१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

धितालका ‘जनयुद्धकालीन डायरी’

धितालका ‘जनयुद्धकालीन डायरी’
अ अ+ अ-

काठमाडौँ : पत्रकार एवं साहित्यकार मनऋषि धितालका जनयुद्धको समय (विसं २०५९ देखि २०६३) सम्मको यात्राका डायरीहरु (जनयुद्धकालीन डायरी) समावेश सात पुस्तक आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्नुुभएको छ ।

लेखक धितालले यी डायरीलाई जेल र युद्ध क्षेत्रमा बिताएका हरेक दिनका एकाउन्ट भएको बताउनुभएको छ । ‘जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्ग यात्रा, पिलीयात्रा र गण्डकयात्रा तथा गुफा प्रेसका चिठी’ का नाममा ती डायरी सार्वजनिक भएका हुन् ।

उहाँले साङ्केतिक रुपमा २०६० सालमा सहिद भएका चन्द्रबहादुर गुरुङ दिपेशकी छोरी दीपशिखाको हातबाट प्रधानमन्त्री प्रचण्डलाई पुस्तक हस्तान्तरण गराएर विमोचन गराउनुभयो । पत्रकार धितालले दिपेशलाई भेट गर्दा दीपशिखा गर्भमै हुनुहुन्थ्यो । बुबा चन्द्रबहादुर सुरक्षाकर्मीबाट मारिएको केही महिनामा उहाँ जन्मनुभएको हो ।

सहिद चन्द्रबहादुर गुरुङ (दिपेश) ‘अर्वान गुरिल्ला’ हुनुहुन्थ्यो । मुख्य सहरमा गएर उहाँले कारबाही चलाउनुहुन्थ्यो । उहाँकी श्रीमती संविधानसभा सदस्य सीता पौडेलसँग लेखक धितालले पनि यात्रा गर्नुभएको थियो । त्यो बेला उहाँ गर्भवती हुनुहुन्थ्यो ।

पत्रकार धितालले भेटेको एक हप्ताभित्रै २०६० सालमा दिपेश सुरक्षाकर्मीबाट मारिएका थिए । बुबाको निधन भएको केही महिनामा दीपशिखा गुरुङको जन्म भयो । त्यही कारण लेखकले सहिदकी छोरीका तर्फबाट युद्धको सम्पत्ति भनौँ या युद्धको साहित्य अध्यक्ष वा राष्ट्रको कार्यकारी प्रमुखलाई हस्तान्तरण गरेर एउटा नयाँ सन्देश दिनुभएको छ ।

त्यो जनयुद्धको सन्देश दोस्रो पुस्ताले पनि प्राप्त गरोस् भन्ने सन्देश आजको यस विमोचन कार्यक्रमबाट पनि दिन खोज्नुभएको हो । एउटा पुस्तकमा दिपेशसँग भएका कुराकानीका सन्दर्भ समेत लेखकले समावेश गर्नुभएको छ । पुस्तकमा लेखकले २०५९ सालदेखि २०६३ सम्मको यात्रा विवरणलाई समावेश गर्नुभएको छ ।

पुस्तक सार्वजनिकीकरणका क्रममा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आज फागुन १ गते जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा कठिन र चुनौतीपूर्ण त्यो परिस्थितिको स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने बोध गरी सातवटा पुस्तक एकैसाथ सार्वजनिक गरेकामा लेखकलाई धन्यवाद दिँदै खुसीसमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सबैभन्दा पहिले मनऋषि धिताललाई धन्यवाद भन्न चाहन्छु, तपाईले इतिहासलाई जीवन्त राख्न र भावी पुस्तालाई इतिहासको अनुभव र अनुभूति प्रत्यक्षरुपमा सञ्चय गर्न मेहनत गर्नुभयो र ऐतिहासिक दिनमा ऐतिहासिक पात्रका माध्यमबाट पुस्तक जसरी हस्तान्तरण गर्नुभयो, यो विशिष्ट र विशेष पनि छ ।”

