गलेश्वर । उप्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउलागेको कुँवामा पातैपात । बाटैमा भेटिने बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका–२ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो ।
गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि जिल्लाका प्राय: सबै ठाउँका पुराना गोरेटो बाटो र बिसाउने चौतारीका अवस्था यस्तै छ । सडकका कारण गाउँ पुग्ने गोरेटा बाटा नासिएका छन् । सडकबाटै मानिस आवतजावत गर्ने भएपछि मर्मतसम्भारको अभावमा गाउँ पुग्ने गोरेटो बाटा भत्किएका छन् भने कतिपय बाटोको त नामोनिसान पनि मेटिएको छ ।
“गोरेटो बाटोको नामोनिसान छैन । जताततै मोटर गुड्न थालेपछि यात्रुले थकाइ मेटाउने चौतारी तथा बिसाउनी नसिएका छन् । कँुवा, धारो र पँधेरा देखिन छोडेका छन्”, खबराका यामबहादुर घिमिरे भन्नुहुन्छ, “वनजङ्गल पनि उराठलाग्दो बनेका छन्् । मानिस आउन छोडेपछि जङ्गल त घना भएको छ । घाँस दाउरा र स्याउला, प्रयोग गर्न छोडेपछि त जङ्गलको बाटो हिँड्न पनि उराठलाग्दो छ ।”
गोरेटो बाटो नासिँदै गएपछि गाउँको सुन्दरता र मानिसबीचको आत्मीयता पनि कम हुँदै गएको खबराका चन्द्रबहादुर कार्की बताउनुहुन्छ । “डिम्मराको उकालो उक्लेर गौडालाउनेको चौतारीमा पुगेपछि आँत हरर्र हुन्थ्यो । यहाँको सितल हावा र चिसो पानीले बेनीदेखि उकालो बाटो हिँडेर गौडालाउनीसम्म आइपुग्दाको दु:ख बिर्साउदथ्यो”, उहाँ भन्नुहुन्छ, “बाटो हिँडेर घरमा आउजाउ गर्दा, बाटोमा भेटिएका दौतरीसँग दु:खसुखको कुरा गर्दै हिँड्दा, अनि साँझमा घर आएर महीसँग मकै चपाउँदाको आनन्द अब कहाँ पाउनु ?”
गाउँ गाउँमा पुगेका सडकका कारण गाउँलेलाई सुविधा र सास्ती दुवै मिलेको बताउनुहुन्छ, मालिका गाउँपालिका वडा नं २ का टेकबहादुर विक । “बस्ती बस्तीमा गाडी आउँछ, दरबाङ, बेनी जहाँबाट मगायो त्यहीँबाट सामान घरको आँगनमा नै ल्याइपुर्याइदिन्छ । बिरामी हुँदा अस्पतालसम्म गाडी चढेरै जान पाइन्छ यो त राम्रो हो”, विक भन्नुहुन्छ “तर, वर्षामा भने न गाडी आउँछ न माटो बग्न रोक्निछ । पहिरोले उठिबास लगाउने डर हुन्छ ।”
वातावरणीय मूल्याङ्कन नगरिकन जथाभावी खनिएका ग्रामीण सडकले गाउँको सौन्दर्य त नास भएको छ नै, भूस्खलन र बाढी पहिरोको जोखिम पनि बढाएको छ । भिरालो भूगोलमा भएका गाउँ थप जोखिममा परेका छन् । ती गाउँसम्म जाने गोरोटो बाटो नासिए पछि गाउँलेलाई घुमाउरो बाटो प्रयोग गरेर गाउँसम्म पुग्नुपर्ने वाध्यता छ । “सडक खन्दा घुमाउरो ९नागबेली० पारेर खन्छन्, गाउँका खोल्सा खाल्सी, सत्तल, पाटी, चौतारो, कुवा, गोरेटो केही पनि बचेनन्”, धौलागिरि गाउँपालिका ५ मल्काबाङका कर्म छन्त्याल भन्नुहुन्छ, “गाडी चढेर गाउँमा नौला मान्छे त आउँछन् तर सहर बजार झरेका आफन्तलाई भेट्न चाडपर्व नै कुर्नुपर्दछ ।”
सडकले गोरेटो बाटो मासेपछि वस्ती पनि टाढा टाढाजस्ता भएका छन् । पहिला छोटो गोरेटो बाटो प्रयोग गरेर एक गाउँदेखि अर्को गाउँमा पुग्न सकिन्थ्यो तर अब गोरेटो बाटो नै नरहेपछि सडक हुँदै जाँदा घुमाउरो हुन्छ । चाहेको बेलामा छिमेकीकहाँ पुग्न पनि नसकिने अवस्था भएको उहाँको भनाइ छ । सडकले गोरेटो बाटो मात्रै मासेको होइन, ग्रामीण पहिचान बोकेका अनेकौँ सम्पदा पनि नासिएका खबराका चन्द्रबहादुर कार्की उल्लेख गर्नुहुन्छ ।
उहाँ बेनी ज्यामरुककोटको गोरेटो बाटो नासिएपछि राजा भर्तिवम मल्लका अङ्गरक्षकले हातहतियार उधाउने बञ्चरेढु्गा अस्तित्वविहीन भएको छ भन्नुहुन्छ । भर्तिवम मल्लले पानी खाने गरेको राजकुवा अहिले पुरिने अवस्थामा पुगेकाले स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीको पहलमा संरक्षणको प्रयास गरिए पनि त्यो प्रयास पर्याप्त नभएको कार्कीको भनाइ छ ।
यस्तै त्यसबेलाका राजा र उनका सहयोगी शिकार खेल्न जाँदा आराम गर्ने गरेको कैडा लाउनेको चौतारो अवशेषका रुपमा रहेको र अहिलेसम्म मर्मत गर्नेतर्फ कसैको ध्यान नपुगेको स्थानीय बूढापाका बताउँछन् । “नासिएर गएका सम्पदालाई फिर्ता ल्याउन नसके पनि यहाँको इतिहाससँग जोडिएका बचेको प्राकृतिक सम्पदा संरक्षण हुन नसक्नु ज्यादै दु:खद् कुरा हो, इतिहासको संरक्षण गर्न सकिएन भने भोलिको पुस्ताले हामीलाई सराप्ने छ”, स्थानीय सोही ठाउँ निवासी टीकाबहादुर कार्की गुनसो गर्नुहुन्छ ।
गोरेटो बाटो (पदमार्ग) मासिएपछि घोडेपानी पुनहिलजस्ता पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या पनि घट्दै गएको र उनीहरुको बसाइ पनि कम हुँदै गएको छ । पर्यटक घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नु नै मानिएको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोका कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको घोडेपानीका पर्यटन व्यवसायी क्या डमबहादुर पुन बताउनुहुन्छ । “पर्यटक यहाँ गाडी चढ्न र पिज्जा, बर्गर खानमात्र आउने होइनन्, रमणीय डाँडाकाँडा र पहाडमा पदयात्रा गर्न आउने हुन्, अब सडक नै सबै पदमार्गलाई विस्थापित गर्दै खनिएका छन्, कच्ची सडकमै पर्यटकलाई धुलो धुँवा खुवाएर हिँडाउनुपर्छ, यो उनीहरूलाई मन पर्ने कुरा भएन”, उहाँको गुनासो छ ।
एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन् । ती वडामध्ये धौलागिरि गाउँपालिका–१ गुर्जाबाहेक अरु सबै वडाका बस्तीमा सडक पुगेको छ । रासस