२९ कार्तिक २०८१, बिहीबार
,
Latest
यू-१९ महिला विश्वकपमा छनोट भएको टोलीलाई जनही २ लाख ५० हजार दिने क्यानको घोषणा सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छः शेखर कोईराला चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छः शिक्षामन्त्री भट्टराई पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित देशको मुल समस्या सरकारको अस्थिरता होइनः अध्यक्ष नेपाल बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतसँगको मैत्रीसन्धि सुदृढ द्विपक्षीय संयन्त्र



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त अधिराज्यसँग नेपालले एक सय वर्षअघि गरेको मैत्रीसन्धि विगतमा गरिएको लियो अन्तर्राष्ट्रिय संयन्त्र भएको बताउनुभएको छ ।

नेपाल–बेलायत मैत्रीसन्धिको एक सय वर्ष पूरा भएको अवसरमा आज उक्त सन्धिमा हस्तारक्षर भएको स्थल सिंहदरबारको प्रक्ष्यालयमा आयोजित समारोहमा उहाँले भन्नुभयो, “अफ्रिका–एसियाका धेरै देशहरू राजनीतिक स्वतन्त्रता र उपनिवेशीकरणविरुद्ध सङ्घर्ष गरिरहेका बेला नेपालले त्यतिबेलाको महाशक्तिसँग सन्धिमा हस्ताक्षर गर्नु गौरवको विषय हो ।”

परराष्ट्रमन्त्री साउदले नेपाल र बेलायतबीच दुई शताब्दीअघि सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित हुँदा मैत्रीसन्धिले दुई देशबीचको चिरस्थायी मित्रता र विश्वासलाई सुदृढ बनाएको उल्लेख गर्नुभयो ।

सन्धिको शताब्दीको स्मरणमा यो वर्ष दुवै देशमा विभिन्न कार्यक्रम र गतिविधिहरू आयोजना भएको उल्लेख गर्दै मन्त्री साउदले यसअघि मन्त्रालयले काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार स्क्वायरमा कार्यक्रम आयोजना गरेको जानकारी गराउनुभयो ।

नेपालले समानताका आधारमा सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रको रूपमा उक्त सन्धिमा हस्ताक्षर गरेको उल्लेख गर्दै मन्त्री साउदले विगत सय वर्षहरूमा, नेपालको सम्बन्ध धेरै गुणा बढेको र धेरै क्षेत्रमा विस्तार भएको बताउनुभयो ।

मन्त्री साउदले भन्नुभयो, “बेलायत नेपालको लामो समयदेखि विकास साझेदार रहेको छ । बेलायले अनुदान सहायतामा वर्षौँदेखि नेपाललाई प्रमुख द्विपक्षीय विकास साझेदारहरूको सूचीमा राखेको छ । हाम्रा दुई देशबीच द्विपक्षीय व्यापार, पर्यटन र लगानी बढ्दै गएकोमा हामी खुसी छौँ ।”

सन्धिमा हस्ताक्षर भएको मितिदेखि आजसम्म नेपाल–बेलायत सम्बन्धले निकै फड्को मारेको बताउँदै मन्त्री साउदले यसले राजनीतिक संवाद, आर्थिक साझेदारी, व्यापार र लगानी, पर्यटन, विदेशमा रहेका नेपाली, ब्रिटिश गोर्खा र जनता–जनताको सम्बन्धका अन्य आयामहरूमा विस्तार गरेको उल्लेख गर्नुभयो ।

परराष्ट्र सचिव सेवा लम्सालले उक्त सन्धिपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको र सन्धिपछि बेलायतले काठमाडौँमा पहिलो राजदूतावास स्थापना गरेको बताउनुभयो । नेपाल–बेलायतबीचको मैत्रीसन्धि द्विपक्षीय सम्बन्धका लागि महत्त्वपूर्ण भएको बताउँदै उहाँले बेलायत नेपालको मुख्य विकास साझेदारका रुपमा रहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि बेलायती राजदूत रोब फेनले दुई देशबीचको मैत्रीसन्धिका कारण नेपाल कहिल्यै पराधीन नभएको बताउनुभयो । उहाँले विश्वका उदीयमान दुई छिमेकी भारत र चीनबीचमा रहेको नेपालले ती देशले गरेका प्रगतिबाट लाभ लिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

समारोहमा राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्य सचिव डा बैकुण्ठ अर्याल, सरकारका विशिष्ट श्रेणीका अधिकारी, काठमाडौँस्थित विभिन्न मुुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति थियो । रासस