• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली

मौरी चराउन चितवनका चिउरी पाखामा किसान



भरतपुर । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ ।

रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुग्नुभएको छ । “तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ”, उहाँले भन्नुभयो, “फागुन अन्तिमसम्म मौरी यही राखिन्छ ।” उहाँले मौसमले साथ दियो भने दुई पटकसम्म चिउरीको मह काढ्ने बताउनुभयो ।

चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताउनुभयो । “विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ”, उहाँले भन्नुभयो, “प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ ।” उहाँले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताउनुभयो ।

चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उहाँको अनुभव छ । मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढिने थापाले बताउनुभयो । “मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ”, उहाँले भन्नुभयो, “जिन्दगीको सबैभन्दा आनन्द यही हो ।”

चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ । यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले राससलाई बताउनुभयो ।

उहाँका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन् ।

जङ्गली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो । चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउनुहुन्छ ।

उहाँका अनुसार नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ । व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ । चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् । रासस