• ७ श्रावण २०८१, सोमबार
  •      Mon Jul 22 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान ★   अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो ★   मधेश र कर्णालीबाहेकका प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   चौतर्फी दबाबपछि अमेरिकी राष्ट्रपति दौडबाट पछि हटे बाइडेन, कमला ह्यारिसलाई समर्थन ★   एसिसी महिला एसिया कप: पाकिस्तानसँग नेपाल नौ विकेटले पराजित ★   काठमाडौंमा चिनियाँ जनमुक्ति सेनाको ९७ औं स्थापना दिवस ★   गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरू पूर्णिमा ★   ‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’ ★   मैत्रीपूर्ण भलिबलमा रसियासँग नेपाल सोझो सेटमा पराजित ★   प्रहरी वृत्त नयाँबानेश्वरलाई एभरेस्ट अस्पतालबाट प्राथमिक उपचारको सामग्री

हामीलाई सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ: राष्ट्रपति



पाँंचथर: राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ । पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० को उदघाट्न गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

“हामीले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहन्छौ”, पौडेलले भन्नुभयो, “यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर हैन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ । सबैलाई एकतावद्ध गरेर बन्छ । सबैलाई बराबरी सम्मान दिएर बन्छ । आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वासको हैन, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र हामी सबै सबल हुनेछौ ।” उहाँले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यवद्धता देख्न सकिने पनि उल्लेख गर्नुभयो । “हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदिप्तछ छौं” पौडेलले भन्नुभयो, “यो भूमी हाम्रा विभूती महागुरु फाल्गुनन्दको भूमी हो र महागुरु फाल्गुनन्दले आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत संस्कृतिको उत्थान तथा संरक्षणको लागि यही साधना र संघर्ष गर्नु भएको थियो । उहाँको योगदानले हाम्रो समाज र सभ्यतालाई ठूलो योगदान पुगेको छ ।

उहाँले स्थापना गर्नुभको ‘सत्य धर्म मुचुल्का’ को नीति र धर्म सन्देशले हामीलाई मार्गदर्शन गरिरहने छ ।” उहाँले अगाडि भन्नुभयो, “यी सबै हाम्रा हुन् । यी साझा सभ्यता र संस्कृतिले हामीलाई समन्वय, सामञ्जस्यता, एकता, सद्भाव र उदारता सिकाएका छन् । किनभने यी एक जातिका वा धर्मका स्रोत होईनन् । वेद हामी सबैको हो । मुन्धुम हामी सबैको हो । त्रिपिटक हामी सबैको हो । हामी अनेक जात, संस्कृति, सम्प्रदायमा छौं । तर सबै हामी नै हौं र, ति सबैको एकता, समभाव र सहअस्तित्वनै हाम्रो मुख्य परिचय हो ।”

राष्ट्रपति पौडेलले हामी सबै भएकैले सप्तरंगी र पूर्ण भएको पनि बताउनुभयो । “हामी सबै छौ, त्यसैले सप्तरंगी छौं, बगैँचाजस्तो । हामी अनेक रंगमा छौ, त्यसैले हाम्रो सभ्यता ईन्द्रेणीझंै सुन्दर छ । ईन्द्रेणीको एउटा रंग निकाल्ने हो भने जसरी त्यो ईन्द्रेणी ईन्द्रेणी हुँदैन, त्यस्तै हाम्रो साझा र एकतावद्ध सभ्यताबाट एउटा रंग निकाल्ने हो भने, हाम्रो सभ्यता अधुरो हुन्छ”, राष्ट्रपति पौडलेको भनाई थियो, “त्यसैले मलाई लाग्छ, हामी सबै छाै, त्यसैले पूर्ण छौं । त्यसैले नेपाल पूर्ण छ । यही नै हाम्रो पहिचान हो । यहीनै हाम्रो सभ्यता हो । यहीनै हाम्रो भव्यतम् संस्कृति हो ।” यो कुरालाई स्विकार गरेपछि मात्र हामी एक मौलिक, सवल, समावेशी र अग्रगामी राज्यनिर्माण गर्न सक्ने स्पष्ट पार्र्दै उहाँले भन्नुभयो, “नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले यही मूल आदर्श र मर्मलाई आत्मसाथ गरेको छ ।” यो अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकतावद्ध र समन्वयात्मक हुन आह्वान गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “म संविधानको त्यही मर्म र भावनाबाट अघि बढ्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अपिल गर्न चाहन्छु ।” राष्ट्रपति पौडेलले देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको बताउँदै भन्नुभयो, “त्यसका लागि पहिलो खाँचो सुशासनको छ । म त्यही एजेण्डामा आज पनि उभिएको छु । र, हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । यीनै विषयमा हाम्रो शिक्षा केन्द्रित हुनुपर्छ ।”

उहाँले हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, वायो डाइभर्सिटी छ त्यसलाई हामीले चिन्न नसकेको बताउँंदै भन्नुभयो, “हामी फोस्रा नारामा बढी बहकियौं । कुन उचाई र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौं । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौं ।” “ हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरौं । गाऊँमै रोजगारी र आम्दानी आउँछ । बसाई सराई रोक्न र जिल्लामै गुणस्तरीय उच्च शिक्षा दिलाउनका लागि पाँचथर बहुमुखी क्याम्पसले बहुधार्मिक र आध्यात्मिक महोत्सवको आयोजना गरेर प्रशंसनीय कार्य गरेको छ”, उहाँले भन्नुभयो । सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरुपको शिक्षा नीति, पाठय्क्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा प्रदान गर्नेतर्फ अबका हाम्रा कदमहरू केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।