काठमाडौं । राष्ट्रपतिबारे अभिव्यक्ति दिएको भन्दै बिहीबार पक्राउ परेकी नेकपाकी नेत्री रामकुमारी झाँक्री साढे ५ भन्टाको हिरासद बसाईपछि साँझ रिहा भएकी छिन् । उनलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान पक्राउ गरेको थियो ।
नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई साँझ प्रहरीले रिहा गरेको बताइएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताएका छन् ।
आज दिनभर झाँक्रीलाई मिनभवनस्थित महाशाखाको कार्यालयमा राखेर साँझ रिहा गरिएको छ । उनलाई प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ परेको थियो ।
उता झाँक्रीले भने राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको भए पनि व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको भन्दै आपूmले बोलेको कुराको अडान लिएकी थिइन् ।
आज उनलाई पक्राउ गर्न उनको शंखमुलस्थित निवास पुगेका प्रहरीका विरुद्धमा र आज दिनभर सरकारका विरुद्धमा प्रचण्ड माधव समूहका कार्यकर्ताले वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । अपरान्ह ४ बजे पनि उनको रिहाइको मागगर्दै अनेरास्व्वियूका हजारौँ विद्यार्थीले माइतीघर मण्डलाबाट जुलुश निकालेका थिए ।











