८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

जनकपुरधाममा विवाहपञ्चमीको राैनक

जनकपुरधाममा विवाहपञ्चमीको राैनक
अ+ अ-

आजु मिथिला नगरिया निहाल सखिया,
चारों दुलहा में बड़का कमाल सखिया !

अर्थात् आज मिथिला नगरी निकै सुन्दर भएको छ सखिहरु, चार जनै दुल्हामध्ये जेठो चाहीँ निकै कमाल को छ ।

यस्तै सुमधुर लोक गीत सङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको रौनक यतिबेला जनकपुरधाममा देखिएको छ ।

प्राचीन मिथिला र अहिले मधेस प्रदेशको राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । साताव्यापी महोत्सवमा सहभागी हुन यसपटक लाखौँ श्रद्धालु यहाँ आएका छन् । सो क्रममा जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा बिहानैदेखि पूजाअर्चना गर्नेहरुको श्रद्धालुको भीड लागेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताउनुभयो।

रामायणमा तुलसीदासले लेखिएको पंक्ति उदृत गर्दै जानकी मन्दिरका महन्थ रामतपेश्वर दास भन्नुहुन्छ, “सिया रघुवीर विवाह जे गावही, सुनही तिनहुँ सदा उछाह मंगलाय तन रामजसो ।” बालकाण्डको अन्तिममा लेखिएको यस पंक्तिको अर्थ हो, भगवान् राम र सीताको यस अलौकिक विवाहलाई जसले हृदयदेखि सुन्ने, गाउने र वाचन गर्ने गर्छ, उसको जीवन सदैव मंगलमय हुन्छ । त्यसैले पनि विवाहपञ्चमी महोत्सव जनकपुरधामको घरघरमा सुनिने, गाइने र वाचन गर्ने गरिन्छ । वर्षौंदेखि जनकपुरधामले धान्दै आएको यस सांस्कृतिक विरासत मिथिलाका अन्य सहरमा फैलिँदै छ ।

महन्थ दासका अनुसार सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता भौतिक शरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गर्दछन् ।

मैथिल साहित्यकार डा राजेन्द्र विमल बताउनुहुन्छ, “संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ । सो अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।”

राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मङ्सिरको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ ।

सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयम्बरबारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ । उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ ।

राम र जानकीको स्वयम्वर भएको जनविश्वास रही–आएको रङ्गभूमी १२ बिघा मैदानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा सहित लावा–लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।

त्रेता युगमा मिथिलापति शिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दू जातिको आस्थाको केन्द्रका रूपमा रहेको जनकपुरधाममा मुलुकलगायत भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।

यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको डफ्फा(बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गरिन्छ । अयोध्याबाट आउने जन्ती समूह(बाराती समूह)लाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत तथा अभिवादन गर्ने परम्परा छ ।

साताव्यापी विवाहपञ्चमीको पहिलो दिन मङ्गलबार नगरदर्शन र दोश्रो दिन बुधबार फुलबारी लिला र बिहीबार तेश्रो धनुष यज्ञ, चौथो दिन मङ्सिर २९ गते तिल्कोत्सव र मङ्सिर ३० गते मटकोर विधि सम्पन्न भइसकेको छ । आज पुस १ गते आज विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव छ भने भोलि पुस २ गते रामकलेवा गरी सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने महन्थ दासले बताउनुभयो।

महन्थ दासले भन्नुभयो, “आज पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल९घरगाउँले समूह वा माइती पक्ष०द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पु¥याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ ।”

राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरतीपूजनपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पु¥याएर आरती पूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावा लस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्परा–अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

अहिले विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकका कारण जनकपुरका होटल, लोज र धर्मशालाहरू भरिभराउ छन् । साथै भक्तजनको सुविधाका लागि स्थानीय संघ संस्थाहरूले ठाँउ–ठाँउमा बासको प्रबन्धका लागि पन्डाल निर्माण गरिदिएका छन् ।

खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो सङ्ख्यामा तीर्थयात्रीहरू जनकपुरधाम आउने क्रम विगत दुई दिनदेखि जारी छ ।

अघिल्ला वर्षमा महोत्सवमा सहभागी हुन देशविदेशका विशिष्ट राजनीतिक व्यक्तित्वलाई पनि आमन्त्रित गर्ने गरिन्थ्यो । विशिष्ट व्यक्तिहरूको आगमन हुँदा सर्वसाधारण श्रद्धालुलाई महोत्सव मनाउन समस्या हुने गरेको हुँदा यसवर्ष विशिष्ट अथितिलाई ननिमत्याएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास बैष्णवले बताउनुभयो।

प्रदेशमा सार्वजनिक विदा
सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आइतवार सार्वजनिक बिदा दिएको छ । प्रदेशको पात्रोअनुसार साताव्यापी विवाहपञ्चमी महोत्सवमा बिदा दिइने उल्लेख भए अनुसार बिदा दिइएको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई माता र प्रभुको आशीर्वाद मिलोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

मदिरा र मासु बिक्रीमा रोक
जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा÷मासु बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा÷मासुको बिक्री वितरणमा रोक लगाएको हो ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिनुभयो । यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले बताउनुभयो।

खाद्यान्नबाट विशाल राम र सीताको आकृति
श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवमा जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा खाद्यान्नबाट भगवान् राम, सीताको स्वयंम्बरको ११ हजार ११ वर्गफिटको विशाल आकृति बनाइएको छ । भगवान् राम सितासँगै राजर्षि जनक तथा विश्वामित्रको पनि आकृति निर्माण गरिएको छ ।

खाद्यान्नबाट बनाइएको आकृतिको उचार्ई एक सय २१ फिट र चौडाई ९१ फिटको रहेको श्रीसीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक एवं जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभयो । आकृतिको निर्माणमा ११ प्रकारको खाद्यान्न गरेर एक सय दुई क्विन्टल प्रयोग भएको संयोजक महासेठले बताउनु भयो । यसमा चालन, गहुँ, भटमास, चना, मुम्फली, मुंग, रहरको दाल, मक्कै, रहरको दाल, मसुरोको दाल र काला उरिद प्रयोग गरिएको छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको छ । विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको सो प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि समेत खुल्ला गरिएको छ ।

यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाउनुभएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गर्नुभएको छ । कोरोना महामारीको समयदेखि अन्नको प्रतिमा निर्माण गर्न सुरु गर्नुभएका गुर्जरले नेपाल भारतको साझा संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले बिना पारिश्रमिक यो प्रतिमाको निर्माण गरेको बताउनुभयो ।

भारतीय कलाकारले निर्माण गरेको यो प्रतिमाले नेपाल भारतको साझा संस्कृतिलाई दर्शाएको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यूदूत देवीसहाय मिणाको भनाइ छ ।

पछिल्लो पटक भारतको अयोध्यमा अन्नबाटै प्रतिमा निर्माण गरेर विश्व रेकर्ड बनाउनुभएका सतिश गुर्जरकै टिमले आफ्नै रेकर्ड तोड्ने उद्देश्यले निर्माण गरिएको यो प्रतिमाले जनकपुरधामको पर्यटनलाई बढावा दिन मद्दत गर्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो । रासस