५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनु पर्ने अभियान



अ+ अ-

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक पोसाक लोपोन्मुख अवस्थामा पुगेपछि ती समुदाय संरक्षणमा लागेका हुन् ।

पुर्खाले भेडापालन गर्ने र भेडाको ऊनबाट कपडा बनाउने पेसा अँगालेकामा पछिल्लो समय ऊनबाट बनेका कपडा हराएर जान थालेपछि गाउँमा सबैले ऊनका कपडा लगाउने अभियान चलाएको स्थानीय यामबहादुर छन्त्यालले बताउनुभयो । “परम्परागत भेडा बाख्रापालनलाई हामीले निरन्तरता दिँदै आएका छौँ, तर भेडाबाख्राको ऊनबाट बनाइने हाब्दुलो, काम्लोलगायत लोप हुन लागेका छन्, हामीले पुख्र्यौलीलाई नमासौँ भनेर अग्रसरता दिएका हौँ”, उहाँले भन्नुभयो ।

भेडाबाख्रा पाल्दै आउनुभएका छन्त्यालले गाउँमा अहिले ऊनबाट बनेका कपडा लगाउने लहर नै चलेको बताउनुभयो । घरायसी काम, गोठ बस्दा र सार्वजनिक कार्यक्रममा ऊनबाट बुनेर बनाइएका हाम्दुलोको प्रयोग हुने थालेको छ । भेडाबाख्राको ऊन खेर जान नदिन र ऊनबाट कपडा बुन्ने पेसा हराएर जान नदिन युवाको अग्रसरतामा परम्परागत पोसाक बनाउने र लगाउन थालिएको छ ।

ठाडाखानीमा अहिले पनि भेडा बाख्रापालन हुँदै आएको छ । यहाँका स्थानीयले करिब एक हजार ५०० को हाराहारीमा भेडाबाख्रा पालेका छन् । भेडाबाख्राको ऊन काढेर उनलाई प्रशोधन गरेर धागो बनाएपछि तानमा बुनेर कपडा बनाउने गरिन्छ । ऊनबाट कपडा बनाउने पेसा सङ्कटमा पर्दै गएपछि यहाँका स्थानीयले अभियानकै रुपमा ऊनका कपडा लगाउन थालेका हुन् । ऊनबाट बनेका कपडा न्यानो हुने र धेरै वर्ष टिकाउ हुने भएकाले गोठमा बस्नेले अधिक मात्रामा प्रयोग गर्ने चलन रहेको छ ।

भेडाबाख्राको ऊनलाई प्रशोधन गरेर चर्खाबाट धागो बनाई, तानमा बुनेर हाब्दुल, काम्लो, टोपी, स्विटरलगायतका सामान बनाउने गरिन्छ । परम्परागत पोसाक सँगसँगै पुख्र्यौली पेसाको रुपमा रहेको खानी खन्ने र घरायसी काममा प्रयोग गरिने कोर्को, डोको थुन्सेलगायतका सामानलाई समेत जर्गेना गर्न थालिएको स्थानीय जीतबहादुर छन्त्यालले बताउनुभयो । पुर्खाले सिर्जना गरेका पहिचानलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि पनि स्थानीयले अग्रसरता देखाएको उहाँको भनाइ छ ।

ती समुदायको बाहुल्य बसोबास रहेको ठाडाखानीका बासिन्दाले वेशभूषा, पेसा र सीपसँगै भाषा, संस्कृतिलाई समेत जगेर्ना गरेका छन् । स्थानीयस्तरमा छन्त्याल खाम भाषालाई बोलीचालीको प्रचलनमा ल्याएका छन् भने पुख्र्यौली सोरठी, मादले मारुनीलगायतका नाचलाई समेत जीवन्त राखेका छन् । गाउँमा हुने सार्वजनिक कार्यक्रम र बाहिरबाट आउने अतिथिको स्वागतमा मौलिक पुख्र्यौली नाचले स्वागत गर्ने गरिएको रघुगङ्गा गाउँपालिका–६ का वडा सदस्य टेकजित छन्त्यालले बताउनुभयो ।

“पुख्र्यौली र परम्परालाई मासिन नदिन हामीले अग्रसरता लिएका छौँ, युवापुस्ता समेत आफ्ना पुर्खाका कला, संस्कृति, परम्परा र पेसाको जगेर्ना गर्न लागिपरेका छन, यसले छन्त्याल समुदायको कला, संस्कृति र जनजीवनलाई नयाँ पुस्तामा सीप र संस्कार हस्तान्तरणमा सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ”, वडासदस्य छन्त्यालले भन्नुभयो । वडा कार्यालयले समेत मौलिक वेशभूषा, कला संस्कृति र परम्पराको जगेर्ना गर्न स्थानीय आमा समूहलाई पोसाक उपलब्ध गराएको छ ।रासस