राजनीतिक दृष्टिकोणले पहिलो वार्ता भङ्ग भएपछि सङ्कटकाल प्रारम्भ भएको थियो । त्यसै दिन जनादेश र जनदिशा दैनिकका पत्रकार समातिएका थिए । त्यो गिरफ्तार हुनेमध्येका एक दस्ताको सदस्य मनऋक्षि धिताल पनि हुनुहुन्छ ।

पुस्तकका सम्पादक राजकुमार कुँवरका अनुसार उहाँले हिरासतकालमा खासै लेख्न सक्नुभएको देखिँदैन । उहाँले जेल बसेको झण्डै एक वर्षको अवधिमा छ महिनापछि मात्रै लेख्न थाल्नुभएको थियो । यहाँ जेलका चार-पाँच महिनाका सन्दर्भहरु मात्र समावेश छन् ।

लेखकले दोस्रो वार्ता भएपछि पहिलो कर्णाली यात्रा सुरु हुँदा यात्रासँगै डायरी लेखन पुनः सुरु गर्नुभएको थियो । विसं २०५९ पछिको पाँच वर्षे आफ्नो डायरीलाई पुस्तकका रुपमा उहाँले ल्याउनुभएको छ ।

अध्यक्ष प्रचण्डलाई पुस्तक हस्तान्तरणपछि रासससँग कुरा गर्दै दीपशिखाले भन्नुभयो, “म त निकै गम्भीर भएँ । हामीलाई पनि कसैले भुलेका रहेनछन् भन्ने महसुस भयो, सहिद परिवारका बच्चालाई बिर्सिएको रहेनछ भन्ने पनि सोचेँ ।”

दिपेशकी श्रीमती सीता पौडेलले बुबा भन्ने थाहा नै नपाएको सहिदका सन्तानमार्फत देशको प्रधानमन्त्रीलाई हस्तान्तरण हुनु नै गर्वको विषय भएको बताउनुभयो । उहाँले आफू पनि गण्डक यात्रामा कार्यरत रहँदा धितालसँग भेट भएको स्मरण गर्नुभयो ।

उहाँले रासससँग भन्नुभयो, “दिपेश जनसेनाको कमाण्डर रहेका बेला नै धितालसँग चिनजान भएको रहेछ, उहाँहरु बीच भेटघाटमा जुन कुराकानी रहेको छ । त्यो नै यसमा उतार्नुभएको छ । उहाँ सहिद भएपछि लेखकले मलाई भेट्नुभयो । मनऋषि दाइले चिठी पनि सान्त्वना र प्रेरणा दिने गरी लेख्नुभएको थियो । त्यही भेटका कुराहरु यहाँ रहेको मैले ठानेको छु ।”

उक्त पुस्तक राजकुमार कुँवरले सम्पादन गर्नुभएको हो । उहाँले भन्नुभयो, “यो जनयुद्धलाई सौन्दर्यकरण गर्ने, जनयुद्धको बलिदानलाई सम्मान, सहिद, बेपत्ता र घाइतेको रगत र आँसुका डोबलाई लिपिबद्ध गर्ने ऐतिहासिक दस्तावेज हो । अलिखित रुपमा रहेका सामग्रीलाई पाठकले कथा कहानी बनाएर पढ्नुभन्दा प्रत्येक दिन के भएको थियो भन्ने घटनाक्रमसहित प्रस्तुत गरिएकाले यो दस्ताबेज हो भन्ने मेरो दावी छ ।”

उहाँले ११ महिना लगाएर कृति सम्पादन गर्नुभएको थियो । उहाँले थप्नुभयो, “जुनजुन भाग र पानामा सम्पादन गर्न प्रवेश गरेँ, त्यही दिनको जनयुद्धमा प्रवेश गरेझैँ भयो । यी सातवटै दस्तावेजमा त्यो समयका जीवन्त चित्र रहेको पनि उहाँले बताउनुभयो ।

लेखक धितालले जेल परेदेखि आफू काठमाडौँ आएसम्मको र अध्यक्ष प्रचण्डसँग पहिलो पटक हेटौँडामा भेटेसम्मका विषय समावेश रहेका र यी सबै विषय सत्यमा आधारित रहेको बताउनुभयो । आफूले भेटेको एक हप्ताभित्रै रुपन्देहीमा मारिएका र केही महिनामा दीपशिखाको जन्म भएकाले दोस्रो पुस्ताले पुस्तक हस्तान्तरण गरेर नयाँ अभ्यास गरेको उहाँको भनाइ छ ।

