८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ करोडको लागतमा आजबाट वाटर एटिएम संञ्चालनमा



अ+ अ-

काठमाडौं । नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा बिहीबार देखि काठमाडौंमा वाटर एटिएम संञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमकाबीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गर्नुभएको हो । 

पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटिएम संञ्चालनमा आएको छ । वाटर एटिएम जडान भएसंगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ । 

वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैयाँ तिर्नुपर्नेछ । प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ । यो वाटर एटिएमलाई ३ महिनासम्म सप्लार्यसले नै संचालन गर्ने र ३ महिना बोर्डलाई हस्तान्तरण गरिने छ । यस एटिएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ । एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने छ । 

काठमाडौं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ हप्ता भित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटिएम जडान गरिने जानकारी दिनुभयो । काठमाडौंमा पिउने पानीको समस्या भईरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटिएमले आम सर्वसाधरणलाई सुलभ मुल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ ।

एक हप्तामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा संचालन गर्ने तयारी गरिएको छ । काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानमा संचालनमा ल्याईने वाटर एटिएमको लागत २ करोड रुपैयाँ रहेको छ ।