• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   चौंथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि ★   संसद् बैठकपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक ★   को हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानी राष्ट्रपति रइसी जसको निधनले विश्व हल्लाएको छ ★   सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे ★   प्रदीप खड्का: रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म ★   प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतविभाजनमा यस्तो देखियो – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि ★   कांग्रेसको विरोधकाबीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त ★   प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछ: विष्णुप्रसाद पौडेल

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे



सल्लेरी । सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो ।

प्राधिकरणका प्रमुख उमेश पन्थीका अनुसार सन् २०२२ मा एक लाख एक हजार पाँच सय एक पर्यटकले हवाई सेवा प्रयोग गरेकामा सन् २०२३ मा एक लाख ३३ हजार दुई सय ७४ जना पुगेका थिए । सङ्ख्यात्मक हिसाबले ३१ हजार सात सय ७३ बढी हो । हवाई सेवा लिने अधिकांश विदेशी पर्यटक रहेको उहाँको भनाइ थियो ।

सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको प्राधिकरण प्रमुख पन्थीले बताउनुभयो । सगरमाथा क्षेत्रको विमानस्थल भनेर चिनिने लुक्ला विमानस्थलमा हवाई सेवा लिनेको सङ्ख्या अधिक हुने गरेको छ । खुम्बु भ्रमण गर्ने अधिकांश विदेशी पर्यटक काठमाडौँ वा रामेछापको मन्थलीबाट जहाजमै लुक्लासम्म पुग्ने र त्यहाँबाट पैदलयात्रा गर्दै उकालो लाग्ने गरेको तारा एयरलाइन्स लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले बताउनुभयो ।

उहाँका अनुसार लुक्लासम्म सडकमार्ग नपुगेकाले खुम्बु भ्रमण गर्ने अधिकांश पर्यटकले हवाई सेवा नै लिनुपर्ने बाध्यता छ । सीमित पर्यटकले मात्रै गाडीबाट सदरमुकाम सल्लेरी, थामडाँडा हुँदै त्यहाँबाट हिँडेर लुक्ला पुग्ने गरेको उहाँको भनाइ थियो । जिल्लाको आठ स्थानीय तहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्रसम्म सडक नपुगे पनि अन्य स्थानीय तहका केन्द्रसम्म सडक पुगिसकेको छ । खुम्बु पासाङल्हामुले पनि यसै आर्थिक वर्षभित्र पालिकाको केन्द्रसम्म सडक पुर्याउने लक्ष्यका साथ सडक विस्तारलाई तीव्रता दिएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “लुक्लासम्म गाडीको बाटो पुगेपछि पर्यटकलाई पनि सगरमाथा क्षेत्र भ्रमण गर्न सहज हुनेछ, अहिलेजस्तो हवाई सेवाकै भर पर्नु पर्दैन, त्यसैले लुक्लालाई जतिसक्दो चाँडो सडकमार्गले जोड्न स्थानीय सरकार लागिपरेको छ ।”

नौ सय २८ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी

सोलुखुम्बुको लुक्लामा नौ सय २८ टनभन्दा बढी कार्गो सामग्री ढुवानी भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित उक्त विमानस्थलमा सन् २०२३ मा नौ लाख २८ हजार नौ सय ८४ किलोग्राम अर्थात् नौ सय २८ दशमलव ९८ टन कार्गो ढुवानी भएको उक्त शाखाले जनाएको छ ।

कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार ढुवानी गरिएका सामग्रीमा खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडालगाययत रहेका छन् । लुक्लासम्म सडक नपुगेकाले सो क्षेत्रमा सामग्री ढुवानीको भरपर्दो साधन नै हवाई सेवा बनेको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताउनुभयो । ती सामग्री जहाज तथा हेलिकोप्टरमार्फत ढुवानी गरिएको उक्त शाखाले जनाएको छ । रासस