३० कार्तिक २०८१, शुक्रबार
,
Latest
मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कास्की प्रहरीको दुर्व्यवहार स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो हेलो रोबोट ! तिम्रो नाम के हो ? ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको होः ऊर्जाराज्यमन्त्री तामाङ सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली व्यवसायी लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसको उम्मेदवार तय एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक, स्टार स्पोर्ट्समा लाइभ आउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू



अ+ अ-

गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् ।

हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताउनुभयो ।

विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उहाँले बताउनुभयो। “आमा समूह आयआर्जनसँग जोडिन आवश्यक छ, अहिले देउरालीचोक आमा समूहअन्तर्गत अधिकांश आदिवासी, जनजाति समूहका ५० महिला सङ्गठित छौँ, पहिलो चरणमा १२ जना महिला नौमती बाजा बजाउन सिकिरहनुभएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “बागलुङ नगरपालिकाले प्रदान गरेको रु एक लाख ५० हजारबाट नौमती बाजा खरिद गरी बाजा बजाउन सिकिरहेका छौँ, रु ५० हजार सिक्ने खर्च हो भने रु एक लाखमा बाजा खरिद गरेका छौँ ।”

चैत महिनाभर सिकेको बाजा बजाउने सीप वैशाखदेखि उपयोग हुने उहाँ बताउनुहुन्छ । कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै आमा समूहका सदस्यहरूले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन् ।

बागलुङ नगरपालिकाको पहिचान झल्काउने बाजा समूह निर्माण गर्न नगरपालिकाले सहयोग गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । “बागलुङ बजारमा बाजा बजाउनेको अभाव रहेको पाइयो, सानो सहयोगले एउटा नमुना बाजा समूह निर्माण गर्ने नगरपालिकाको लक्ष्य हो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आमा समूहको आयआर्जनको माध्यम बन्ने तथा संस्कृतिको संरक्षण हुने नगरपालिकाको अपेक्षा छ, यसलाई व्यवस्थित गर्न लाग्छौँ, उहाँहरूलाई सक्रिय बनाउन नगरपालिकाले निरन्तर सहयोग गर्नेछ ।” रासस