२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोप २६ टोलीद्वारा प्रधानमन्त्रीसमक्ष भेट



अ+ अ-

काठमाडौं । बेलायतको ग्लासगाउँमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन –(कोप २६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष भेट गरेको छ । 

उक्त भेटका क्रममा टोलीले नेपालको मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुका बारे जिज्ञासा राखेको थियो । यसबारे अध्ययन गर्न कोप २६ इच्छुक रहेको समेत टोलीले बताएको थियो । 

मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद  कार्यक्रमप्रति टोली सकारात्मक रहेको विचार पनि व्यक्त गरेको थियो । यसका लागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी पनि प्रधानमन्त्री समक्ष टोलीले रोखेको थियो । 

नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि ५० सम्मका लागि बनाएको योजना राम्रो रहेको भनाई पनि टोली प्रमुख शर्माको थियो । भेटमा प्रधानमन्त्री ओलीले कोप २६ टोलीले सम्मेलनको सम्मेलन पुर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समेत समावेश गरेकोमा धन्यवाद दिनुभएको थियो । 

साथै उहाँले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरु र यस सम्बन्धी सरकारका प्रतिवद्धताबारे टोलीलाई जानकारी दिनुभएको थियो । ‘नेपाल विश्वव्यापी मौसम परिवर्तनका कारण हिमाली क्षेत्रमा परेका प्रभावहरु बारे अन्तर्राष्ट्रिय समुदायको ध्यान पुगोस् भन्ने चाहन्छ’, प्रधानमन्त्रीको भनाई थियो । 

गतवर्ष कोभिड १९ को महामारीका कारण स्थगित सगरमाथा संवाद कार्यक्रम आगामी दिनमा आयोजना गरिने जानकारी पनि प्रधानमन्त्रीले दिनुभएको थियो । आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगाउमा  मौसम परिवर्तन सम्बन्ध २६ औं अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड १९ प्रकरणका कारण एक वर्ष पर सारिएको हो ।