• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिवन्ध लगाउनुपर्नेमा सांसदहरुको जोड



काठमाडौँ । सांसदहरुले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिवन्ध लगाउनुपर्ने माग गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । उनीहरुले सुर्तीजन्य उद्योगहरुको उत्पादनको लागिमात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालन भएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताए ।

उनीहरुले उद्योगको पुँजी वृद्धि तथा क्षमता अभिवृद्धिको अनुमति दिइसकेपछि सो विषयमा छलफल गर्नुको औचित्य नरहेको बताए । उनीहरुले स्वास्थ्यमा जनतालाई असर गर्नेकुरामा राजश्वका दृष्टिकोणले मात्रै हेर्नु नहुने बताए । पैसा कमाउने उद्देश्य मात्रै राज्यले लिन नहुने बताए । बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद कान्तिका सेजुवालले सुर्तीजन्य गुट्काहरुको उद्योग सञ्चालनको लागि मात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालनमा आएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले सुर्तीजन्य उद्योगहरुको क्षमता अभिवृद्धि गर्ने नभइ रोक्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौड्यालले स्वास्थ्यमा जनतालाई प्रभाव पार्ने कुराले राजश्वका लागि सुर्तीजन्य पदार्थहरुको उत्पादनमा अभिवृद्धि गर्नेकुरा राम्रो नहुने बताउनु भयो । उहाँले राज्यले जनतालाई असर पर्ने कुरामा पैसा मात्रै कमाउने उद्देश्यबाट प्रेरित हुनु नहुने बताउनु भयो । यस विषयमा राज्य व्यवस्था समिति र उद्योग समितिमा संयुक्त छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुँजी अभिवृद्धिको स्वीकृति दिइसकेपछि छलफल गर्नुको ओचित्य नरहेको बताउनु भयो ।

नेकपा एमालेका सांसद लालप्रसाद सावा लिम्बूले गुट्का उद्योगको पुँजी अभिवृद्धि तथा क्षमता अभिवृद्धि गर्ने अनुमति दिइसकेपछि छलफल गर्नुको औचित्य नरहने बताउनु भयो । अनुमति दिनुपूर्व नै छलफल हुनुपर्ने कुराको जवाफ सरकारले दिनुपर्ने बताउनु भयो । उहाँले क्षमता अभिवृद्धि किन गरिएको हो ? भन्ने प्रश्न उठेको बताउनु भयो । उहाँले स्वास्थ्य सम्बन्धीको असरलाई हेरेर छलफल गहन रुपले हुनुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीर्की सांसद रेखा यादवले उहाँले सरकारले युवाहरुलाई श्रम दिने कुरामा ध्यान दिने हो भने रुग्ण उद्योगहरुलाई सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले गुट्का, खैनी बाहेकका रुग्ण उद्योगमा थप लगानी गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने बताउनु भयो । उहाँले नेपालमा खैनी तथा सूर्तीजन्य सामग्री बेच्न नदिने भए उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बाहिर पठाउने योजना र कार्यक्रम अघि सार्नुपर्ने बताउनु भयो ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गुट्का उद्योगको पुँजी अभिवृद्धि तथा क्षमता अभिवृद्धि गर्ने अनुमति दिइसकेपछि समितिमा छलफल गर्नुको ओचित्यमाथि प्रश्न उठेको बताउनु भयो । उहाँले सरकारको कानून मानेर खोलिएका उद्योगहरु सरकारले सञ्चालन गर्न दिनुपर्ने बताउनु भयो । उहाँले सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणको लागि र बिक्री वितरणका लागि तोकिएको नियमनका प्रक्रियाको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले गुट्का, खैनी र सुर्तीजन्य पदार्थको बिक्री वितरण र उत्पादनसम्बन्धीको मापदण्ड निर्मम भएर लागू गर्ने हो भने धेरै कुरा नियन्त्रण हुने बताउनु भयो ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले गुट्का, खैनी र सुर्तीजन्य उद्योगहरु कति छन् ? भन्नेबारेमा सरकारसँग यकिन तथ्यांक नरहेको बताउनु भयो । उहाँले भएका उद्योगहरु कसरी चलिरहेका छन्, उनीहरुले उत्पादन गरेका वस्तुहरुको गुणस्तरीयताको मापन कसरी भइरहेको छ ? भन्नै प्रश्न गर्नुभयो । उहाँले आवश्यकताको आधारमा उद्योग बन्द गर्नुपर्ने बताउनु भयो । उहाँले उद्योग बन्द गर्दा त्यसले पार्ने असरमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले नेपालमा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरु बन्द गर्दा बाहिरबाट हुने आयातको बारेमा पनि विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले सुर्तीजन्य पदार्थहरुको उत्पादन नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । समितिको बैठकमा अन्य सांसदहरुले चलिरहेका उद्योगहरुलाई अबबाट उत्पादन वृद्धि गर्न नदिने गरी सरकार अघि बढ्नुपर्ने बताए ।