• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो : प्रधानमन्त्री ★   बाढीको जोखिममा रहेका पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै ★   मिचेल मार्शको कप्तानीमा टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा ★   कानुन आवेगमा आउनु हुँदैन ★   सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमको नयाँ अफर ★   मर्यादित काम र श्रमिकको सम्मान गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान ★   कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा ★   श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल ★   अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना ★   श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

कर्मचारीतन्त्र माथिको सवार



उद्योगपति विनोद चौधरीले एक ठाउँमा भनेका छन् .”कर्मचारीतन्त्र यस्तो सवारी हो जसले सवार तुरुन्तै चिन्छ। जसले चिन्छ उसलाई कर्मचारीतन्त्रले गन्तव्यमा पुर्याइदिन्छ । जसले चिन्दैन , कहाँ लगेर थन्क्याउँछ। टुङ्गो हुँदैन” । यो विषय बडा मार्मिक छ।

उद्योगपति विनोद चौधरी आफ्नो पेशामा उच्च स्थानमा त्यसै पुगेका होइनन्। जसले देशको राजनीति, कर्मचारीतन्त्र र नीतिलाई गहिरो बुझ्छ। उसले मात्र यसको सही उपयोग र प्रयोग गर्न सक्छ। र सफल पनि हुन्छ। उनको भनाइमा सार्थकता छ। जुनसुकै देशका उच्च राजनीति कार्यकारीले स्पष्टताका साथ आफ्नो निर्णय दिन्छ भने उसले त्यो देशको कर्मचारी तन्त्रको मर्म र भावना बुझेको मानिन्छ।

राजनीति नेता कार्यकारी तहमा पुगेपछि उसको अधिकांश स्वभाव कर्मचारी तन्त्रको जस्तै हुन्छ। किनकि उसले ऐन, कानुन, नीति, नियमको अधीनमा मात्र आफ्नो निर्णय दिन्छ। यदि दिँदैन भने त्यो कार्यकारी सफल हुँदैन। । कर्मचारी तन्त्रको मुख्य विशेषता पनि यही हो। सवारीले सवार चिन्नु हार्दिकता हो। सवारले सवारीलाई कसरी उपयोग र प्रयोग गरेको छ दुवैले प्राप्त गर्ने नतिजा यसैमा छ।। हाम्रो कर्मचारीतन्त्र र राजनीतिले सही दिशा लिन नसक्नुमा एउटा मनोवैज्ञानिक कारण यो पनि हो ।

कर्मचारी तन्त्रको भावना र मर्म नबुझ्ने सरकार लामो समयसँग टिक्दैन। यो कटु सत्य हो। राजनीति तहको निर्णय जब कर्मचारीतन्त्रमा पुग्छ त्यसपछि मात्र यो तथ्यपरक, वस्तुवादी र कानुनी बन्छ। त्यसैले कर्मचारी तन्त्रको मर्म र भावना बुझ्ने सरकार सफल हुन्छ। के कर्मचारीतन्त्रले राजनीतिको मर्म र भावना बुझ्नु पर्दैन त । यो अर्को तर्क हुन सक्छ। तर कर्मचारी तन्त्रको जन्म राजनीति इच्छाबाट नै हुन्छ।

राजनीति इच्छा विपरीत कर्मचारी तन्त्र जन्मिदैन। सारा दोष कर्मचारीतन्त्रमा हुन सक्छ । यसको परिणाम अन्तत राजनीतिले खेप्नुपर्छ। कर्मचारीतन्त्र माथि कसरी सवार हुने भन्ने अहम प्रश्न राजनीतिको हो। तर अहिलेको हाम्रो कार्यशैली र पद्धति हेर्दा राजनीतिमाथि कतै कर्मचारीतन्त्र सवार त छैन भन्ने उल्टो प्रश्न दिमागमा घरिघरि आइरहन्छ।

निजी क्षेत्रले कर्मचारीलाई सधैँ नजिक राख्ने र चिन्ने प्रयास गर्छ । व्यापार र निजी पेशामा नाफा र संस्थाको हित लक्ष्य हुने गर्छ। त्यसैले संस्थाप्रति मालिक सवार हुन्छ। र, मालिकले कर्मचारीको हित र भावना विपरीत काम र सम्झौता गर्दैन । तर नाफाका लागि सरकारी क्षेत्रको जुनसुकै आदेश मान्न निजी क्षेत्र तयार हुन्छ। यो तयारीलाई स्वीकार गर्नु नै कर्मचारीतन्त्रको ठूलो कमजोरी हो। यो कमजोरी नेपालका उच्च घराना र उद्योगीहरूले थाहा पाउँछन् नै। ठूलाठूला कर छुट, करछलीका विषयहरु, आयात निर्यातमा चोरी ,सार्वजनिक र सरकारी जग्गामा निजी क्षेत्रको हस्तक्षेप त्यसै भएका होइनन्। कर्मचारी तन्त्रमाथि निजी क्षेत्र सवार भएकै हो।

