२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाना पारखीका आँखामा छाउँदै हेवेन खनाल, साइनी नोरचोकले पर्यटक लोभ्यायो



अ+ अ-

काठमाडौं । विश्व प्रसिद्ध इटालियन कुजिनका विज्ञ मानिने एक्ज्युकेटिभ सेफ (Executive Chef) हेवेन खनालले काठमाडौंको लाजिम्पाटस्थित साइनी नोरचोक बुटिक होटेललाई नेपालकै एक नमूना बुटिक होटेल बनाउँदैछन् ।

इटालेली खानाका पारखीलाई इटालियन कुजिन भन्नासाथ इटालियन पिज्जा, पास्ता कार्बोनारा, ब्रुस्चेता, पान्जिनेला, काप्रेस सलाद, मसरुम रिसोट्टो, लासाग्ना जस्ता निकै स्वादिला खानेकुराको सम्झना आइहाल्छ ।

हेवेनलाई यी कन्टिनेन्टल कुजिनको ज्ञान हुने नै भयो, तर उनले यी कुजिनका अलावा यस होटेलमा डोल्पाबाट ल्याइएका मोरल मसरुम सुप, कर्णालीको मार्सी थाली सेट र सोलुखुम्बुका हिमालयन स्नो ट्राउट माछा जस्ता परिकारहरु पस्किने गरेका छन् । नेपाली खाना परिकार पनि समृद्ध रहेको र देशभित्र अनेक किसिमका स्वादिला कुजिन रहेका तर तिनीहरुको प्रचार कम भएको उनको अनुभव छ ।

उनी भन्छन्, “अहिले नेपाली परिकारहरुको माग निकै बढेको छ । धेरै मानिसलाई कुजिनको महत्व बारे ज्ञान पनि छैन । विदेशीले पनि नेपाल आएर पहिले खोज्ने नेपाली विशिष्ट खानेकुरा नै हो, तर हामीले राम्रोसँग उनीहरुलाई बताउन सकेका छैनौं । हामीले नेपाली उत्कृष्ट कुजिनलाई ब्रान्डिङ गर्न सकेका छैनौं ।”

आजभोलि उनी कार्यरत साइनी नोरचोक बुटिक होटेलका विशेषताहरुको बारेमा जिज्ञासा राख्दा उनले यस बुटिक होटेलमा पुरानो शैलीका घर, फाइन डाइनिङ्ग तथा सानै भए पनि पुराना सामानहरुको सजावट तथा रिशेस्टको अनुभव प्राप्त गर्न सकिने बताए ।

इटालियन फाइन डाइनिङ्ग नामक यसअघि झम्सीखेलस्थित पियानो–बी (PIANO-B) भन्ने रेष्टुरेण्टमा कोमी–टु (COMMI-2) को रुपमा अनुभव हासिल गरिसकेका हेवेनले काठमाडौंको आधा दर्जन रेष्टुरेण्टमा काम गरिसकेका छन् ।  

सुनसरीको बराहक्षेत्र नगरपालिकामा २०५३ मा जन्मिएका उनी शुरुदेखि नै होटेल म्यानेजमेन्ट र हस्पिट्यालिटी क्षेत्रमा रुचि राख्ने र एकदिन एक सफल सेफ बन्ने लक्ष्य राखेका थिए । उनी एक महत्वपूर्ण सिँढी चढ्दै नेपालका प्रथम युवा Executive Chef बन्न सफल भएका छन् । हेवेनले लिटिल एन्जेल्स स्कूलबाट एसएलसी, हिमालयन ह्वाइट हाउस कलेजबाट प्रमाणपत्र तह उत्तीर्ण गरी मलेसियाबाट सम्बन्धन प्राप्त आइआइएमएस कलेजबाट होटेल म्यानेजमेन्टमा स्नातक गरेका छन् ।

मातापिताका एक मात्र सन्तान उनलाई यस ठाउँमा पुग्न आमाबुबाको प्रेरणा सबैभन्दा बढी छ । उनले बाबुआमाको आशिर्वाद र प्रेरणालाई सम्झँदै यस गौरवशाली स्थानमा आफूलाई उभ्याउन सफल भएका छन् । उनी भन्छन्, “नेपालमा बाह्य पर्यटनको प्रवर्द्धनसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्न पनि जरुरी भइसकेको छ । घुमघामका साथै नेपाली खानाका परिकारको प्रवर्द्धन गर्न ढिलो भइसकेको मेरो अनुभव छ । हामीले नेपाली खानालाई विश्वभर चिनाउन पनि जरुरी छ ।”

हालसालै यस होटेलका सिईओ दीपक ठाकुरले पनि उनलाई सम्मान गरिसकेका छन् ।