१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसाइँ सरेर आउने चरा घटे



अ+ अ-

कञ्चनपुर । हिउँदका बेला कञ्चनपुरका ताल तथा नदीलगायत सीमसार क्षेत्रमा बसाइँ सरेर आउने अप्रवासी चराको चहलपहल घटेको सम्बद्ध विज्ञको भनाइ छ ।

जलवायु परिवतर्नको असर, आहाराको कमीलगायत कारणले बसाइँ सरेर आउने चराको सङ्ख्यामा कमी देखिएको हो । सीमसार क्षेत्र मानव अतिक्रमणको चपेटामा परी खुम्चिँदै गएको र ताल पुरिँदै जाँदा जलपक्षीका लागि असर परेको छ ।

“बसाइँ सरेर आउने चराको बासस्थान खुम्चिँदै जान थालेको छ”, नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले भन्नुभयो, “जलाधार क्षेत्र अतिक्रमणको चपेटामा परेका छन्, निकुजभित्रका तालतलैया नरकटे र जलकुम्भीलगायत वनस्पतिका कारण पुरिँदै गएका छन्, बासस्थानको कमीले जलपक्षीको सङ्ख्यामा कमी देखिएको छ ।”

उहाँका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानीताल, सिकारी ताल, कालीकिचताल नरकटेले भरिन थालेको छ । निकुञ्ज बाहिरको बेलौरी नगरपालिका–६ भुराकोटमा पर्ने पुरैनी ताल बसाइँ सारेर आउने चराको मुख्य क्षेत्रका रूपमा रहेको छ । “त्यस तालमा ५५ प्रजातिका जलपक्षीको विगतमा रेकर्ड गरिएको थियो”, उहाँले भन्नुभयो, “अहिले त्यस तालमा २८ प्रजातिका चरामात्रै देखिएका छन् ।”

अठ्ठाइस बिघा क्षेत्रफलमा फैलिएको तालमा हरिटाउके हाँस, जुल्फे हाँसलगायत पक्षी यस वर्ष देखिएका छैनन् । हाँस प्रजातिका चरा, सारस र भुडिफोर गरुड पनि यस तालमा हिउँदका बेला देखिने गरेका थिए । साइबेरिया, कीर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलियालगायत क्षेत्रमा माइनस डिग्री तापक्रम पुग्ने भएकाले चरा जाडो छल्नका लागि हिमाल छिचोल्दै कञ्चनपुरका नदी ताल क्षेत्रमा आउने गर्दछन् ।

चिसो छल्न र आहारको कमी भएपछि आहारा खोज्नका लागि चरा आउने प्रक्रिया वर्षौँदेखि यहाँ निरन्तररूपमा चल्दै आएको छ । बसाइँ सरेर आउने चरामा अधिकांश जलपक्षी र सिकारी प्रजातिका पक्षी रहने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निञ्कुजभित्रका सिकारीताल, कालीकिच, बाबाताल, सलगौडीताल, रानीताललगायत अप्रवासी चराका लागि गन्तव्यका रूपमा रहेका छन् ।

निकुञ्ज बाहिरका बन्दाताल, महाकाली, चौधर, स्याली, सनबोरा, दोदा नदीलगायत क्षेत्रमा पनि अप्रवासी चरा देखिने गरेका छन् । असोजको पहिलो हप्तादेखि बसाइँ सरेर चरा आउने क्रम पुसको दोस्रो हप्तासम्म जारी रहने गर्दछ । गर्मी बढ्न थालेपछि चैतदेखि पाहुना चरा पुरानै ठाउँमा फर्कने गर्दछन्् ।

चराविज्ञ डगौराका अनुसार प्रतिवर्ष नेपालमा एक सय ५० प्रजातिका चरा जाडो छल्नकै लागि आउने गरेका छन् । तीमध्ये आधा हाँस प्रजातिका चरा रहने गरेका छन् । कञ्चनपुर र कैलालीका ताल, नदी र सिमसार क्षेत्रमा ३० भन्दा बढी प्रजातिका पक्षी बसाइँ सरेर आउने गरेको छ । उहाँका अनुसार मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दुरे हाँस, कैलेटाउके हाँससहित जीवल फिस्टो, डुबुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राइ, मोटोठाँडे, ट्याकट्याकेलगायत पक्षी पनि बसाइँ सरेर आउने गरेको यहाँ देखिन्छ ।

“निञ्कुज क्षेत्रभित्रका तालक्षेत्र चराका लागि सुरक्षित भए पनि निकुञ्ज बाहिर रहेका ताल माछापालनका लागि ठेक्कामा दिने चलन बढ्दै गएकाले हिउँदे बसाइँका लागि आउने चरालाई आहारको कमी हुन थालेको छ”, उहाँले भन्नुभयो, “प्राकृतिक तालमा माछापालन गर्न थालेपछि चरालाई पटाका पड्काएर भगाउने, विषादी प्रयोग तथा गुलेली हानेर मार्ने कार्य हुन थालेको छ । मानव अतिक्रमणका कारण ताल सुक्न थालेपछि चरा जोगाउनका लागि निकै चुनौती थपिएको छ ।”