नुहुन्छ, “निरन्तरको मिहेनतसँगै यो व्यवसाय फस्टाउँदै जान थाल्यो । अहिले यसैमार्फत आत्मनिर्भर भएकी छु, सन्तुष्ट छु ।”

स्वदेशमा केही भविष्य छैन, अब विदेश पलायन हुनुको विकल्प छैन भनेर हतोत्साहित हुने युवालाई स्वदेशमा पनि मिहेनत गर्न सकेमा राम्रो भविष्य छ भन्ने पाठ सिकाउने राधिकाको सफलताको कथा पछ्याउँदै हुनुहुन्छ नाती निर्मल । “सबैको सपना विदेश जाने र उतै बस्ने भन्ने हुन्छ”, निर्मलले भन्नुभयो, “मैले त विदेश पढेँ तर स्वदेशमा नै आफूलाई थाहा भएको व्यवसाय गर्न रुचि राखेर फर्किएको हुँ, मिहेनत गर्न सके स्वदेशमा आम्दानी र सन्तुष्टि दुवै छ ।”

अहिले उहाँले ‘आइ एम अ गार्डेनर’ भन्दै यस व्यवसाय विस्तारको अभियानमा हुनुहुन्छ । हाल उहाँको नर्सरीमा ४५ जनाले रोजगारी पाएका छन् । उहाँले अनलाइनबाट पनि विरुवा बिक्री वितरण गर्दै आउनुभएको छ । हाल ज्ञानेश्वर, लबिममल ललितपुर, मल्किाटारमा व्यवसाय गरिरहनुभएका उहाँले उपत्यका बाहिर पनि विरुवाहरु बिक्री गर्ने गर्नुभएको छ ।

थापा जस्तै स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने अर्को गतिलो उदाहरण हुनुहुन्छ ललितपुरस्थित भैंसीपाटीका दीपेन्द्र तुलाधार । दीपेन्द्र पहिले विज्ञापन एजेन्सी सञ्चालन गर्नुहुन्थ्यो । कोरोना भाइरसको महामारीसँगै आर्थिक स्थिति ह्रासोन्मुख भयो । नेपालमा पनि बन्दाबन्दीसँगै कैयौँ उद्योग धरासायी बन्न थाले । विज्ञापन बजार पनि अस्तव्यवस्त हुन थाल्यो ।

उहाँका भाइहरु विदेश तिरै छन् । विज्ञापन एजेन्सी चल्न छोडेपछि उहाँलाई पनि अब विदेश नै जानुपर्छ भनेर आफन्त र साथीभाइले सुझाव दिन थाले । तर उहाँलाई लाग्यो विदेशमा पनि सजिलो कहाँ छ र ? स्वदेशमै विभिन्न विकल्प खोज्ने क्रममा उहाँले नर्सरी व्यवसाय रोज्नुभयो । उहाँ भन्नुहुन्छ, “अहिले त राम्रै कमाइ भएको छ ।”

भृकुटिमण्डपमा जारी पुष्प प्रदर्शनीमा शनिबार पुग्दा तुलाधार ग्राहकलाई फूल तथा नर्सरीका विरुवा बिक्रीमै व्यस्त हुनुहुन्थ्यो । प्रदर्शनीमा व्यापार बढाउनुपर्छ भन्ने त थियो नै कुन विरुवाको स्याहारसुसार कसरी गर्ने, कति समयमा कति मात्रामा पानी राख्ने ? भन्ने सीप सिकाउन उहाँ व्यस्त हुनुहुन्थ्यो ।

“हामी फूल तथा नर्सरीका बिक्री त गरौँला, आफूबाट ग्राहकले किन्नुभएको विरुवा हेरचाह नपाएर मर्छ कि भन्ने पिर पनि लाग्छ । कुन विरुवालाई बाहिर तथा कुनलाई भित्र राख्ने ? कसरी सम्भार गर्ने ? भन्ने विषय पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छ । हामीसँग किनेर लगेका विरुवा राम्रोसँग हुर्किउन र नमरुन भन्नेमा पनि जानकारी पनि हामी दिन्छौँ”, उहाँले भन्नुभयो ।

