ललितपुर। नेपाल टेलिभिजनको ललितपुर जिल्ला सम्वाददाता ईश्वर महर्जन ललितपुर महानगरपालिकाको ‘महानगर गौरव पुरस्कार’बाट पुरस्कृत भएका छन् ।
मुलुककै जेठो नगरपालिका ललितपुर महानगरपालिकाको सोमबार सम्पन्न १०५ औं स्थापना दिवसको अवसरमा १ लाख रुपैयाँ राशीसहित ताम्रपत्रबाट महर्जनलाई सम्मान गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पत्रकार महर्जनलाई दोसल्ला ओढाएर, १ लाख रुपैयाँ राशी र ताम्रपत्रबाट सम्मान गरेका थिए ।
ललितपुर महानगरका गतिविधि र समाचारलाई नेपाल टेलिभिजनमार्फत प्रचार प्रसार गरि महानगरलाई संसारभर चिनाउन उल्लेखनीय योगदान गरेवापत महर्जनलाई ललितपुर महानगरको गौरवको रुपमा पुरस्कृत गरिएको हो ।
५४ वर्षिय पत्रकार महर्जन विगत २४ वर्षदेखि नेपाल टेलिभिजनको ललितपुर सम्वाददाता रुपमा कार्यरत छन् । उनी १५ वर्षको उमेरदेखि फोटोग्राफि र भिडियोग्राफि गर्दै आएका थिए ।
उनका दाई कृष्ण महर्जन नेपाल टेलिजिभनको ललितपुर जिल्ला सम्वाददाता हुँदादेखि नै दाईको काममा उनले सहयोग गर्दै आएका थिए । दाई कृष्णले नेपाल टेलिभिजन छोडे लगत्तै महर्जन २०५६ सालदेखि नेपाल टेलिभिजनमा सम्वाददाताको रुपमा प्रवेश गरेका थिए ।
उनी यसअघि पनि विभिन्न संघसंस्था र निकायबाट सम्मानित भईसकेका छन् ।