२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियन ओपनः बाइबाइ सेरेना, नाओमी ओसाका फाइनलमा प्रवेश



अ+ अ-

मेलबोर्नः अस्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फको पहिलो सेमिफाइनलमा जापानी युवा खेलाडी नाओमी ओसाकाले जितेकी छिन् । उनले चिरपरिचित प्रतिद्वन्द्वी अमेरिकी स्टार खेलाडी सेरेना विलियम्सलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गरिन् ।

यी दुई बीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अड्कल गरिए पनि सेरेनाले ओसाका समक्ष आत्मसमर्पण गरेझैं देखिएको थियो ।

विश्व वरियतामा ११ नम्बरमा रहेकी ३९ वर्षीया सेरेनाले पहिलो सेटको पहिलो गेममा ब्रेक प्वाइन्ट हासिल गर्न सफल भएपनि त्यसपछि २३ वर्षीया ओसाकाले खेलमा पुनरागमन गरेकी थिइन् । उमेरका दृष्टिले यी दुईबीच झण्डै १६ वर्षको फरक रहेको थियो ।

अहिले विश्व एटीपी शृंखलामा ओसाका ३ नम्बरमा छिन् ।

यसअघि अमेरिकी ओपनको खेलमा ओसाकाले सेरेनालाई पराजित गरेर पहिलो ग्रान्ड स्लाम हात पारेकी थिइन् । त्यस खेलमा सेरेनाले देखाएको व्यवहारलाई लिएर चौतर्फी आलोचना भएको थियो । खेलमा सेरेनाले अम्पायर कार्लोस रामोसलाई “चोर” को संज्ञा दिएपछि अम्पायरले सेरेनाको नम्बर घटाइदिएका थिए ।

त्यसपछि यी दुई खेलाडी एक पटक आमनेसामने भएका छन् अर्थात् रोजर्स कपमा । त्यस खेलमा भने सेरेनाले ओसाकालाई पराजित गरेकी थिइन् । त्यसपछि ओसाकाले दुई वटा ग्रान्डस्लाम जितिसकेकी छिन् ।

अब ओसाकाले फाइनल खेल जेनिफर ब्राडी र कारोलिना मुचोभाका विजयी खेलाडीसँग प्रतिस्पर्धा हुनेछ ।