• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

माओवादी सांसदको प्रश्न: प्रतिपक्ष दलहरुको धर्म सरकारको बिरोध गर्नु मात्रै हो र ?



काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले प्रतिपक्ष दलहरुको धर्म सरकारको बिरोध मात्रै गर्नु हो र ? भनि प्रश्न गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारले सिंगो मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजाना खोज्दा पनि प्रतिपक्षहरुले बिरोध गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । सांसद पार्कीले सरकारले सत्ता र शक्तिको वरिपरी घुम्ने दलाललाई पनि पाखा लगाएको दाबी गर्नुभयो । उहाँले भ्रष्टहरुलाई विदेश भाग्न बाध्य बनाउने काम पनि गरिरहेको भन्दै सरकारको बचाऊ गर्नुभयो । सांसद पार्कीले राजनीतिक भ्रष्टिकरणलाई पनि सरकारले पाखा लगाउने काम गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘प्रतिपक्षको धर्म विरोध मात्रै गर्नु हो त ? विगतमा जति पनि सरकार बने । त्यो सरकार बन्ने र भत्किने जुन काम भयो । अहिलेको जुन गठबन्धनको सरकार बनेको छ । त्यो सरकारले वास्तवमा भन्ने हो भने संविधान र यो व्यवस्थालाई पनि अझ मजबुत बनाउने, यो व्यवस्थालाई स्थायित्व दिने गरेर जुन सम्माननीय प्रधानमन्त्रीज्यूले स्टेप चाल्नु भएको छ । के यो ऐतिहासिक काम छैन र ? जुन उहाँले सुशासनको थालनी गर्नुभएको छ । वास्तवमा त्यो भ्रष्टाचार बिरोधी अभियान मात्रै होइन, नेपाली समाजमा देखा परेको जुन विभिन्न खालका प्रवृत्तिहरु छन् । त्यसबाट नेपाली समाज, नेपालका राजनीतिक र विभिन्न खालको तह र तप्काका मान्छेहरुलाई सकारात्मक सोचको विकास गर्ने ठाउँमा त्यसले पुर्‍याएको छ । राजनीति भित्र जुन खालको भ्रष्टिकरण देखापरेको थियो ।’

‘त्यो भ्रष्टिकरणलाई रोक्ने काम यसले गरेको छ । हिजो दलालहरु मन्त्रालयको वरिपरी, सत्ता र शक्तिको वरीपरी घुमिरहन्थे, आजको अवस्था के छ ? के यो घामजत्तिकै छैन र ? सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले के आज दलालहरु सत्ता र शक्तिको वरीपरी घुम्ने चाहीँ वातावरण बनेको छ ? र आज देशमा होइन, उनीहरु विदेशमा भाग्नुपर्ने अवस्था छ । र सबै राजनीतिक पार्टीहरुले चुनाव लडदाखेरी जति पनि पैसा खर्च गरेर जित्ने अवस्था थियो । ती मान्छेहरुलाई पनि आजको सरकारले सोच्न बाध्य बनाएको छ । करोडौं खर्च गरेर सांसद, मन्त्री भएपनि त्यो पैसा असुल गर्न पाईदैन भन्ने कुरा पनि सरकारले सिकाएको छ । मैले भन्न खोजेको के हो भने जुन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा जुन सरकार बनेको छ । त्यसले सिंगो राष्ट्रलाई एउटा सुशासनतिर, समृद्धितिर र राष्ट्रि एकतातिर लैजान जुन खोजिराखेको छ । त्यसको हामीले स्वागत गर्न चाहन्छौ । ’

सांसद पार्कीले मुलुकलाई सुशासन, समृद्धिको बाटोमा अघि बढाउने काम गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार समेत व्यक्त गर्नुभयो ।