२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

कतारको दोहामा आयोजित ‘नेपाल विजनेस एसोसिएसन कतार’को सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषिजस्ता क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ढकालले भन्नुभयो, “नेपालमा पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषिजस्ता क्षेत्रहरुमा लगानीको प्रचुर सम्भावना रहेको छ । यी क्षेत्रका साथै सहरीकरण, सूचना प्रविधिको क्षेत्रमा कतारले गरेका विकासको अनुभवलाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ । त्यसैले नेपालमा लगानी गरी मुनाफा लिने अवसरबाट भरपुर फाइदा लिनुहोस् ।”

अध्यक्ष ढकालले कतारको आर्थिक वृद्धि र विकासमा नेपाली श्रमिकको योगदान रहेको बताउँदै ती श्रमिकलाई सीपयुक्त बनाउन नेपालमा प्राविधिक विद्यालय स्थापना गर्न कतारस्थित आवासीय नेपालीलाई आग्रह पनि गर्नुभयो ।

गैरआवासीय नेपालीका लागि पछिल्लो पटक नेपाल सरकारले गरेको नागरिकको कानुनी प्रावधानले पनि विश्वमा छरिएर रहेका नेपालीलाई अब नेपालमा लगानीका लागि प्रोत्साहित गर्नुपर्ने उहाँको तर्क थियो । अध्यक्ष ढकालले भन्नुभयो, “आफ्नो लगानीको भविष्य के होला भन्ने पनि यहाँहरुको मनमा थियो होला तर अब नागरिकताको यो नयाँ कानुनी प्रावधानले नेपालमा लगानी गरी व्यवसाय गर्न सहज र सुरक्षित बनाएको छ भन्ने मलाई लागेको छ ।”

नेपालमा वैदेशिक लगानी भित्र्याउन आउँदो वैशाखमा नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा नेपाल सरकारले लगानी सम्मेलन गर्न गइरहेकाले नेपालमा लगानीको राम्रो वातावरण सिर्जना गरी आफूले पनि लगानी गर्न र कतारका लगानीकर्ताहरुलाई पनि यसका लागि प्रेरित गर्न उहाँको आग्रह थियो ।

यो सम्मेलनअगावै सरकारले धेरै कानुनी अड्चनहरु सुधार गरी लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुरुप काम पनि भइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष ढकालले नेपालको भूराजनीतिक परिस्थिति, विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनसँगको व्यापारिक सम्भावनाको सदुपयोग गर्न कतारमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रहसमेत गर्नुभयो ।

भारतसँग हालै भएको ऊर्जासम्बन्धी उच्चतस्तरीय सम्झौता सकारात्मक रहेको र यसबाट हाम्रो देशमा हाइड्रोपावरमा हुने लगानी र ऊर्जा व्यापारको मार्ग प्रशस्त भएको पनि उहाँले बताउनुभयो । रासस