• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति

होलीमा तीन हजार सुरक्षाकर्मी तैनाथ गरिने



काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ । होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन् ।

होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सभ्य, भव्य तरिकामा फागु पर्व मनाउन सबैमा आग्रह गरेका छौँ । कानुन विपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने छ ।” यस वर्षको होली पर्वका लागि दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

होली खेल्नेहरुको समूह तथा भीडमा सादा पोसाकका प्रहरी ठूलो सङ्ख्यामा परिचालन हुने भएकाले कोही कसैले पनि कानुन विपरीतका गतिविधि गरेको पाइए तत्काल पक्राउ गरिने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । “काठमाडौँका विभिन्न वडामा शान्त वातावरणमा पर्व मनाउन आग्रहसहित माइकिङ गर्दै आएका छौँ”, प्रउ अधिकारीले भन्नुभयो, “हाम्रो चाहना भनेको शान्त र सभ्य होली मनाउनूस् भन्ने हो । हाम्रो आग्रहलाई अटेर गरी कानुन विपरीत क्रियाकलाप गरेमा कानुनी दायरामा ल्याउने छौँ ।”

अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा भोलि बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिने प्रउ अधिकारीले जानकारी दिनुभयो ।

मापसे र लापसे सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको भन्दै अनुमतिबिना रङ दल्ने, लोला हान्ने, जिस्काउनेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । रासस