• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु

भरतपुरको दुई ठाउँबाट प्याराग्लाइडिङ गर्न सकिने



नारायणगढ । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानका रुपमा लिइएको भरतपुरमा अब दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ । गत वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक उद्घाटन गर्नुभएको भरतपुरको हिमालयन फन्टियर्स प्याराग्लाइडिङको व्यावसायिक उडान बर्खा लागेसँगै स्थगन गरिएको थियो ।

कम्पनीका सञ्चालक शैलेन्द्र रावतका अनुसार वर्षाका कारण बाटो बिग्रेको हुनाले सञ्चालनमा आउन नसकेको प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि भरतपुरका दुई स्थानबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

भरतपुर महानगरपालिका–२९, चौकीडाँडा र कविलासडाँडाबाट साहसिक खेलका रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गर्न लागिएको उहाँले बताउनुभयो । सुरुमा चौकीडाँडाबाट मात्रै उडान गरिएकामा अबदेखि दुई ठाउँबाट उडान गर्न लागिएको रावतले जानकारी दिनुभयो ।

भरतपुर भ्रमण वर्षका अवसर पारेर प्याराग्लाइडिङ सुरु गर्ने भनिए पनि भ्रमण वर्ष स्थगित भएपछि कम्पनीले उडानको काम सुरु गर्न लागेको रावतको भनाइ थियो । चितवनमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यको नयाँ अनुभवसँगै र बसाइ लम्ब्याउनका लागि प्याराग्लाइडिङले भूमिका खेल्ने उहाँले बताउनुभयो ।

समुुन्द्री सतहबाट एक हजार ५० मिटर उचाइमा रहेको चौकीडाँडा र पाँच सय ८० मिटर उचाइको कविलासबाट ‘टेकअफ’ गराउने व्यवस्था मिलाएको र प्याराग्लाइडिङ अवतरण भने त्रिशूली नदी किनारको दुई सय ५० मिटर उचाइमा हुने रावतले जानकारी दिनुभयो । उहाँका अनुसार प्याराग्लाइडिङमा एक सय २० किलो तौलभन्दा कम भएकालाई मात्र उडान भर्न सकिनेछ । अवतरण गरिने स्थान त्रिशूली किनार भने तनहुँको देवघाट गाउँपालिकामा पर्दछ ।

नयाँ गन्तव्यको खोजी गर्ने क्रममा यस क्षेत्रमा प्याराग्लाइडिङ सुरु गरिएको रावतले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्नेछ । उडानका लागि चौकीडाँडाबाट रु आठ हजार र कविलासबाट रु चार हजार तोकिएको छ । सुरुआतमा चौकीडाँडाबाट दुईवटा र कविलासबाट दुईवटा उडान गरिने छ । १० जना चालक राखेर काम गर्न पाउने भए पनि सुरुआतमा थोरै चालकबाट काम गर्न लागिएको रावतले बताउनुभयो । यहाँको नागबेली परेको सडक र त्रिशूली नदी माथिबाट भरतपुर र देवघाटका रमणीय स्थलको दृश्यावलोकनसँगैको उडानले पर्यटकले भरपुर आनन्द लिन सक्ने उहाँको भनाइ थियो ।

नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । कविलासडाँडा नारायणगढ मुग्लिनको मुख्य सडकबाट तीन किलोमिटर माथि रहेको छ । कविलास रिसोर्टको छेउमा गर्न लागिएको दोस्रो उडान स्थल माथि जान नसक्ने र अनुभव लिनेहरुका लागि सहज हुने रावतले बताउनुभयो । रासस