७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौंः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ । 

बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताउनुभयो । 

केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताउँदै अबको राजनीति जतासुकै गएपनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने बताउनुभएको हो । तर अहिलेको राजनीतिक सङ्कटको निकासका लागि संसद विघटन पछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस र सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस भनेर नै अहिले सम्म दाह्रा किटेर समर्थन कायम राखेको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘हामीलाई हिजो असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथिहरुले मलाई हत्त र पत्त समर्थन फिर्ता नलिग है भनेर जबरजस्त दबाब छ म माथि । जबरजस्तै छ । मैले नाम चाहिं भन्दिन कसैको हत्त र पत्त समर्थन फिर्ता लिइस भने झन उल्टो पर्छ है भन्ने छ । मैले भनिराखेको छु नैतिक र राजनीतिक ढङ्गले म अव धेरै दिन पर्खिन सक्दिन । 

मैले जुन सरकारलाई प्रतिगामी भनेको छु त्यसलाई मैले समर्थन गर्न सक्दिन चाहे राजनीति जतासुकै जाओस । मैले मेरो राजनीति र मेरो नैतिकतालाई मैले बचाउनु पर्दछ । म केही दिन भित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु । तर मेरो कोशिस के हो त भने कमसेकम यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौं ति राजनीतिक दलहरुको बीचमा अवको निकास बारे एउता न्यूनतम सहमति र समझदारी होस । 

अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस भन्नको निम्ति मात्रै मैले दाह्रा किटेर समर्थनलाई एक दुई दिन रोकेको मात्रै हो ।’