सवार र सवारीको हार्दिकता रहुन्जेल यी विषय बाहिर निस्किँदैनन्। कसलाई कहाँ कतिखेर प्रयोग गर्नुपर्ने हो त्यही अनुसार दुवै क्षेत्रले गोटी खेलिरहन्छन्। कहिलेकाहीँ कर्मचारीले गरेको काम कर्मचारीबाटै बाहिरिन्छ। हाम्रोमा मात्र होइन , विकसित र सभ्य मानिएका देशहरुमा पनि यो प्रचलन त्यत्तिकै छ। कर्मचारीतन्त्रसँग संस्थागत मेमोरी रहिरहन्छ। जुनसुकै बेला यो प्रयोग र उपयोग हुन सक्छ।

तर राजनीतिको लागि आफूले गरिसकेको काम चासोको विषय हुँदैन।। र राजनीति नेतृत्व हरू नजानिकन यसमा फस्दै जान्छन्। किनकि उनीहरूले आफ्नो समयमा सवारीलाई चिन्न सकेनन् वा सवारीबाट सवार भए। यो खतरा जुनसुकै शासन प्रणाली र पद्धतिमा रहिरहन्छ। हाम्रोमा त बदलाको भावना कहिलेकाहीँ हार्दिकतामा समेत देखिने गरेको छ।

कर्मचारीतन्त्रमाथि कर्मचारी कहिल्यै सवार हुन सक्दैन। यो क्षणिक मात्र हुन्छ।। हेनरी फेवेलले कर्मचारी तन्त्रमा नेतृत्व होइन। व्यवस्थापन महत्त्वपूर्ण हुन्छ भनेका छन्। उनी कर्मचारी तन्त्रलाई संगठनको सिद्धान्त परिचालनको संयन्त्र मात्र ठान्छन् । यसको अर्थ कर्मचारी तन्त्र एउटा संयन्त्र हो। यो आफैमा हावी वा सवार हुन सक्दैन। यसलाई कानुन नीति र नेतृत्वको सहारा चाहिन्छ। यसलेआफै कानुन, नीति, नियम बनाएर आफै लागू गर्न सक्दैन। लागू गरियो भने त्यो राजनीतिक तन्त्र रहँदैन।

निरंकुश तन्त्र बन्छ। त्यसैले १८ औँ शताब्दी पछि राजनीति र कर्मचारी तन्त्रको सम्बन्ध र हार्दिकताको विषय उठ्दै आएको हो। जसले यो हार्दिकतालाई बिना स्वार्थ बुझे। उनीहरु सफल भए। जसले बुझेनन् एक आपसमा आरोप प्रत्यारोप गर्दै गए। त्यस्ता ठाउँमा भ्रष्टाचार बढ्यो। सूचनाहरू कुनै गोप्य रहेनन् ।अपारदर्शिता बढ्यो। विश्वासको संकट बढ्दै गयो। अहिले नेपालको कर्मचारीतन्त्र र राजनीतिको सम्बन्ध यस्तै छ। हार्दिकता देखिँदैन।

कर्मचारी तन्त्रमा नेता र नीतिलाई सफल र असफल बनाउने दुवै गुण हुन्छ। यो गुण चिन्न सक्नु राजनीति नेतृत्वको कला हो। यो गुण चिन्न राजनीति नेतृत्व राजनीति सीमा भन्दा बाहिर उभिनुपर्छ । नेतृत्व कहिलेकाहीँ व्यवस्थापकको भूमिकामा आउनुपर्छ। बहुसंस्कृति ,भाषा ,समाज ,भूगोल र भावनाबाट एकै ठाउँमा भेट भएको कर्मचारी लाई बुझ्न गाह्रो छ। तर कर्मचारीतन्त्र एउटै कुरामा डराउँछ। त्यो हो। नेतृत्वको इमान्दारिता । इमान्दार राजनीतिक नेतृत्व र शासकलाई कर्मचारी तन्त्रले हरदम सहयोग गर्छ।उद्योगपति विनोद चौधरीको भनाइले यही सार्थकता खोज्छ जस्तो लाग्छ। राम्रो र खराब दुवै परिणाम ल्याउन पेसा, व्यवसाय र भूमिकाको इमान्दारिता अर्थपूर्ण हुन्छ। यही इमानदारिता र विश्वासले मात्र सवारीले सवारलाई गन्तव्यमा पुर्याउँछ।