काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज एकीकृत जाँच चौकी (आइसीपी) सञ्चालनमा ल्याउन पहल सुरु गरेको छ ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपालगञ्जमा आइसीपी सञ्चालन गर्न लागिएको हो । नेपाल–भारतबीच चार सीमा नाकाहरु (विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज) मा दुवैतर्फ समानरुपमा एकीकृत जाँच चौकी (आइसीपी) निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच अगष्ट ३, २००५ मा भएको समझदारी भएको थियो ।
समझदारीअनुरुप वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । समितिले आज एक विज्ञप्ति जारी गरी नेपालगञ्ज एकीकृत जाँच चौकीमा पानी ट्याङ्की, सिसिटिभी जडान, नेटवर्किङ्ग, फायरफाइटिङ्ग सिस्टमलगायतका कार्यहरु बाँकी रहेको र उक्त कार्य सम्पन्न गर्न करीव एक महिना लाग्ने देखिएको छ ।
उक्त जाँच चौकी सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकासबाट सम्पूर्ण तयारी पूरा भएको र उक्त आइसीपी हस्तान्तरणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतीय दूतावासमा अनुरोधसमेत गरिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जाँच चौकी समितिलाई हस्तान्तरण भएपछि तुरुन्त सञ्चालन गर्न सक्ने गरी तयारी गरिएको र समितिबाट सम्बन्धित निकायहरुसँग समन्वय भइरहेको हुँदा हस्तान्तरण भएपश्चात सञ्चालन शुरु गर्न कुनै समस्या हुनेछैन ।
नेपालगञ्ज एकीकृत जाँच चौकीको निर्माण कार्य विसं २०७७ असोज २६ गते शुरु भएको हो । ४४.३६ हेक्टर क्षेत्रफलमा फैलिएको यस चौकीको निर्माण कार्य हाल अन्तिम चरणमा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीूबाट विसं २०८० जेठ १८ गते संयुक्तरुपमा उक्त चौकीको उद्घाटन भएको हो ।
उक्त चौकीको बाँकी काम सम्पन्न गर्न देखिएका बारेमा यही पुस २ गते बाँकेमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, भन्सार कार्यालय प्रमुख, समितिका पदाधिकारी, भारतीय दूतावासका कर्मचारीहरुबीच छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।