१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी
अ अ+ अ-

सल्लेरी । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् ।

यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि मिसिनुभयो । कुनै समय अवसर खोज्दै विदेश पुग्नुभयो । विसं २०६७ मा रोजगारीका लाग मलेसिया पुग्नुभएका उहाँले त्यहाँ करिब तीन वर्ष पसिना बगाउनुभयो । उहाँलाई लाग्यो, त्यहाँ बगाउने पसिना गाउँमै बगाउन सक्ने हो भने धेरै काम गर्न सकिन्छ । यही सोचले स्वदेश फर्कनुभएका उहाँ यतिबेला गाउँमै माछापालनमा रमाउनुभएको छ ।

“जागिरको खोजीमा म विदेश जाँदिन । एकपटक अञ्जानमा विदेश गइयो । विदेश के रहेछ र त्यहाँको दु:ख के हो भन्ने बुझ्नै मौका पनि मिल्यो”, उहाँले भन्नुभयो, “अहिले स्वदेशमै पुग्दो छ ।” उहाँ माछापालनबाट मासिक सबै खर्च कटाएर रू एक लाख ५० हजार बचत भइरहेको बताउनुभयो । “दैनिक औसतमा रू १५ हजारको कारोबार हुन्छ । त्यसबाट रु पाँच हजार जति बचत हुन्छ”, उहाँले भन्नुभयो ।

सोलुदुधकुण्ड नगरपालिका-४ रोक्दिङमा करिब चार रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरीमा ‘ट्राउट’ माछापालन गर्दै आउनुभएका उहाँसँग अहिले ४० हजारभन्दा बढी माछाका भुराहरु छन् । उहाँले माछापालनका लागि दश वटा पोखरी निर्माण गर्नुभएको छ ।

“विदेशबाट फर्किपछि अन्य काम गरिरहेको थिए । कमाइ पनि ठिकै थियो । कोरोना महामारीका कारण बन्दाबन्दी लागू भएपछि भने आम्दानी ठप्प भयो”, उहाँले भन्नुभयो, “सबै काम ठप्प भएपछि माछापालनको योजना बनाएको हुँ ।” सुरुमा माछापालनको योजना सुनाउँदा धेरैले हुँदैन भन्ने गरे पनि अहिले माछापालनबाट आम्दानी हुन थालेपछि भने प्रसंशा गर्ने गरेको उहाँले सुनाउनुभयो । “सोलु जस्तै चिसो ठाउँमा माछापालन हुन्न भन्ने धेरै थिए”, उहाँले भन्नुभयो ।

राजभण्डारी अहिले दैनिक १८ घण्टासम्म माछापालनमै रमाउनुहुन्छ । विस २०७७ सालबाट सुरु गरेको माछापालनमा हालसम्म रु एक करोड लगानी भइसकेको छ । उहाँले माछापालनसँगै रोक्दिङमा होटल पनि सञ्चालन गरिरहनुभएको छ । माछा खरिद गरी लैजाने भन्दा पनि माछाका परिकार खान आउनेहरु धेरै रहेको उहाँको भनाइ छ । सदरमुकाम सल्लेरीबाट ट्राउट माछा खान आउनेहरु धेरै रहेको उहाँले सुनाउनुभयो ।

फाल्लुका दिनेश राई खोलामा माछा पातलिँदै गएपछि मानिसहरु माछाको स्वाद दिन यहाँसम्म आउने गरेको बताउनुहुन्छ । “माछा खान रुचाउने मानिसहरुको सङ्ख्या बढ्दो छ । तर खोलामा माछा हराउँदै गएका छन् । अब पालेको माछा खालुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

जिल्लामा ट्राउट माछा प्रतिकिलो रु एक हजार छ सयमा बिक्री भइरहेको छ । यहाँ उत्पादन हुने माछा लुक्ला, नाम्चेलगायतका क्षेत्रमा बढी खपत हुने गरेको उहाँको भनाइ छ । चिसो ठाउँमा हुर्किएको माछा उपभोक्ताले बढी रुचाउने गरेको राजभण्डारीको अनुभव छ ।

हाल जिल्लाको अन्य चार स्थानमा पनि व्यावसायिक माछापालन भइरहेको छ । तामाखानी, बेनी, साल्मे, सल्लेरीमा ट्राउट माछापालन भइरहेको हो ।

बजारको चिन्ता छैन

यहाँ उत्पादन हुने माछा जिल्लामै खपत हुने गरेको छ । राजभण्डारी माग नै धान्न नसकिने अवस्था रहेको बताउनुहुन्छ । यहाँ उत्पादन भएका माछाले माग धान्न नसकेर कतिपय होटलहरुमा बाहिरबाट समेत माछा ल्याउने गरिएको उहाँले बताउनुभयो ।

माछापालनमा एउटा समस्या भने छ । माछालाई रातको समयमा वन्यजन्तुहरुले आत्रमण गर्ने गरेको साल्मेका व्यवसायी भानुभक्त श्रेष्ठले सुनाउनुभयो । फार्ममा राति आउने सालकले एकैपटकमा धेरै माछाहरु मार्ने गरेको भाइकाजी राजभण्डरीको भनाइ छ ।

“केही हप्ता अघि मात्रै मेरो फार्ममा एकै पटक एक सयभन्दा बढी माछाहरु टाउको नभएको अवस्थामा भेटिए । हामी अचम्ममा पर्‍यौँ”, उहाँले भन्नुभयो, “पछि सिसी क्यामरा राखेपछि पोखरीको माछा सालकले खाने गरेको भेटियो ।” रातको समयमा खोलाबाट आउने सालकले पोखरीमा प्रवेश गरी माछाको टाउको खाने गरेको पाइएको उहाँले बताउनुभयो ।

सालकले माछाको टाउको मात्रै खाने गरेको व्यवसायी कमल मगर बताउनुहुन्छ । राजभण्डारीले सिसि क्यामेरामा साइरन जडान गरेको र केही वस्तु पोखरीमा छिर्ने वित्तिकै साइरन बज्ने गरेको सुनाउनुभयो । माछापालनमा वर्षातको समयमा आउने भलले पनि समस्या हुने गरेको छ ।

जिल्लामा ट्राउटका लागि आवश्यक दाना ढुवानी चुनौतीपूर्ण छ । जिल्लामा दाना उत्पादन नहुने र दानाका लागि काठमाडौँबाट ल्याउनुपर्ने हुँदा महंगो पर्ने गरेको छ । काठमाडौँबाट दाना आयात गर्दा प्रतिकिलो रू दुई सय ६६ पर्ने गरेको छ । रासस