• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ?

तोरी खेतीप्रति किसानको आकर्षण बढ्दो



बेलबारी । मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षभन्दा पाँच हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको कृषि ज्ञान केन्दले जनाएको छ ।

जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल छ । गत वर्ष ११ हजार पाँच सय हेक्टर जमिनमा किसानले तोरी लगाएकामा आठ हजार ५० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष क्षेत्रफल वृद्धि गर्दै १६ हजार चार सय ७४ हेक्टर जमिनमा तोरी लगाइएको केन्द्रका प्रमुख रामदेव सिंहले बताउनुभयो ।

जिल्लाको १७ पालिकामध्ये कानेपोखरी गाउँपालिकामा सबैभन्दा धेरै तोरी लगाउने गरेको उक्त केन्द्रले जनाएको छ । यस वर्ष कानेपोखरीमा तीन हजार छ सय हेक्टरमा जमिनमा तोरी लगाइएको ।

त्यसैगरी बेलबारी नगरपालिकामा दुई हजार पाँच सय, पथरशनिश्चरे नगरपालिकामा दुई हजार पाँच सय, सुन्दरहरैचा नगरपालिकामा एक हजार आठ सय, रङ्गेली नगरपालिमा छ सय, रतुवामाई नगरपालिकामा चार सय, लेटाङ नगरपालिकामा तीन सय, उर्लाबारी नगरपालिकामा आठ सय ७७, सुनवर्सी नगरपालिकामा तीन सय, विराटनगर महानगरपालिकामा ४०, बूढीगङ्गा गाउँपालिकामा एक हजार पाँच सय, कटहरी गाउँपालिकामा चार सय ६६, धनपाल गाउँपालिकामा दुई सय ३३, जहदा गाउँपालिकामा आठ, मिक्लाजुङ गाउँपालिकामा दुई सय ५०, केराबारी गाउँपालिकामा एक हजार, ग्रामथान गाउँपालिकामा एक सय हेक्टर जमिनमा तोरी लगाइएको उक्त केन्द्रले जनाएको छ ।

यस वर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन बढ्नसक्ने प्रमुख सिंहले बताउनुभयो । “पर्याप्त सिँचाइ सुविधा हुने हो भने गत वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने थियो”, बेलबारी ९ का किसान नरबहादुर कटुवालले भन्नुभयो । नेपालमा लगाइने बालीमध्ये छैटौँ बालीको रूपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैटौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ । रासस