• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने

तापक्रम घटेपछि चीनमा गम्भीर मौसमी चेतावनी



बेइजिङ । चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि बुधबार गम्भीर मौसमी चेतावनी दिइएको छ ।

अधिकारीहरूले मुलुकको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम शुक्रबार छदेखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले केही क्षेत्रमा तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घट्नसक्ने सामाजिक सञ्जालमा बताएको छ ।

सरकारी समाचार समिति सिन्ह्वाले एनएमसीले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, जनतालाई न्यानोमा बस्न सल्लाह दिएको र बाली र जलीय उत्पादनको सुरक्षाका लागि आवश्यक उपाय गर्न आग्रह गरेको बताएको छ ।

बुधबार तापक्रम शून्यको नजिक रहेको बेइजिङमा रातभर हिमपात भएको छ । मानिसहरूले बिहान उठ्दा राजधानी सेतो रङले ढाकिएको देखेका थिए ।

सहरका राजमार्गहरूमा यातायात सुस्त भएको छ भने यात्री र साइकल चालकका लागि हिउँले भरिएका फुटपाथ जोखिमपूर्ण भएका छन् ।

नगरपालिकाका अधिकारीहरूले केही उपनगरीय क्षेत्रमा चार दशमलव एक सेन्टिमिटरसम्म हिमापात भएको बताएका छन् । उनीहरूले हिउँ परेका सडकहरूमा चेतावनी जारी गरेका छन् ।

“आफ्नो भ्रमण कम गर्नुहोस्, सार्वजनिक बस र सबवेको प्रयोग गर्नुहोस् र आफ्ना कारहरूलाई विस्तारै चलाउनुहोस्, सुरक्षामा ध्यान दिनुहोस्”, सहर सरकारले मङ्गलबार साँझ अनलाइन विज्ञप्तिमा बासिन्दाहरूलाई सिफारिस गर्दै भनेको छ ।