उहाँले ग्राहकलाई सहज होस् भनेर उहाँले नर्सरीका लागि चाहिने सबै सामग्रीहरु एकै छानामुनि बिक्री गर्दै आउनुभएको छ । “पहिला ग्राहकहरु नर्सरी किन्न एउटा ठाउँमा र गमला किन्न अर्को ठाउँमा जानु पर्दथ्यो”, उहाँले भन्नुभयो, “कुटोलगायतका सामग्री किन्न जानुपर्ने झन्झटबाट मुक्त गराउन सबै सामग्री गमला घरमै बिक्री गर्दै आएको छु ।”

तुलाधारका अनुसार होटल, रेष्टुरेन्ट, अफिस, अपार्टमेन्ट, घरभित्र सजाउन गमला अनिवार्य जस्तै भइसकेको छ । गमला नहुँदा शोभा नै दिँदैन, अनि बगैँचा मनोमोहक बनाउन पनि फूल र नर्सरीका विरुवा अनिवार्य भइसकेका छ, मानिसको सोख परिवर्तन भएसँगै प्लान्टहरुमा आकर्षण पनि बढ्दो रहेको उहाँको भनाइ छ ।

आज बुकी दिनु सट्टा कुनै पनि अवसरमा विरुवासहितको गमलाहरु दिने प्रचलन बढ्न थालेको उहाँ सुनाउनुहुन्छ । बुकी छिटो ओइलाएर जाने हुँदा गमला दिएमा लामो समयसम्म रहने सोचले पछिल्लो समय बुकीको सट्टा गमला दिन र लिन रुचाइने गरेको उहाँको भनाइ छ । बिहान पूजा गर्नदेखि घर सजाउन, बिहे तथा व्रतवन्धमा मण्डपहरु सजाउन फूलको प्रयोग बढिरहेकाले अझै नर्सरी व्यवसायमा भविष्य देख्नुहुन्छ तुलाधार ।

नर्सरी व्यवसायमै भविष्य बनाइरहनुभएको अर्को पात्र हुनुहुन्छ, सिर्जना फ्लावर नर्सरी भक्तपुरको नेत्रकुमारी खड्का । उहाँ विगत २६ वर्षदेखि निरन्तर यही पेशामा सक्रिय हुनुहुन्छ । उहाँको नर्सरीमा दश जनाले रोजगारी पनि पाइरहेका छन् । पछिल्लो समय नर्सरीप्रतिको आकर्षण बढेसँगै बिक्री वितरण पनि बढिरहेको उहाँ सुनाउनुहुन्छ । “पहिला त कसले किन्छ होला र नर्सरीका विरुवाहरु ? यो व्यवसायबाट कसरी अघि बढ्ने होला भन्ने लाग्थ्यो ? सङ्घर्ष गर्दै जाँदा हुँदो रहेछ”, उहाँ भन्नुहुन्छ, “अहिले त यही व्यवसायबाट राम्रो आम्दानी भएको छ ।”

व्यवसाय सन्तोषजनक भएरै होला उहाँको छोरा राजु पनि सोही पेशालाई नै निन्तरता दिने योजनामा हुनुहुन्छ । राजु बिहानमा कलेज र दिउँसोको समयमा नर्सरी व्यवसायमै समय बिताउनुहुन्छ । अरुका छोराहरु विदेश जान्छु भनेर झगडा गरिरहँदा आफ्नो छोरा भने स्वदेशमा नै यही व्यवसायलाई निरन्तरता दिने सोचमा रहेकाले आफूलाई खुशी लागेको उहाँको भनाइ छ ।

दाहाल ट्रडिङ कन्सर्नका सञ्चालक दुर्गाप्रसाद दाहाल पनि विगत ४४ वर्षदेखि यही पेसामा आवद्ध हुनुहुन्छ । “पहिला त यो व्यवसायमा लाग्ने देशभर नै हामी दुई/तीन जना मात्रै थियौँ”, उहाँ भन्नुहुन्छ, “विस्तारै ग्राहकहरुले प्लान्ट खरिदमा अभिरुचि बढाएसँगै अहिले त धेरै जना यही व्यवसायमा लाग्न थाल्नुभएको छ, अब बजारमा प्रतिस्पर्धा गर्न नै गाह्रो हुन थालिसक्यो ।” उहाँका छोरा आशीष पनि बुबाले रोज्नुभएको पेशामा सक्रिय बन्न थाल्नुभएको छ ।

