२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवसेवा आश्रम निर्माणका लागि महायज्ञ गरिँदै



अ+ अ-
दाङ । मानवसेवा आश्रम दाङको भवन निर्माणका लागि तुलसीपुरमा  आयोजना गर्न लागिएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तयारीलाई तीव्र पारिएको छ ।
यही माघ १३ देखि २० गतेसम्म तुलसीपुरस्थित अरनीको मैदानमा सञ्चालन हुने महायज्ञको तयारीलाई तीव्र पारिएको महायज्ञ मूल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञ सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी दिइएको छ ।
उपसमितिले तोकिएको जिम्मेवारीअनुसार तयारी गरिरहेका छन् । अहिले प्रचारप्रसार, मञ्च व्यवस्थापन, निमन्त्रणा कार्ड वितरणलगायत काम भइरहेका बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार मानवसेवा आश्रमको भवन निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका–७ हलवारस्थित कालिका मालिका मन्दिर व्यवस्थापन समितिले एक बिघा दुई कठ्ठा जग्गा नि:शुल्क उपलब्ध गराएको छ ।
महायज्ञबाट रु पाँच करोड रकम सङ्कलन हुने अपेक्षा गरिएको बस्नेतको भनाइ छ । उक्त भवन निर्माणका लागि रु १५ करोड लाग्ने अनुमानसहित भवनको डिजाइनसहित तयार गरिएको इन्जिनियर सजिव शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भवन आगामी दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
महापुराणबाट सङ्कलित रकममा अरु अपुग भएमा स्थानीय तथा प्रदेश सरकारबाट माग गरिने मूल आयोजक समितिले जनाएको छ । सडकपेटीमा बस्दै आएका, सहयोगापेक्षी मानवका लागि मानवता प्रवर्द्धन गर्ने उद्देश्यले भवन स्थापना गर्न लागिएको हो । संस्थाले आफ्नै लोगोसहितको उद्देश्यमा रहेर भवनको डिजाइन तयार गरेको छ । तुलसीपुर क्षेत्रका विभिन्न व्यवसायी, राजनैतिक दल, जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीय महायज्ञलाई सफल पार्न लागिरहेका छन् ।
सहयोगापेक्षी सडक आश्रित मानव र कष्टकर जीवन बिताइरहेका व्यक्तिका लागि भवन निर्माण गर्न लागिएकाले महायज्ञमा सबैले सक्दो सहयोग गर्नुपर्ने तुलसीपुर–६ की राधा रजौरेले बताउनुभयो । उहाँले भन्नुभयो, “घर परिवारले बेवास्ता गर्दा, परिवारविहीन भएर वा विभेदका कारणले सडक पेटीमा कष्टकर जीवन बिताउन बाध्य नागरिकलाई सेवा गर्नु मानव धर्म हो ।”
महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम तय भएको छ । आश्रमको भवन लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले माघ ७ गते शिलान्यास गरिसक्नुभएको छ ।
शिलान्यास गर्दै अर्थमन्त्री मास्कीले मानवसेवा आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले आश्रमले समाजमा पुर्‍याएको योगदानको प्रशंसासमेत गर्नुभयो ।
महायज्ञको कथा वाचकमा भागवत् भास्कर कमलनयन गौतम रहनु भएको आयोजकले जनाएको छ । हाल तुलसीपुर–६ गाईडरस्थित भाडाको घरबाट मानवसेवा आश्रम सञ्चालन हुँदै आएको छ । विसं २०७८ वैशाख ३ गतेदेखि सो घरबाट सञ्चालन हुँदै आएको आश्रममा महिला र पुरुष गरी ७५ जना आश्रित छन् ।
विसं २०८२ सम्म नेपालाई सहयोगापेक्षी सडक मानवमुक्त देश बनाउने उद्देश्यले विसं २०६९ भदौ १३ गते हेटौँडामा मानवसेवा आश्रम स्थापना भएको थियो । हाल देशभर १९ जिल्लाका २४ स्थानमा सेवा केन्द्र सञ्चालनमा छन् । रासस
(((