• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार

एउटै वडामा करिब तीन करोडको सुन्तला उत्पादन



दमौली । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो ।

उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको छ । गत वर्ष पनि रु तीन करोड बराबरको सुन्तला बिक्री गरेका यहाँका कृषकले अहिले पनि सोही हाराहारीमा सुन्तला बिक्री गर्ने तयारी गरेको सुन्तला उत्पादक कृषक भीमबहादुर थापाले जानकारी दिनुभयो ।

यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनेको उहाँको भनाइ थियो ।  यस वर्ष रु ५५ लाख बराबरको सुन्तला उत्पादन गर्नुभएका थापाले भन्नुभयो, “धेरै वर्ष पहिला अधियाँ गरेर खानुपर्ने बाध्यता रहेकामा अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ ।” उहाँका अनुसार सुरुका दिनमा रु थोरै ऋण माग्दा पनि कसरी तिर्ला भन्ने अहिले आम्दानी देखेर दङ्ग छन् । सुन्तला खेतीले कृषकको जीवनस्तर बदलिएको छ ।

यो वडाको लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरालगायत ठाउँका कृषकले सुन्तला बेचेर मनग्य आम्दानी गरिरहेका छन् । सुन्तला उत्पादनमा जिल्लाकै पकेट क्षेत्रका रुपमा देवघाट परिचित छ । थापाले भन्नुभयो, “विगतमा केही पनि अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका कृषकले यतिबेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । लुङ्ग्रिङमा एउटै घरबाट रु २० लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ ।”

स्थानीय विष्णुकुमार श्रेष्ठले विदेश वा अन्यत्र गएकाहरु पनि गाउँ फर्किएर सुन्तलाखेतीमा लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाहिर भएकाहरु गाउँ फर्किए ।”

छापस्वाँराका डिलकुमार श्रेष्ठले सुन्तलासँगै बाख्रापालनलाई अगाडि बढाउनुभएको छ । यस वर्ष रु दुई लाख ५० हजारको सुन्तला बेचिसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “५० वटा बाख्रा पालेको छु । सुन्तला र बाख्रा नै आम्दानीको स्रोत हो ।” गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट सुन्तला उत्पादनमा पकेट क्षेत्रका रुपमा विकास भएको बताउनुभयो ।

देवघाटमा सुन्तला प्रशस्त उत्पादन भए पनि बजारीकरणका लागि कृषकले समस्या भोगिरहेका छन् । नदी पारी रहेको लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा बजारसम्म सुन्तला ढुवानीका लागि समस्या हुँदै आएको सुन्तला कृषकको गुनासो थियो ।

यहाँका कृषकले लुङ्ग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारागणगढ सडकको गाईघाटसम्म जिपमा राखेर ल्याउने र त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् ।

गाउँपालिकाले सुन्तला उत्पादक कृषकलाई लक्ष्य गरी सुन्तला नर्सरी स्थापना गर्न रु ३० लाख विनियोजन गरेको छ । उक्त नर्सरीमा बिरुवा उत्पादन गरेर इच्छुक किसानलाई नि:शुल्क वितरण गरिने बताइएको छ । रासस