उहाँहरु त केही उदाहरणका पात्र मात्रै हुनुभयो । नर्सरी व्यवसायमा लाग्ने अन्य थुप्रै व्यक्तिहरु हुनुहुन्छ, जसले यही व्यवसायमा भविष्य देख्नुभएको छ । सुनौलो भविष्य देखेरै होला केही विदेशबाट फर्कर र केही अन्य पेशा छोडेर पनि यही पेशामा आवद्ध भएका छन् । नर्सरीमा फूल तथा अन्य विरुवाको मोह बढेसँगै यस व्यवसायमा लाग्नेहरु उत्साहित देखिन्छन् ।

मनीप्लान्ट रोप्दा लक्ष्मीको बास हुने मान्यताले कार्यालय तथा घरभित्र मनीप्लान्ट रोप्ने चलन छ । त्यस्तै विश्वास लक्की ब्याम्बो र नेकप्लान्टमा पनि छ । तुलसीलाई भगवान्को प्रतीकका रुपमा घरआँगनमा रापिन्छ । घरभित्र रोपिने विरुवाहरुले अक्सिजनको मात्रा बढाउने र स्वास्थ्य राम्रो हुने भएकाले पनि घरभित्र, घरबाहिर, छत तथा भर्‍याङमा गमलाहरुमा विरुवा रोपेर सजावट दिन थालिएको छ ।

वनस्पति विभागले पनि अध्ययन अनुसन्धानका लागि सहयोग गर्ने र कसरी त्यसको बहुउपयोगी बनाउने विषयमा तालिम दिन थालेको छ । कृषि वन उद्यानका रुपमा नर्सरी खेतीलाई लिन थालिएको छ । विऊबिजन तथा फूलहरुको निर्यात बढाउने लक्ष्यका साथ सबै अन्तरसरकारी निकायहरुबीच छलफल हुन आवश्यक रहेको बताउनुहुन्छ, वनस्पति बिभागका महानिर्देशक डा सञ्जीवकुमार राई । उहाँ भन्नुहुन्छ, “हाम्रो आवश्यकता पूरा गर्न विदेशबाट बिउबिजन तथा विरुवाहरु आयात गर्छौं । यो बन्द गरेर नर्सरी खेती प्रवर्द्धनमार्फत निर्यात गर्ने लक्ष्य लिनुपर्छ ।”

कृषि क्षेत्रबाट आर्थिक अवस्था सदृढ गर्न नर्सरी खेती प्रवद्र्धन जोड दिन आवश्यक रहेको बताउँनुहुन्छ, पुष्प विकास केन्द्र गोदावारीका प्रमुख रवीन्द्र थापा । “हामी वार्षिक रुपमा रु साढे तीन अर्बको पुष्प र आलाङ्कारिक वस्तु आयात हुने गरेकामा त्यसलाई प्रतिस्थापन गर्न पनि स्वदेशमा फूल उत्पादन बढाउने गरी लागेका छौँ”, उहाँले भन्नुभयो । विभागले मन्दिरमा चढाएर फालिएका फूलहरुलाई कसरी धुप बनाउने रु भनेर तालिम सञ्चालन गरेपछि फोहोरलाई पनि मोहर बनाउन सकिएको उहाँले बताउनुभयो ।

विभागका उपसचिव देवीप्रसाद भण्डारीले व्यापार हुन नसकेका र मन्दिरमा चढाएर फाल्नुपर्ने सयपत्री फूलबाट ल्युटिन भन्ने रसाउन निकाल्ने र भिटामिन ‘ए’का रुपमा प्रयोग गर्नुका साथै कस्मेटिक समानहरु बनाउन पनि प्रयोग गर्न सकिने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “फूलबाट सुगन्धित तेल निकाल्न सकिन्छ, सुकाएर धुप बनाउन पनि सकिन्छ, सुगन्धितजन्य पातहरु प्रयोग गरेर प्रफ्युम बनाउन सकिन्छ ।” रासस