किताबभित्रका प्रायः नायक आजको सो कार्यक्रममा देखिएका लेखक धितालको भनाइ थियो । झण्डै दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म ती पुस्तकमा समेटिएका व्यक्ति नै नायक रहेका उहाँको भनाइ थियो । उनीहरुका बारेमा एक बाक्यदेखि कयौँ पेजसम्मका कुरा र अनुभूति पुस्तकमा सङ्ग्रहित छन् । लेखक धितालले नौ महिनामा आफूले यी तयार पारेको जानकारी पनि दिनुभयो । पुस्तक छाप्न आर्थिकरुपमा अप्ठेरो अवस्था हुँदाहुँदै पनि साथीहरुबाट सहयोग प्राप्त भएको पनि बताउनुभाये ।

उहाँले भन्नुभयो, “जनयुद्धको म एकजना साक्षी थिएँ भन्ने विषयमा मसँग जे चिजहरु थिए, ती आज सर्वाेच्च कमाण्डर कमरेड प्रचण्ड र मलाई फौजी क्षेत्रमा अघि बढाउने प्रभाकरका अघि सार्वजनिक गर्न र हस्तान्तरण गर्न पाएकोमा खुसी छु ।” कार्यक्रममा माओवादी नेता दिनानाथ शर्मा, प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्य, पत्रकार ओम शर्मालगायतको सहभागिता थियो ।

कुन डायरीमा के छ ?

जेलयात्रा : यसमा जेलभित्र रहँदाको विवरण समेटिएको छ । आस्थाका बन्दीहरुको अवस्था कस्तो थियो भन्ने विषयका साथै उनीहरुमाथि भएका यातनाका विवरण पनि यसमा समावेश छन् ।

विशेष गरी जेल यात्रामा कृष्णसेन इच्छुकका बारेमा बढी राखिएको छ । लेखक धितालका अनुसार आफूहरु जेलमा परेका बेलामा उहाँको हत्या भएको थियो । उहाँहरु २०५८ मङ्सिर ११ मा जेल पर्नुभएको थियो । विसं २०५९ कात्तिक ५ गते रिहा हुनुभएको थियो । पुस्तकमा त्यसबीचका घटना र सन्दर्भहरु छन् । यो पुस्तक २८८ पृष्ठको छ ।

बेनीयात्रा : म्याग्दीको बेनीमा भएको द्वन्द्वको अगाडि र पछाडिका यात्राका विवरणहरु यसमा समावेश छन् । विसं २०६० मा बेनीमा लडाइँ भएको थियो । त्यही वरिपरिका विवरण यसमा रहेको लेखकले बताउनुभयो । जेलबाट छुटेपछि केही समय शान्तिपूर्ण अवस्था रहेको थियो । युद्धविराम भङ्ग हुने बेलामा माओवादीहरु भ्ूमिगत भए । पत्रकारिता पनि भूमिगत गर्नुपर्ने अवस्था भयो । त्यसका लागि भूमिगत ठाउँमै प्रशिक्षण गरिएको थियो । त्यो र आफैँ युद्ध क्षेत्रमा गएर गरिएका रिपोर्टिङ र बेनी लडाइँका विषय यसमा रहेका उहाँले बताउनुभयो । उहाँ बेनी लडाइँका बेलासँगै भएको सुनाउनुभयो । यो पुस्तक ३४४ पृष्ठको छ ।

आधारयात्रा : त्यो बेला माओवादी केन्द्रका ‘सुप्रिमो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ आधार क्षेत्रभित्रै हुनुहुन्थ्यो । त्यही बेला धिताल पनि सोही आधार क्षेत्रमा भएका समयका यात्राका विवरणहरु यसमा समेटिएका छन् । क्रान्तिकारीले आफ्नो मिडिया स्थापना गर्ने नीति लिएपछि जनरेडियो खुल्न थाले र जनादेश पत्रिका भूमिगत भयो । जनादेशको पहिलो चरणको अड्डा कानपुर लखनउ भएपछि जनादेशसम्म जाने र रिपोर्टिङ गर्न आउनेसम्मको खण्ड यस आधारयात्रामा रहेको छ । यो पुस्तक ४२४ पेजको छ ।

