८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चाकुको बास्नाले सुगन्धित ‘टोखाबजार’

चाकुको बास्नाले सुगन्धित ‘टोखाबजार’
अ अ+ अ-

काठमाडौँ । माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकुको बास्ना आउन थालेको छ । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन बढी छ ।

टोखा नेवार समुदायको मुख्य बस्ती रहेको सहर हो । यो सहरमा काठमाडौँका अन्यत्रको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्छ । माघे सङ्क्रान्ति पर्व आउन दश दिन बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ । टोखा नगरपालिका वडा नं २ र ३ मा चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरी यतिबेला मानिसहरुको चहलपहल पनि बढेको देखिएको छ । टोखाबासी मात्रै नभइ काठमाडौँका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगी बिक्री गर्ने भएकाले उनीहरुको पनि बाक्लो उपस्थिती देखिन थालेको छ । अहिले नै चाकु किन्ने नभइ खरिदका लागि ‘बुकिङ’ गर्न उनीहरु त्यहाँ पुगेका पाइएको छ ।

टोखाको चाकु काठमाडौँका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ मङ्सिर र पुसमा यहाँका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताउनुहुन्छ । “टोखाका चाकु उद्योगीहरुले वार्षिक २५ देखि ३० लाख मूल्य बराबरको चाकु र उखुबाट बन्ने विभिन्न परिकारहरु बिक्रीवितरण गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।

नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्य:’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनका लागि प्रसिद्ध ठाउँ हो । अध्यक्ष श्रेष्ठ टोखामा परम्परादेखि नै उखुखेती हुने र उक्त उखुबाट चाकुलगायत विभिन्न परिकार बनाइने भएकाले पनि टोखाको चाकुको महत्व देश र विदेशमा रहेको बताउनुहुन्छ ।

नेवारी भाषामा ‘टु’ र ‘ख्य:’ भन्दाभन्दै उक्त शब्द अपभ्रंश हुँदै ‘टोखा’ हुन गएको मानिन्छ । टोखा नगरपालिकाको नामकरणसमेत टोखा बजारबाट भएको हो । टोखा नगरपालिकाले समेत टोखाको चाकु संरक्षणमा काम गरिरहेको छ । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी टोखाको चाकु संरक्षणका लागि टोखाले चाकु उत्पादनसम्बन्धी तालिम तथा उखु क्षेत्रको भ्रमणसमेत गरेको बताउनुहुन्छ । टोखा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा टोखाको चाकु अन्तर्राष्ट्रिय स्तरमा ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको उहाँको भनाइ छ ।

अहिले टोखामा उखुखेती हराउँदै गएको छ । टोखामा उत्पादन हुने चाकुका लागि आवश्यक पर्ने सख्खर तराईका विभिन्न जिल्ला र गुल्मीबाट आउने गरेको छ । टोखाको चाकु संरक्षणका लागि टोखा परम्परागत चाकु संरक्षण समाजले नगरपालिकाबाट दिएको रु दुई लाख ५० हजार अनुदानले तराई र गुल्मीको उखु निरीक्षणका लागि खर्च गरेको समाजका अध्यक्ष श्रेष्ठले बताउनुभयो । सो समाजले गुल्मीको छत्रबास गाउँपालिकासँग भगिनी सम्बन्धसमेत स्थापित गरेको छ । गुल्मीको छत्रबास गाउँपालिका उखुका लागि प्रख्यात क्षेत्र हो ।

यस्तै, वार्षिक ठूलो सङ्ख्यामा मानिसहरु टोखामा चाकु उत्पादनसम्बन्धी तालिमका लागि आउने गरेका छन् । टोखामा चाकु बनाउने तालिम लिएर देशका विभिन्न स्थानमा गएर उद्योग सञ्चालन गरी काम गर्ने गरेको टोखा परम्परागत चाकु संरक्षण समाजले जनाएको छ । हाल नेपालभर ५० देखि ६० चाकु उद्योग छन् । जसमध्ये १४ वटा टोखामा छन् । माघे सङ्क्रान्ति पर्वका अवसरमा देशभरका ६० उद्योगमा एक लाख ५० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य रुपमा रोजगारी पाउने गरेको समाजका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

टोखामा इस्वी संवत् ५१९ देखि चाकु बनाउने प्रचलन चलेको किंवदन्ती पाइन्छ । लामो समयदेखि चाकु बनाउँदै आएको टोखाको परम्परागत चाकु उद्योगलाई बचाउनका लागि विसं २०७३ कात्तिक २२ गते टोखा परम्परागत चाकु संरक्षण समाज स्थापना गरिएको थियो ।

टोखामा ५० वर्षदेखि चाकु उत्पादन गर्दै आउनुभएका राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकबाटसमेत माग आइरहेको बताउनुहुन्छ । चाकुको माग अत्यधिक भएपछि बजारसम्म पुर्‍याउन भ्याइनभ्याइ भएको उहाँको भनाइ छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुहुन्छ । टोखाको चाकु संरक्षणमा नगरपालिका गम्भीर भएर लागेको उहाँको भनाइ छ । टोखा काठमाडौँ क्षेत्र नं ५ मा पर्दछ । काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल टोखाको चाकुलाई गुणस्तरीय रुपमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारससम्म लैजानका लागि आफूले उद्योग मन्त्रालयलाई ध्यानाकर्षण गरिसकेको बताउनुहुन्छ । “टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो, यहाँ राज्यबाटै चाकु उत्पादनको पहल गर्नसके हजारौँ व्यक्तिले रोजगारी पाउनेछन्, त्यसका लागि मैले सम्बन्धित क्षेत्रमा पहल गरिरहेको छु,” उहाँ भन्नुहुन्छ । उहाँ टोखाको चाकुलाई नेपालको चक्लेट भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकिने बताउनुहुन्छ ।

टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो रु एक सय ३० देखि एक सय ३५ सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । रासस