नेपाल सरकारले विप्लव समूहको नेकपा माओवादीमाथि लगाइएको प्रतिबन्ध हटाउने भएको छ । अब बस्ने मन्त्रिपरिषदको बैठकले सो समूहमाथिको प्रतिबन्ध हटाउने भएको बालुवाटार समाचार स्रोतले जनायो ।
समाचार स्रोतका अनुसार सो समूहसँग वार्ता गर्न सरकारी वार्ता समिति गठन हुने पनि बताइएको छ । प्रधानमन्त्री केपी ओलीले हालै विप्लव माओवादीलाई वार्ताको टेबलमा ल्याइने बताउनुभएको थियो ।
सरकारको यही निर्णय बमोजिम नै हालैमात्र मन्त्री मणि थापाले सो माओवादी समूहका नेता हेमन्तप्रकाश ओलीसँग नख्खु कारागारमै पुगेर भेट गर्नुभएको थियो । सोही बमोजिम सरकारले तयारी थालेपछि उक्त माओवादी समूहका नेता नेत्रविक्रम चन्द विप्लवले हिजोमात्र विज्ञप्ति प्रकाशन गरेर आफूहरु वार्तामा आउने बताउनुभएको थियो ।
उता विप्लवले भने संसदीय व्यवस्था नमान्ने बताउँदै आएकोले त्यसको विकल्प सरकारले वार्ताको टेबलबाट खोज्ने भएको छ । समाचार स्रोतका अनुसार संसदीय व्यवस्थाको विकल्पमा जनवादी गणतन्त्रको लागि जनमत संग्रहमा जान सकिने गरी वार्ताको एजेण्डा बनाइने भएको बुझिएको छ ।











