• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा

बाँदरका डरले हिउँदे बाली लगाउँदैनन् किसान



पर्वत । पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क दिन प्रतिदिन बढ्दै गएको छ । बाँदर आतङ्कले हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छभने लगाएकाहरुलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्दै आएको छ ।

जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुली विगतका वर्षमा १८ रोपनी खेतमा गहुँ खेती गर्दै आए पनि अहिले बाँझै राखेको बताउनुहुन्छ । विगतमा मङ्सिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुनुहुने पुनाखर बाँदरका कारण फुर्सदिलो बन्नुभएको छ । बाँदर आतङ्क बढ्दै गएपछि पुनाखरको साँधका विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छ । उहाँहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोड्नुभएको हो । “धान जेनतेन थन्क्याउन सकिन्छ”, टीकाराम भन्नुहुन्छ, “हिउँदे खेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भएर लगाउनै छोडियो ।”

त्यसैगरी, फलेवास–४ का रामप्रसाद गौंडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हूल बाँदर पसेर सर्वनाश पारिदियो । बिहादी गाउँपालिका–३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलुखेती गर्दै आउनुभएको थियो तर बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो तीन वर्षयता आलु रोप्नै छोडेको बताउनुहुन्छ ।

“एक पटक पल्केपछि बाँदरले खेती सखाप नपारेसम्म नछोड्ने रहेछ”, उहाँ भन्नुहुन्छ, “हजारौँ खर्च गरेर महिनौँसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भए । अहिले जति नै प्रयास गर्दा पनि व्यावसायिक आलुखेती गर्न सकिएन ।” बाँदरको हैरानी खेप्न नसक्नुभएका उहाँ दुई वर्षयता बाँदरबाट जोगिन बेसार, अदुवा, तोरीलगायत वैकल्पिक खेतीतर्फ लागेको जानकारी दिनुहुन्छ ।

अहिले जिल्लाभर बाँदरको आतङ्क फैलिएको छ । जिल्लाका ६१ वडामै बाँदरको समस्या नभएको कुनै वडा छैन । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन समूह भएर जाग्राम बस्नुपरेको छ । बाँदर आतङ्क किसानका लागि टाउको दुखाइको विषय बनेको सरोकारवालाहरुको भनाइ छ । मोदी–२ का गुरुदत्त चापागाईं भन्नुहुन्छ, “पहिला कुकुर भुक्दा भाग्थ्यो । अहिले कुकुरलाई नै झम्टिन आउँछ । जलजला–५ की पार्वती खत्रीले रोपेको २५ केजी आलु बाँदर पसेपछि बाटै बाँकी नराखेर उखेलेको थियो ।”

पर्वतमा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौँ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत वडामा आलुखेतीमा पनि बाँदर मुख्य समस्या बनेकाले किसान चिन्तित बनेका छन् । “अहिले आलु मात्रै नभएर सुन्तला पनि खान थालेको छ”, बाँसखर्कका समुद्र खत्री भन्नुहुन्छ, “पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले मान्छेलाई नै झम्टिन आउँछ ।”

जिल्लाका उच्च भेगमा पर्ने गाउँको मुख्य बाली आलुखेती हो । हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको हैरानीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाइएको किसानको गुनासो छ । दशकअघिसम्म पर्वतबाट अन्य जिल्लामा गहुँ र गहुँको बीउसमेत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गहुँ र गहुँको पीठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको फलेवास नगरपालिकाले चालु आर्थिक वर्ष किसानलाई आलु र गहुँको बीउ नि:शुल्क वितरण गर्ने कार्यक्रम राखे पनि अपेक्षित माग नआएको जनाएको छ । “फाटफुट माग आएको थियो”, कृषि शाखा प्रमुख केदार सापकोटा भन्नुहुन्छ, “बीउ माग गर्ने किसानले बाँदर जोगाइदिने भए लैजान्छौँ, नत्र लैजाँदैनौँ भनेका छन् ।” महाशिला र पैयुँ गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन नसकेपछि अहिले त्यस क्षेत्रमा समेत किसानले हिउँदे खेतीप्रति रुचि देखाउन छाडेका छन् । रासस