• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

वेस्ट इन्डिजले ३७ रनले जित्यो तेस्रो टी–२०, सिरिज भने अष्ट्रेलियालाई



एजेन्सी । तीन खेलको टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३७ रनले पराजित गरेको छ । यस पराजयको बावजुद अष्ट्रेलियाले सिरिज २–१ ले जित्यो ।

मंगलबार पर्थमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले अस्ट्रेलियालाई २२१ रनको लक्ष्य दिएको थियो । जवाफमा अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन मात्रै बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र शेर्फेन रदरफोर्डले अर्धशतकीय पारी खेले । यी दुईबीच छैटौं विकेटका लागि ६७ बलमा १३९ रनको साझेदारी भयो । यो टी–२० इतिहासमा छैटौं विकेटको लागि सबैभन्दा ठूलो साझेदारी हो। यसअघिको कीर्तिमान पोलार्ड र फाबियन एलेन (८४ रन)को साझेदारीको नाममा थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि रसेलले सर्वाधिक ७१ रन बनाए । उनले २९ बलको इनिङ्समा ४ चौका र ७ छक्का प्रहार गरे । शेर्फेन रदरफोर्डले ४० बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ६७ रनको इनिङ खेले ।

आयोजक अष्ट्रेलियाका लागि बार्टलेटका अलावा जेसन बेहरेनडोर्फ, स्पेन्सर जोन्सन, आरोन हार्डी र एडम जाम्पाले एक एक विकेट लिए ।

२ सय २१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाका लागि डेभिड वार्नरले अर्धशतक प्रहार गरे । वार्नरले तीन खेलको शृङ्खलामा कुल १७३ रन बनाए र प्लेयर अफ द सिरिज घोषित भए । उनले ४९ बलमा ८१ रनको इनिङ खेले। उनी बाहेक टिम डेभिडले १९ बलमा ४१ रन बनाए ।

वेस्ट इन्डिजका रोमारियो शेफर्ड र रोस्टन चेसले २–२ विकेट लिए । अकिल हुसेनले एक विकेट लिए ।