८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दरबार हत्याकाण्डबारे भ्रम फैलाएर हामी माथी आक्रमण भयो: पूर्वराजा शाह

दरबार हत्याकाण्डबारे भ्रम फैलाएर हामी माथी आक्रमण भयो: पूर्वराजा शाह
अ अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विकास र उत्थानका लागि आफै लाग्नुपर्ने बताउनुभएको छ । शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको समस्याको निराकरण आफैले गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ – हामीमाथि आह्वान पनि छ । म भन्छु — हामी हाम्रा पुर्खाको पौरख नभुलौं, हामी, यही बसौं , यही आफ्नो जन्भभूमीका लागि मरिमेटौं । हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण – हामी आफैबाट हुने हो। अरुले आएर गरिदिने हैन ।’

अहिले हिमाल, पहाड र तराईं उजाड बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पूर्वराजा शाहले आफ्नो घर उजाड पारेर अरुको उन्नतीमा आफ्नो श्रम पसिना लगाउने अब बेला नभएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘आफ्नो घर उजाड पारेर अरुको उन्नतीमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो । आफ्नो क्षमता, आफ्नै घरद्वार, आफ्नै गाउँबस्ती र आफ्नै बनाउनेतिर अब हामी लाग्नै पर्छ । यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठः

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट
वीरगंजमा बक्सेको सम्बोधन

उपस्थित महिला तथा सज्जनवृन्द,

तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ। हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जाउ फाँट — हामी नेपालीका लागि यो भूमिको अर्कै ठूलो मूल्य र महत्व छ।गौरबशाली इतिहास बोकेको, उद्यम इलम उत्पादन व्यवसाय, बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेशको छुट्टै पहिचान पौरख र प्रतिष्ठा छ।

हामी देखिरहेका छौं , भोगिरहेछौं — दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र, हाम्रो यो उर्वर मधेश भूभाग आज उजाड बन्दै गइरहेको छ— यहाँको पोखरी, पानीको श्रोत ट्यूबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरुभूमीकरण तिर गइरहेको छ। यो गम्भिर चिन्ताको कुरा हो।

मधेशका होनहार उद्यमी युवा जनशक्ति दिनौं विदेश तिर दगुरिरहेका छन्। उचित रोजगारी, सीप इलम र अवसर दिन नसक्दा गरिबी बाध्यताका कारण — हाम्रो जमीन , हाम्रो श्रोत साधन सबै— सुक्दै हाम्रो जनशक्ति पातलिँदै गएको छ। यो दुःखको कुरा हो।

देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ — हामीमाथि आह्वान पनि छ। म भन्छु — हामी हाम्रा पुर्खाको पौरख नभुलौं, हामी, यही बसौं , यही आफ्नो जन्भभूमीका लागि मरिमेटौं। हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण — हामी आफैबाट हुने हो। अरुले आएर गरिदिने हैन।

तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै — खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्केको छ। यो अवस्थाको अन्त्य गर्नै परेको छ।

यसका निम्ति अब सोच्ने बेला आयो। देशलाई झन् झन्— बरबादीतिर नलैजाउँ। त्यसका लागि अब सबैले सोचौं—समिक्षा गरौं। नेपालको यस्तो राम्रो प्रकृति, हाम्रा यतिका प्राकृतिक श्रोत साधन — हाम्रो आफ्नो क्षमता — यी सबै कुरा— हाम्रो आफ्नो आर्थिक उन्नतिमा लगाउँ।

आफ्नो घर उजाड पारेर अरुको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो। आफ्नो क्षमता, आफ्नै घरद्वर, आफ्नै गाउँबस्ती र आफ्नै बनाउनेतिर अब हामी लाग्नै पर्छ। यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ। हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली। त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौं। हामी सबैको भलाई यसैमा छ।

आफ्ना आत्मीय अग्रजहरुलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात बर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरें। तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ।

जेठ १९, २०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो। हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए। सत्य सधैं सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।

आफ्नो पुख्यौँली राजदरवारबाट परित्याग गर्दा २०६५ जेष्ठ २९ गते आमसञ्चार माध्यममार्फत मैले भनेको थिएँ , म नेपाल मै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु अनि त्यत्तिबेलै मैले भनेको थिएँ, ‘स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ।’

हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेरको आँकलन हो। बितेका १५ वर्षपछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ। आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको छु। त्यसै आसयअनुरुप मैले ‘चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिए।’

हामी देश मै छौं , आज पनि देश मै रहेर हामीले देशको गौरबगाथा गाइरहेका छौं। अहिले पनि देशको सर्वाङ्गिण उन्नति होस् , भेदभावरहित ढंगले सबै देशवासीको विकास हुँदै जावोस् भन्ने नै हाम्रो भावना छ। आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातनदेखि रहिआएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ।

त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ। यसैमा हाम्रो कल्याण छ। सबैमा फेरि एकपटक हाम्रो धन्यवाद!

जय नेपाल
वीरगंज २०८० माघ १३ गते