राजमार्गयात्रा: त्यो बेला माओवादीका लडाकुहरु तराईका राजमार्ग बाँके, बर्दिया, कैलाली कञ्चनपुरको राजमार्गलाई नै कब्जा गरेर खुलम्खुला बसेका थिए । त्यसबेला राजमार्गमा गणेशपुर घटना भएको थियो । जनसेनाका कमाण्डर जितको गणेशपुरमा मृत्यु भएको थियो । अर्काे धनगढी कारागार कब्जा गरेर माओवादीका सेनाले युद्धबन्दीहरुलाई आफैँले रिहा गरेर ल्याएका थिए । त्यही घटना र राजमार्गका डायरीहरु यसमा समावेश रहेको छ । उक्त पुस्तक राजमार्गमा खुला मार्च गरेर सेनालाई बाहिर बोलाएर गरिएको रणनीतिक प्रत्याक्रमणको दस्तावेज हो । यो ३४४ पेजको छ ।

पिलीयात्रा : पिली लडाइँ वरिपरि अगाडि र पछाडिका यात्राहरु समावेश रहेको छ । राजनीतिक प्रशिक्षण पिलीको लडाइँ र त्यस आसपासका यात्राहरु रहेको यो २०६१ साल पछिको अवस्था हो । यो रणनीतिक प्रत्याक्रमणको युद्ध दर्शनलाई व्यक्त गर्ने दस्तावेज हो । यो पुस्तक ३६८ पेजको रहेको छ ।

गण्डकयात्रा : २०६२ सालको जनयुद्धको अन्त्यतिरको १०० दिनका विषयवस्तु यसमा छन् । वैशाख ९ को परिस्थिति परिवर्तन भएपछि शान्तिपूर्ण स्थिति पनि थियो । युद्धविराम भइसकेको त थिएन तर दोस्रो जनआन्दोलनले एक खालको शक्ति सन्तुलनको अवस्था बनिसकेको थियो ।

त्यसबेलामा गण्डकयात्रामा जनसेनाका चार ओटा डिभिजन थिए । विशेष गरी पाल्पा अर्घाखाँची, तनहुँ, नवलपरासी क्षेत्रमा चार डिभिजन थियो । त्यो बेला जनआन्दोलन र जनयुद्ध एकै ठाउँमा मिश्रण भएको जस्तो देखिएको समयको यात्रा लेखकले यसमा स्मरण गर्नुहुन्छ ।

त्यसैलाई समावेश गरिएको समग्र विवरण हो गण्डक यात्रा । यो नेपाली समाजले लोकतान्त्रिक गणतन्त्रमा कसरी सङ्क्रमण ग¥यो भन्ने कुराको ऐतिहासिक दस्तावेज भएको सम्पादक राजकुमार कुँवर बताउनुहुन्छ । यो पुस्तक ४२४ पेजको रहेको छ ।

गुफा प्रेसको चिठी : लेखकका अनुसार यो पुस्तक भूमिगत अवस्थामा पत्रकारिता गर्दा जनादेशका पाठक, जनादेशका सम्पादक र संवाददाताले पत्राचार गरेका चिठीहरुको सङ्कलन हो । यसमा सहिद कृष्णसेन इच्छुकले आफ्नो परिवारका सदस्य श्रीमती, साथीहरुलाई पठाएका चिठीहरु पनि समावेश गरिएको छ ।

यसका साथै भूमिगतकालमा माओवादीले रेडियो सञ्चालनका लागि तयार पारेको निर्देशिका र भूमिगतकालमा भूमिगत पत्रकारिता कसरी गर्ने भनेर पार्टी अध्यक्ष प्रचण्डलाई दिइएका सुझावहरु पनि यसमा राखिएका छन् । “यो चाँहि अध्ययन अनुसन्धानका लागि सजिलो होस् भनेर समावेश गरेको हुँ”, लेखक धितालले रासससँग भन्नुभयो । यो पुस्तक २५६ पृष्ठको छ ।रासस